भरतपुरमा एक अर्ब ८५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको होटल र मार्ट सहितको विजनेस कम्प्लेक्स सञ्चालनमा आएको छ।
भरतपुर महानगरपालिका–१० भरतपुर विमानस्थल अगाडि निर्माण गरिएको चितवन विजनेस कम्प्लेक्समा चितवन विजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) र सेल्सवेरी मार्ट सञ्चालन गरिएको छ।
भवन र होटल निर्माण तथा सञ्चालनका लागि एक अर्ब ६० करोड, मार्टका लागि २५ करोड रुपैयाँ लगानी भएको अध्यक्ष दिनुप बरालले जानकारी दिए।
बरालले अन्तर्राष्ट्रिय रूपमा ख्यातीप्राप्त लड्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बताए।
लड्सले अमेरिका, भारत लगायतका विभिन्न देशहरूमा चेन होटल सञ्चालन गरेको छ। होटलमा ५८ वटा कोठा छन्। एउटा प्रेसिडेन्टियल, तीन वटा स्वीट, १० वटा सुपर डिलक्स, १५ वटा प्रिमियम र बाँकी स्ट्यान्डर्ड कोठा रहेको बरालले बताए। होटलमा सन् २०२५ भरी २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी उनले दिए।
यस होटलमा पाँच सय क्षमताको सभा हल, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेका छन्। रेष्टुरेन्टमा १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ।
कम्प्लेक्समा सेल्सवेरीको ३८ औं शाखा सञ्चालनमा आएको छ।
मार्ट चितवन विजनेसन मार्टले सञ्चालन गरेको हो। यहाँ ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री पाइने बरालले बताए। सेल्सवेरीमा दसैं तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको छ।
‘दुई तलाको पार्किङमा चार पाङ्ग्रे ८० वटा र दुई पाङ्ग्रे दुई सय वटा सवारी साधन पार्किङका लागि सहज व्यवस्था रहेको छ। एक लाख सात हजार स्क्वायर फिटमा फैलिएको कम्प्लेक्स दुई तला अण्डर ग्राउण्डसहित ११ तल रहेको छ। तीन तलामा सेल्सवेरी, छ वटा तलामा होटल सञ्चालन गरिएको छ,’ बरालले भने, ‘१५० जनालाई रोजगारी दिँदैछौं।’
चितवन विजनेश कम्प्लेक्सको निर्माण सन् २०१९ बाट थालिएको थियो। यहाँ १८ जनाको लगानी छ।