ललितपुर महानगर ट्राफिक जाम मुक्त सहर, ३ स्थानमा तत्कालै ‘ट्राफिक लाइट’ राखिने


ललितपुर महानगरले ट्राफिक ब्यवस्था सहज बनाउन जिल्लाका ३ वटा स्थानमा ट्राफिक लाइट जडान गरिदिने भएको छ।

ललितपुर महानगरलाई जाम मुक्त सहर बनाउने अभियानका क्रममा महानगरले कुपन्डोलको कानदेवता, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालको अगाडि ट्राफिक लाइट जडान गर्न लागेको हो।

‘३ हप्ताभित्र यी ३ स्थानमा महानगरले ट्राफिक लाइट राख्छ, ‘ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भने ।

यसले ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियानमा पनि सघाउने उनको विश्वास छ।

त्यस्तै ललितपुर महानगरले तत्कालै लगनखेलको पाटन अस्पताल अगाडि र लगनखेलकै चोकमा अर्को आकाशेपुल बनाउन लागेको जानकारी दिए। महानगरीय ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले ललितपुरबाट पुन्य काम सुरुवात गरिएको बताए।

ललितपुरका ३ स्थानमा ट्राफिक लाइट र २ स्थानमा आकाशेपुल बनाउन ललितपुर महानगरले चासो दिएकोमा उनले प्रशंसा गरे ।

महर्जनले पुल्चोकदेखि बागमती पुलसम्म फ्लाइ ओभर बनाउने काम महानगरले निर्णय गरेर अघि बढाइसकेको समेत बताए। १ दशमलव ४ किमीको फ्लाइ ओभरको काम तत्काल सुरु हुने महर्जनले बताए।

आजदेखि ललितपुर महानगरलाई ट्राफिक जाम मुक्त सहर घोषणा गरिएको छ। ‘ट्राफिक व्यवस्थापनमा सहज ल्याउनका लागि हामीले ललितपुर महानगरलाई जाम मुक्त सहर घोषणा गरेका छौं,’ डिआइजी खनालले भने, ‘यसमा सबैको साथ चाहिन्छ। नत्र सम्भव छैन।’

जाम मुक्त सहर घोषणा गरेपनि त्यसमा धेरै चुनौती रहेको डिआइजी खनालले बताए। ‘जस्तोसुकै चुनौतिआएपनि हामी डराउदैनौं,’ खनालले भने, ‘गन्तब्यमा पुग्छौं।’

ललितपुर महानगरलाई जाम मुक्त बनाउन केही संघसंस्थाहरुले ट्राफिक प्रहरीलाई ड्रोन समेत दिएका छन् । ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुँका अनुसार अब ललितपुर प्रहरीको ट्राफिक व्यवस्थापन ड्रोनले पनि नियाल्छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.