झन्डै चार वर्षदेखि जारी रूस–युक्रेन युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अन्ततः रोकिने लक्षण देखिन थालेको छ।
त्यति बेला आफू अमेरिकी राष्ट्रपति भएको भए रूसले युक्रेनमाथि आक्रमण गर्ने हिम्मत नै गर्ने थिएन भनेर ट्रम्पले बारम्बार भन्दै आएका छन्। गत वर्षको राष्ट्रपतीय निर्वाचनअघि पनि आफूले जिते २४ घन्टामै युद्ध रोक्ने उनले दाबी गरेका थिए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका कारण आफ्नो आग्रहमा पुटिनले युद्ध रोक्छन् भन्ने ट्रम्पको दाबी थियो। पदभार ग्रहण गरेपछि भने ट्रम्पले युद्धको जटिलता बुझ्दै गए।
पुटिनले त्यति सजिलै युद्ध रोक्न नमानेपछि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हप्काएर युद्ध रोक्न दबाब दिए। उनले अमेरिकी सहयोग रोके पनि युरोपेली देशहरूले भरमग्दुर सहयोग दिएका कारण युक्रेन रूससँग अझै पनि लडिरहेकै छ।
यस्तो अवस्थामा पनि दुवैतर्फ गरी १० लाखभन्दा बढीको ज्यान लिएको युद्ध रोक्न ट्रम्पले निरन्तर प्रयास गरिरहेका छन्।
कतिले रूस–युक्रेन युद्ध रोके आफूले नोबेल शान्ति पुरस्कार पाउने लोभमा ट्रम्पले यस्तो प्रयास गरेको टिप्पणी गर्छन्। कसैले भने युद्ध रोकिए रूससँग व्यापार गरेर आफ्नो परिवार र निकट व्यापारीलाई आर्थिक लाभ हुन्छ भन्ने स्वार्थले उनले त्यसो गरेको बताउँछन्। तर व्यक्तिगत स्वार्थ वा लोभकै कारण उनले युद्ध रोक्ने प्रयास जारी राखेको भए पनि त्यो प्रयासले नतिजा ल्याउन लागेको देखिन्छ।
विशेष गरी डिसेम्बर महिना लागेपछि भएका निरन्तर वार्ताका कारण अन्ततः युद्ध रोकिने लक्षण देखिएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युद्ध साँच्चै रोकिन लागेको हो भनेर चर्चा गर्नुअघि एउटा महत्त्वपूर्ण कुरा भने भुल्नु हुँदैन — यो युद्ध पुटिनले सुरू गरेका हुन् र उनले मात्र रोक्न सक्छन्। उनले युद्ध रोक्नेबित्तिकै रोकिन्छ र रोक्न नचाहेसम्म चलिरहन्छ।
अमेरिकाले पछिल्ला साताहरूमा पटक पटक रूस र युक्रेनसँग बेग्लाबेग्लै वार्ता गरेको छ। युक्रेनले पनि युरोपेली देशहरूसँग छुट्टै छलफल गरिरहेको छ।
त्यस्तै, अमेरिकाले युरोपेली देशहरूसँग छुट्टै र युरोपेली देशहरू तथा युक्रेनसँग संयुक्त छलफल गरिरहेको छ। यी छलफलमा के–के सहमति भए भन्ने विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भइसकेको छैन।
तर वार्तामा संलग्न पक्षका अधिकारीहरूसँग विभिन्न मिडियाले गरेको कुराकानीका आधारमा युद्ध रोकिन सक्ने अनुमान गर्न थालिएको छ।
ट्रम्पले गत जनवरीमा दोस्रो कार्यकाल सुरू गरेदेखि नै युद्ध रोक्न दुईवटा प्रमुख अवरोध देखिएका छन्।
पहिलो, हाल रूसको नियन्त्रणमा नरहेको दोनेत्स्कको केही भाग पनि रूसले पाउनुपर्ने पुटिनको अडान छ।
दोस्रो, रूसले फेरि आक्रमण नगरोस् भनेर युक्रेनले बलियो सुरक्षा प्रत्याभूति खोजेको छ। विभिन्न सञ्चार माध्यमले लेखे अनुसार अहिले सुरक्षा प्रत्याभूतिको कुरामा सहमति हुनै लागेको छ। युक्रेनी भूमिको विषयमा पनि सहमति जुट्न सक्ने लक्षण देखिएका छन्।
युद्ध रोक्ने ट्रम्पको शान्ति योजनामा काम गरिरहेका अमेरिकी विदेशमन्त्री मार्को रूबियोले यो युद्ध अहिले दोनेत्स्कको २० प्रतिशत भूभाग अर्थात् करिब ५ हजार वर्गकिलोमिटरका लागि भइरहेको भनी दुई साताअघि टिप्पणी गरेका थिए।
रूसले दोनेत्स्कको पूरा भूभाग किन मागिरहेको छ त?
पुटिनले सन् २०१४ मा युक्रेनको क्राइमिया कब्जा गरेपछि युक्रेनको पूर्वमा रूसी भाषीको बाहुल्य रहेको डोनबास क्षेत्रमा आँखा लगाए। उनले त्यहाँ रूसी भाषीमाथि युक्रेनले अत्याचार गरेको झूटो आरोप लगाएर पृथकतावादी आन्दोलन भड्काए।
उनले त्यहाँका विद्रोहीलाई हतियार मात्र दिएनन्, विनावर्दीका रूसी सैनिक नै खटाए।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि खुला आक्रमण गरेपछि पनि अझैसम्म त्यो क्षेत्रमा रूसले पूर्ण रूपले कब्जा गर्न सकेको छैन।
लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भनिन्छ। लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको झन्डै २० प्रतिशत भाग युक्रेनकै नियन्त्रणमा छ। युक्रेनले त्यहाँ वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएको छ। त्यसैले रूसले एक दशकभन्दा बढी समयदेखि युद्ध गरेर पनि त्यो क्षेत्र लिन सकेको छैन। अझै पनि युक्रेनलाई हराएर उक्त भूभाग लिन रूसलाई निकै मुस्किल हुने मानिन्छ।
युद्ध रोक्न उक्त भूभाग अहिले रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गर्ने जोखिम भएकाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यो सर्त अस्वीकार गर्दै आएका छन्।
दोनेत्स्क युक्रेनका मुख्य बन्दरगाह, रेलमार्ग र ठूला उद्योगहरू भएको भूभाग हो। त्यस क्षेत्रमा युक्रेनका आधाभन्दा बढी कोइला र फलामका खानी छन्। ती उद्योग र खानीहरू रूसी आक्रमणमा ध्वस्त भइसकेका छन्। तैपनि युद्ध रोकिएपछि त्यस्तो महत्त्वपूर्ण भूभाग आफ्नो नियन्त्रणमा रहोस् भनेर दुवै पक्ष चाहन्छन्।
पुटिनका लागि रूसी भाषीको बाहुल्य रहेको त्यो क्षेत्र प्रतिष्ठाको विषय पनि बनेको छ। उनले एक दशकअघि त्यहाँ पृथकतावादी आन्दोलन भड्काउँदा पनि रूसी भाषीमाथि अत्याचार भएको आरोप लगाएका थिए। सन् २०२२ मा खुला आक्रमण गर्दा पनि त्यही कुरा दोहोर्याउँदै रूसी भाषीको उद्धार गर्ने बताएका थिए।
एक दशकभन्दा बढी आक्रमण गर्दा पनि उक्त भूभाग पूर्ण रूसी नियन्त्रणमा नल्याई युद्ध रोक्नु उनका लागि लाजमर्दो हुनेछ। त्यसैले उनले उक्त क्षेत्रको बाँकी भूभागबाट पनि युक्रेन फर्किनुपर्ने अडान लिइरहेका छन्।
यो कुरामा युक्रेनलाई मनाउन ट्रम्पले अहिले युक्रेनको नियन्त्रणमा रहेको दोनेत्स्क क्षेत्रमा रूसको सेना पनि नरहने 'गैरसैनिक क्षेत्र' बनाउने प्रस्ताव गरेका छन्। त्यसलाई स्वतन्त्र व्यापार क्षेत्रका रूपमा विकास गरिने आश्वासन दिएर ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरले युक्रेनलाई मनाउन खोजिरहेका छन्।
ट्रम्पको प्रस्ताव अस्वीकार गरे उनी रिसाउने डरले जेलेन्स्कीले भर्खरै केही लचिलो भएको सन्देश दिएका छन्।
युद्ध अन्त्य गर्न नेटो सैन्य गठबन्धनमा सामेल हुने युक्रेनको आकांक्षा छाड्न उनी तयार भएका छन्। त्यस्तै, युक्रेनी भूमि त्याग्न संविधानले रोक्ने भन्दै त्यस विषयमा जनमत संग्रह गर्न आफू तयार रहेको जानकारी उनले अमेरिकालाई दिएका छन्।
हुन त युक्रेनले नेटो सदस्यताको आकांक्षा नछाडे पनि अमेरिका र नेटोका अरू सदस्यले युक्रेनलाई नेटोमा ल्याउने सम्भावना एकदमै कम छ। युक्रेनी जनताले आफ्नो भूभाग रूसलाई दिन भोट हाल्ने सम्भावना झनै कम छ।
त्यसैले जेलेन्स्कीको लचकताको खासै अर्थ देखिँदैन। तैपनि यसो गरेर ट्रम्पलाई आफू शान्तिको बाधक नभएको देखाउन जेलेन्स्की अहिलेका लागि सफल भएका छन्।
युक्रेनले छाडेपछि बनाइने गैरसैनिक क्षेत्र वा युक्रेनका अन्य भूभागमा रूसले फेरि सेना नपठाउने सुरक्षा प्रत्याभूति दिने भन्दै अमेरिकाले अहिले युक्रेनलाई आश्वस्त पार्न खोजिरहेको छ।
जर्मनीको बर्लिनमा आइतबार र सोमबार भएका लामा छलफलमा विटकफ र कुश्नरले जेलेन्स्की अनि जर्मनी, फ्रान्स तथा बेलायतका नेताहरूलाई मनाउने प्रयास गरेका थिए।
विटकफ र कुश्नरले प्रस्ताव गरेको सुरक्षा प्रत्याभूति कस्तो हुने भन्ने अहिलेसम्म खुलेको छैन। तर त्यो प्रत्याभूति नेटो सदस्यले पाउने सरहकै भएको भन्दै 'स्वर्ण' भन्दा पनि उच्च 'प्लेटिनम' कोटिको भनेर अमेरिकाले दाबी गरेको छ।
त्यस्तै, ट्रम्पको कार्यकालपछि अर्को अमेरिकी सरकारले समेत त्यसलाई पालना गर्ने सुनिश्चितताका लागि अमेरिकी संसदबाट उक्त सुरक्षा प्रत्याभूति अनुमोदन गराउन ट्रम्प सहमत भएका छन्। अमेरिकी संसदले सुरक्षा प्रत्याभूतिलाई सन्धिका रूपमा अनुमोदन गर्ने हो कि संकल्प प्रस्तावका रूपमा भन्ने अझै स्पष्ट नभएको 'द इकोनोमिस्ट' ले लेखेको छ।
शान्ति सम्झौता मानेको खण्डमा युक्रेनलाई सन् २०२७ भित्रै युरोपियन युनियनको (इयू) सदस्यता दिलाउने प्रस्ताव गरिएको पनि 'द वासिङ्टन पोस्ट' ले उल्लेख गरेको छ।
यहाँ हामीले के भुल्नु हुँदैन भने, यो युद्धको मुख्य कारण सन् २०१३ मा युक्रेनले इयूसँग गर्न खोजेको व्यापारिक सम्झौता हो।
इयूसँग व्यापार सम्झौता गरे युक्रेन आफ्नो प्रभावबाट फुत्केर पश्चिमा कित्तामा जाला भनेर पुटिनले त्यसलाई रोकेका थिए। उनले आफूसँग राम्रो सम्बन्ध भएका तत्कालीन युक्रेनी राष्ट्रपति भिक्टर यानुकोविचलाई युक्रेनको विकास गर्न रूसले नै अर्बौं रकम दिन्छ भनेर फकाए।
त्यो सम्झौता नगर्ने भएपछि रिसाएका जनता यानुकोविचविरूद्ध सडकमा ओर्लिए र उनलाई सत्ताच्यूत गरे।
त्यसपछि क्रूद्ध पुटिनले २०१४ मा युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरे। युक्रेनको पूर्वमा रहेको डोनवास क्षेत्रमा पृथकतावादी आन्दोलन भड्काए। र, अन्ततः २०२२ मा पूरै युक्रेनमाथि धावा बोले।
इयूसँगको व्यापार सम्झौतासमेत पुटिनका कारण रोकिएको इतिहास भएकाले अहिले इयू सदस्य नै हुन पाए युक्रेनले आफ्नो भूमिसमेत त्याग्न तयार हुने अमेरिकाको अपेक्षा देखिन्छ।
इयूमा आबद्ध भएर समृद्ध हुने र रूसले फेरि आक्रमण नगर्ने प्रत्याभूति हुने हो भने युक्रेनी जनता पनि केही त्याग गर्न राजी हुन सक्छन्।
पुटिन र ट्रम्पले दाबी गरेजस्तो रूस युद्ध मैदानमा पूरै हाबी नभए पनि रूसकै हात माथि छ। ठूलो संख्यामा सैनिक गुमाएर पनि रूसले थोरै–थोरै युक्रेनी भूमि बिस्तारै कब्जा गरिरहेको छ। अर्कातर्फ, धेरै सैनिकको मृत्यु भए पनि ठूलो जनसंख्या भएको रूसले नयाँ सैनिक भर्ती गरिरहेको छ। थोरै जनसंख्या भएको युक्रेनले भने थोरै सैनिक गुमाए पनि तिनको सट्टा नयाँ सैनिक भर्ती गर्न सकेको छैन।
त्यस्तै, हाल रूसको कब्जामा रहेको जापोरिजियास्थित युक्रेनी आणविक ऊर्जा केन्द्र अमेरिकाले सञ्चालन गर्नेबारे पनि छलफल भएको बताइन्छ।
युरोपकै सबभन्दा ठूलो ६ हजार मेगावाटको उक्त आणविक ऊर्जा केन्द्र रूसले नलाने हुँदा युक्रेनलाई राहत हुनेछ। अझ अमेरिकाले चलाउने भए त्यहाँ रहने अमेरिकी नागरिकका कारण भविष्यमा रूसी आक्रमण रोक्न युक्रेनलाई थप सुरक्षा प्रत्याभूति मिल्नेछ।
पछिल्लो समय जेलेन्स्कीले युद्धपछिको युक्रेनको पुनर्निर्माणबारे समेत अमेरिकासँग छलफल गरेकाले धेरै विश्लेषकले यसलाई युद्ध रोकिने संकेतका रूपमा लिएका छन्।
युक्रेनको पुनर्निर्माणमा हाल पश्चिमा देशहरूमा रोक्का गरिएको करिब २ खर्ब डलरको रूसी सम्पत्ति प्रयोग हुनेछ। विश्व बैंक र युरोपेली देशहरूले पनि लगानी गर्ने अपेक्षा गरिएको छ। चीनले पनि युक्रेनको पुनर्निर्माणमा सहभागी हुने इच्छा व्यक्त गर्दै आएको छ। तर उसले लगानी गर्ने हो कि केवल आर्थिक लाभका लागि पुनर्निर्माणमा सहभागी मात्र हुने हो भन्ने स्पष्ट पारेको छैन।
यसरी युक्रेनी भूमि र सुरक्षा प्रत्याभूति मात्र नभएर युद्धपछिको पुनर्निर्माण लगायत विषयमा समेत गहिरो छलफल भएकाले सोमबार बर्लिनमा सकिएको वार्तापछि अमेरिका, युक्रेन र युरोपेली देशहरू सबै सकारात्मक देखिएका छन्।
बर्लिनमा सहमति हुने सम्भावना देखेका युरोपेली नेताहरूले उक्त छलफलका लागि ट्रम्पलाई नै निमन्त्रणा दिएको बताइन्छ। तैपनि केही गरी कुरा नमिल्ला कि भनेर उनले आफ्ना दूत विटकफ र ज्वाइँ कुश्नरलाई मात्र पठाएका थिए।
विटकफ र ज्वाइँ कुश्नरले सोमबार छलफल सकेपछि ट्रम्प आफैले पनि जेलेन्स्की र युरोपेली नेताहरूसँग भिडिओ छलफल गरे। त्यसपछि ट्रम्प र जेलेन्स्की दुवैले शान्ति सम्झौता हुनै लागेको टिप्पणी गरेका छन्।
शान्ति सम्झौताको करिब ९० प्रतिशत कुरामा सहमति भएको जेलेन्स्कीले बताएका छन्। जर्मनीका चान्सलर फ्रेडरिच मर्जले त आगामी साता पर्ने क्रिसमसअघि नै युद्धविराम हुने आशा व्यक्त गरेका छन्।
अब अमेरिका, युक्रेन र युरोपेली देशहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिन यो साताको अन्त्यमा अमेरिकामा युक्रेनसँग छलफल हुनेछ। त्यसमा विशेष गरी भूमिको नक्सा र सुरक्षा प्रत्याभूतिसँग सम्बन्धित सैन्य विषयलाई अन्तिम रूप दिइनेछ। रूसी वार्ता टोली पनि अमेरिकासँग छलफल गर्न अमेरिका जाने कार्यक्रम छ।
अमेरिकामा तयार पारिने शान्ति योजना आगामी साता रूससामु पेस गर्ने अपेक्षा गरिएको छ। पुटिनले त्यो योजना स्वीकार गरे युद्ध रोकिनेछ। तर आफूले भनेजति युक्रेनी भूमि नपाएको वा फेरि युक्रेनमा आक्रमण गर्न नसक्ने गरी अमेरिकाले बलियो सुरक्षा प्रत्याभूति दिएको उनलाई लागे अस्वीकार गर्न सक्छन्।
अमेरिकी अधिकारी र स्वयं ट्रम्पले पनि पछिल्ला साताहरूमा पुटिनसँग पटक पटक कुरा गरेकाले पुटिनले के–के मान्छन् भन्ने उनीहरूलाई अनुमान हुनसक्छ। त्यसैले अमेरिकीहरू पनि युद्ध रोकिनेमा उत्साहित देखिएका हुन्।
युक्रेनको भन्दा रूसको जनसंख्या धेरै भए पनि युक्रेनीको तुलनामा दोब्बरभन्दा बढी रूसी सैनिक युद्धमा मरिरहेकाले पुटिन पनि अहिले दबाबमा रहेको मानिन्छ।
त्यस्तै, पछिल्लो समय इयू र अमेरिकाले आर्थिक नाकाबन्दी झन् कडा पारेकाले रूसी अर्थतन्त्र गम्भीर समस्यामा पर्न लागेको छ।
यस्तो अवस्थामा युक्रेन र अरू देशलाई नेटोमा नथप्ने प्रतिबद्धता, अनि डोनबास क्षेत्र युक्रेनबाट खोसेको कुरालाई पुटिनले रूसी जनतासामु विजयका रूपमा प्रस्तुत गर्न सक्नेछन्।
अर्कातर्फ, युरोपेली देशहरूले युक्रेनलाई भरमग्दुर साथ दिइरहेका बेला यो योजना अस्वीकार गरे ट्रम्प रिसाएर अमेरिकाले समेत युक्रेनलाई अझ बढी सहयोग गर्न सक्छ। त्यही डरका कारण चित्त नबुझे पनि पुटिनले युद्ध रोक्न मान्न सक्छन् भन्ने अमेरिकालाई विश्वास हुनसक्छ।
जे भए पनि, पुटिनले सुरू गरेको युद्धको निरन्तरता अझै पनि उनकै चाहनामा निर्भर रहनेछ।
***