बुटवलमा जारी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा राखिएका 'जल परी' दर्शकहरूको मुख्य आकर्षण बनेका छन्।
रोट्र्याक्ट क्लब अफ बुटवल साउथले यही कार्तिक १३ गतेदेखि सांस्कृतिक तथा रमाइलो मेला आयोजना गरेको हो।
यसअघि गत भदौ २५ गतेदेखि असोज १२ गतेसम्म आयोजना गर्ने भनिएको मेला भदौ २३ र २४ गतेको जेनजीहरूको आन्दोलन, आन्दोलनपछिको कर्फ्यु तथा निषेधाज्ञा एवं दसैं तिहार लगायतका चाडपर्वहरूका कारण डेढ महिनाभन्दा पछि मात्र सञ्चालन गरिएको हो।
बुटवल ११ देविनगर रङ्गशाला नजिकै सञ्चालन भएको मेलामा पछिल्ला दिनमा दर्शकहरूको सहभागिता बढ्दै गएको आयोजकले जनाएका छन्।
मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका 'जल परी' र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।
'जल परी'को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवतीहरूले पानीमा पौडी खेलेर फिस टनेलमा जाने दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको रोट्र्याक्ट क्लब अफ बुटवल साउथका सचिव शंकर काफ्लेले बताए।
बुटवलमा फिस टनेल यसअघिका मेला महोत्सवहरूमा राखिएको भए पनि सिसाको पोखरीभित्र युवतीहरूले 'जल परी'को रूपमा आफ्नो कला प्रदर्शन गरेको भने पहिलो पटक हो। काफ्लेका अनुसार 'जल परी'को रूपमा राखिएका युवतीहरू फिलिपिन्सबाट ल्याइएका हुन्।
मङ्सिर २ गतेसम्म चल्ने उक्त मेलामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्ग तथा असक्त व्यक्तिहरूलाई प्रवेश निःशुल्क गरिएको काफ्लेले जानकारी दिए। मेलामा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिइरहेका छन्।