निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), काठमाडौं र थिङको लर्निङबीच डिजिटल सिकाइ लागु गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
प्याब्सन काठमाडौं र थिङको लर्निङबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट र थिङको लर्निङका अध्यक्ष हरि प्रसाद शर्माले हस्ताक्षर गरेका छन्।
जिल्लाका सदस्य विद्यालयहरूमा एकीकृत डिजिटल सिकाइ प्रणाली लागु गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरिएको हो।
प्याब्सन र थिङको लर्निङ बीचको उक्त सहकार्यलाई काठमाडौं जिल्लाभित्रका सम्पूर्ण प्याब्सन सदस्य विद्यालयहररूमा डिजिटल प्रविधिमा आधारित सिकाइलाई संस्थागत रूपमा अगाडि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
'सिकाइमा नयाँ आयामको सुरुवात भएको छ,' हस्ताक्षर कार्यक्रमका क्रममा अध्यक्ष भट्टले भने, 'यसले विद्यालयस्तरको शिक्षालाई थप व्यवस्थित, आधुनिक र परिणाममुखी बनाउने विश्वास लिएका छौँ।'
पेप्सीकोला स्थित कौस्तुभ स्कुलका प्रिन्सिपल तथा थिङको लर्निङका डाइरेक्टर किरण प्रकाश न्यौपानेकाअनुसार, थिङकोले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयबीचको सिकाइसम्बन्धी गतिविधिलाई डेटा–आधारित, मापनयोग्य र उत्साहजनक बनाउनेछ।
यस प्रणालीले विद्यालयमा शिक्षण–सिकाइको गुणस्तर बढाउनुका साथै शिक्षक र अभिभावकसँगको समन्वयलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार दुवै पक्षले डिजिटल प्रणाली विद्यालयमा प्रभावकारी रूपमा लागु गर्न आवश्यक समन्वय, तालिम र व्यवस्थापनका पक्षमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
यस सहकार्यले काठमाडौं जिल्लामा डिजिटल माध्यमबाट सिकाइको पहुँच र उपयोगलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।