हिंसा र जोखिममा परेका महिला, बालबालिकाहरूको लागि काम गर्दै आएको संस्था परिवर्तनको लागि सहकार्य नेपाल (क्यान) ले आफ्नो सामाजिक परीक्षण गरेको छ।
ललितपुरको जिल्ला समन्वय समितिमा आयोजित १० औं साधारण सभाको अवसरमा क्यानले सामाजिक परीक्षण गरेको हो।
कार्यक्रममा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका प्रमुख झम्क नेपालले संस्थाले गाउँपालिकामा गरेका कामले स्थानीय युवाहरूलाई ठूलो मद्दत पुर्याएको भन्दै अझै सहयोगको खाँचो रहेको बताए।
संस्थाकी संस्थापक एवं अध्यक्ष इन्दिरा घलेले परिवर्तनको लागि सहकार्य नेपालले विभेदबाट पछाडि पारिएका महिला र उनीहरूको परिवार लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिइन्।
क्यानले जोखिममा परेका र आवाजविहीन किशोरीहरूलाई शिक्षाको पहुँचमा ल्याउने काम गर्दै आएको छ भने विभिन्न जोखिममा परेका किशोरीहरूको लागि सेफ हाउस सञ्चालन गर्दै आएको छ।
क्यानले भूकम्पपश्चात् घरहरू, विद्यालयहरू, शौचालयहरू, कृषि घरहरू पुनर्निर्माण गर्नका साथै भूकम्पबाट हुने दिगोपना र रोकथामको शिक्षा प्रदान गर्न काम गरेको संस्थाले जनाएको छ।