दस वर्षअघि नेपालको कुल जनसंख्याको ८२.९ प्रतिशत गाउँमा र १७.१ प्रतिशत सहरमा बस्ने गरेको थियो।
अहिले यो तथ्यांकमा निकै परिवर्तन देखिएको छ।
२०७८ को जनगणनामा रहेका २ करोड ९१ लाख ६४ हजार ५७८ जनामध्ये गाउँपालिकामा ३३.८ अर्थात् ९८ लाख ६७ हजार ७९० जना बसोबास गरेका छन्।
यता सहरी क्षेत्रमा बस्ने नेपालीको जनसंख्या भने ६६.२ प्रतिशत अर्थात् १ करोड ९२ लाख ९६ हजार ७८८ जना पुगेको छ।
यति धेरै भिन्नता कसरी आयो? यसका तीन वटा कारण देखिएका छन्।
पहिलो, सहरी क्षेत्र बढेको।
दोस्रो, सहरी क्षेत्रमा बसोबास बढेको।
र, तेस्रो, सहरी क्षेत्रको जन्मदरमा वृद्धि र गाउँकोमा गिरावट।
सबभन्दा बढी असर मापन गरिएको सहरी क्षेत्र बढी भएको कारण देखिएको छ। तथ्यांक कार्यालयले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जनसंख्यालाई सहरी जनसंख्या र गाउँपालिकाभित्र बसोबास गर्ने ग्रामीण जनसंख्याको रूपमा विभाजन गरेको छ।
२०६८ सम्म जम्मा ५८ वटा नगरपालिका रहेकोमा २०७८ मा बढेर २९३ पुगेको छ। यस कारण सहरी जनसंख्यामा बढी जनसंख्या भएको देखिएको छ। त्यस्तै सहरी क्षेत्रमा जनसंख्या वृद्धिदर १.३६ प्रतिशतले हुँदा ग्रामीण क्षेत्रमा ०.११ प्रतिशत मात्रै जनसंख्या वृद्धिदर देखिएको छ।
'पूर्वाधार वा अन्य हिसाबले भन्दा पनि हामीले नगरपालिका क्षेत्रकालाई सहरी क्षेत्रका रूपमा राखेर हेर्दा सहरी क्षेत्रमा धेरै जनसंख्या देखिएको छ, तर विगतमा गाउँ र सहरीको जनजीवनमा ठूलो अन्तर देखिने गरे पनि अहिले ठूलो अन्तर भने देखिएको छैन,' राष्ट्रिय तथ्यांक विभागका सह-तथ्यांक अधिकृत नेविनलाल श्रेष्ठले भने।
भौगोलिक क्षेत्र अनुसार हिमाली क्षेत्रमा गाउँमा बस्नेको जनसंख्या ६४. ४ प्रतिशत रहेको छ भने सहरमा बस्ने ३५.६ प्रतिशत छ।
पहाडी जिल्लामा ६३.३ प्रतिशत सहरमा र ३६.७ गाउँमा बस्ने रहेका छन् भने तराईमा ७१.८ प्रतिशत सहरमा र २८.२ प्रतिशत गाउँमा बस्ने छन्।
प्रदेशअनुसार सबैभन्दा बढी सहरमा बस्नेको जनसंख्या ७७.३ प्रतिशत छ भने कर्णाली प्रदेशमा ४७.९ प्रतिशत गाउँमा बस्ने देखिएको छ।
नेपालमा प्रति परिवार ४.३७ जना बसोबास गर्ने गरेकोमा नगरपालिका अर्थात् सहरमा प्रति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३१ जना र गाउँपालिका ४.५१ जना छ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रको नगरपालिकामा ४.२३ जना, पहाडको नगरपालिकामा ३.९० जना र तराईको नगरपालिकामा ४.६३ जना छ। त्यस्तै गाउँपालिकामा हिमालमा ४.३८ जना, पहाडमा ४.१४ जना र तराई क्षेत्रमा ४.९९ जना सदस्य छन् ।
गाउँमा भन्दा सहरमा धेरै महिला घरमूली
नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ६८.५ प्रतिशत परिवारमा पुरुष परिवार मूली र ३१.५ प्रतिशत महिला परिवार मूली छन्।
यसमध्ये सहरमा ६७.२ प्रतिशत र गाउँमा ७१.१ प्रतिशत परिवार मूली पुरुष छन्। त्यस्तै नगरपालिकामा ३२.८ प्रतिशत र गाउँपालिकामा २८.९ प्रतिशत परिवार मूली महिला रहेको तथ्यांकमा देखिएको छ।
अपांगता गाउँमा बढी
अपांगता संख्या गाउँमा बढी देखिएको छ। कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता छ।
नगरपालिका क्षेत्रमा २ प्रतिशत र गाउँपालिका क्षेत्रमा २.६ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता छ। कुल अपागता भएका व्यक्तिमध्ये नगरपालिकामा सबैभन्दा बढी शारीरिक अपांगता भएका व्यक्ति ३७ प्रतिशत र गाउँपालिकामा ३७.३ प्रतिशत छन्।
सहरमा महिला र गाउँमा पुरूष बढी साक्षर
साक्षरता दरमा सहरी क्षेत्रमा महिला बढी साक्षर देखिएका छन् भने गाउँमा पुरुष बढी साक्षर देखिएका छन्।
देशका पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत छ। पुरूषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ। उक्त प्रतिशत नगरपालिकामा क्रमशः ७८.५ पुरुष र ८५.४ महिला साक्षर छन्।
त्यस्तै गाउँको जनसंख्या मध्ये ७१.९ तथा गाउँपालिकामा साक्षरता रहेकोमा पुरुष ७९.८ र ६४.४ प्रतिशत देखिएको छ।
गाउँमा आमासँग बस्ने बालबालिका धेरै
१८ वर्षभन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५८३ बालबालिकामध्ये ७७.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन्। आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत छन्।
नगरपालिका क्षेत्रमा बसोबास गर्ने अठार वर्ष भन्दा कम उमेरका कुल ६३ लाख ९ हजार ८०५ बालबालिकामध्ये क्रमशः ७६.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन्। आमासँग मात्र बस्ने बालबालिका १७.७ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३.३ प्रतिशत छन्।
गाउँपालिका क्षेत्रमा बसोबास गर्ने १८ वर्ष भन्दा कम उमेरका कुल ३५ लाख ५९ हजार ७७८ बालबालिकामध्ये क्रमशः ७९.६ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन्। आमासँग मात्र बस्ने बालबालिका १६.१ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका २.४ प्रतिशत छन्।
सहरी क्षेत्रमा ४० प्रतिशत नागरिक कृषिमा
नेपालमा १० वर्ष वा सोभन्दा बढी उमेरका आर्थिक काम गरेका कुल जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० मध्ये पेसागत रूपमा सबैभन्दा बढी कृषि, वन र माछा पालन कार्यका दक्ष कामदारहरू ५०.१ प्रतिशत छन्।
यसपछि क्रमशः सामान्य वा प्राथमिक पेसाका कामदारहरू २३ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ५.८ प्रतिशत छ। शिल्पकला तथा कालिगढ र यस सम्बन्धी ब्यापार गर्ने कामदारहरू ५.६ प्रतिशत, व्यवस्थापकहरू ५.१ प्रतिशत छन्।
नगरपालिका क्षेत्रमा ९५ लाख ४८ हजार २०२ मध्ये पेसागत रूपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ४०.७ प्रतिशत छन्।
यसपछि क्रमशः सामान्य वा प्राथमिक पेसाका कामदारहरू २५.८ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ७.४ प्रतिशत, शिल्पकला तथा कालिगड र यस सम्बन्धी व्यापार गर्ने कामदारहरू ६.५ प्रतिशत, व्यवस्थापकहरू ६.६ प्रतिशत छन्।
गाउँपालिका क्षेत्रमा १० वर्ष वा सो भन्दा बढी उमेरका आर्थिक काम गरेका कुल जनसंख्या ५४ लाख ३५ हजार १०८ मध्ये पेसागत रूपमा सबैभन्दा बढी कृषि, वन र माछा पालन कार्यका दक्ष कामदारहरू ६६.६ प्रतिशत छन्।
यसपछि क्रमशः सामान्य वा प्राथमिक पेसाका कामदारहरू १७.९ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ३ प्रतिशत, शिल्पकला तथा कालिगड र यस सम्बन्धी व्यापार गर्ने कामदारहरू ४.० प्रतिशत, व्यवस्थापकहरू २.६ प्रतिशत छन्।
कसले गर्दैन काम?
जनगणना २०७८ अनुसार नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरूमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी भएको कारणले काम नगरेको देखिएको छ।
त्यसपछि क्रमशः २१.९ प्रतिशत घरधन्दा, ११.० प्रतिशत वृद्ध अवस्था, ७.५ प्रतिशत पारिवारिक हेरचाह, ७.४ प्रतिशत अन्य, २.५ प्रतिशत अशक्त/बिरामी, २.२ प्रतिशत पेन्सन/आयस्ता र ०.३ प्रतिशत सामाजिक कार्य/स्वयंसेवाको कारणले आर्थिक काम नगरेको पाइएको छ।
नगरपालिका सबैभन्दा धेरै ४५.५ प्रतिशत विद्यार्थी भएको कारण रहेको छ। २३.१ प्रतिशत घरधन्दा, १०.३ प्रतिशत वृद्ध अवस्था, ७.९ प्रतिशत पारिवारिक हेरचाह, ७.९ प्रतिशत अन्य, २.४ प्रतिशत अशक्त/बिरामी, २.४ प्रतिशत पेन्सन/आयस्ता र ०.३ प्रतिशत सामाजिक कार्य/स्वयंसेवाको कारणले आर्थिक काम नगरेको पाइएको छ।
गाउँपालिका क्षेत्रमा दश वर्ष वा सो भन्दा बढी उमेरका कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरूमध्ये सबैभन्दा धेरै ५०.४ प्रतिशत विद्यार्थी भएको कारणले १९ प्रतिशत घरधन्दा, १२.८ प्रतिशत वृद्ध अवस्था, ६.४ प्रतिशत पारिवारिक हेरचाह, ६.४ प्रतिशत अन्य, २.९ प्रतिशत अशक्त/बिरामी, १.६ प्रतिशत पेन्सन/आयस्ता र ०.२ प्रतिशत सामाजिक कार्य/स्वयंसेवाको कारणले आर्थिक काम नगरेको पाइएको छ।
१८ प्रतिशत गाउँको घर परिवारले बाल्छ ग्यास
देशका ६६ लाख ६० हजार ८४१ परिवार मध्ये आधा भन्दा बढी (५१.० प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन्। खाना पकाउन एलपी ग्याँस ४४.३, बिजुली ०.५, गुइँठा/गोरहा २.९, बायोग्यास १.२, मट्टितेल ०.०५ र अन्य इन्धन प्रयोग गर्ने परिवारको ०.१ प्रतिशत छ।
नगरपालिकामा ५६.७ प्रतिशत परिवारले खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने गरेका छन् भने गाउँपालिकामा ७५ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । गाउँमा १८.९ प्रतिशतले ग्यास प्रयोग गरेको देखिन्छ।
गाउँमा ८५ प्रतिशत घरमा बिजुली
धेरैजसो घरपरिवारहरूले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेका छन्। बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत रहेको छ जुन २०६८ मा ६७.३ प्रतिशत थियो।
नगरपालिका क्षेत्रमा परिवारमा बत्ती बाल्न अक्सर बिजुली प्रयोग गर्ने परिवार ९५.७ प्रतिशत र गाउँपालिका क्षेत्रमा ८५ प्रतिशत छन्। बत्ती बाल्न लोसार/सौर्य ऊर्जा, मट्टितेल, बायो ग्याँस र अन्य स्रोत उपयोग गर्ने परिवारहरू नगरपालिका र गाउँपालिकामा क्रमशः ३.४, ०.५, ०.०, ०.४ प्रतिशत र १३.१, ०.८, ०.०, १.० प्रतिशत छन्।
गाउँमा ६ प्रतिशत घर परिवारमा छैन शौचालय
राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका ६६ लाख ६० हजार ८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ।
नगरपालिका क्षेत्रमा शौचालय नभएको परिवार ३.८ प्रतिशत र गाउँपालिकामा ६.० प्रतिशत छन्। फल्स भएको, साधारण र सार्वजनिक शौचालय प्रयोग गर्ने परिवारहरू नगरपालिका र गाउँपालिकामा क्रमशः ६७.९, २७.९, ०.५ प्रतिशत रहँदा गाउँमा ५८.८, ३४.७, ०.५ प्रतिशत छन्।
गाउँमाभन्दा सहरमा बढी महिलाको स्वामित्वमा घर जग्गा
कुल २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै छ। ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै छ। नगरपालिका क्षेत्रमा २७ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घर र जग्गा दुवै छ।
गाउँपालिकामा १७.५ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै छ। महिलाको नाममा घर र जग्गा दुवै भएका परिवारहरू नगरपालिका र गाउँपालिकामा क्रमशः १३.६ र ८.६ प्रतिशत छन्।
सहरमा स्मार्ट फोन प्रयोगकर्ता बढी गाउँमा साधारण फोन
देशका ३.९ प्रतिशत परिवारहरूमा जनगणनामा सोधिएका कुनै पनि साधन तथा सुविधाहरू उपलब्ध नभएको र ९६.१ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको सुविधा उपलब्ध भएको तथ्यांकमा देखिएको छ।
साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.२ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७३ प्रतिशत छ। कुल परिवारमध्ये ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२ प्रतिशतमा साइकल उपलब्ध छ।
नगरपालिका क्षेत्रमा २.८ प्रतिशत र गाउँपालिकामा ६ प्रतिशत परिवारहरूमा कुनै पनि साधन तथा सुविधाहरू उपलब्ध छैन भने नगरपालिका तथा गाउँपालिकामा ९७.२ र ९४ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको सुविधा उपलब्ध देखिएको छ।
नगरपालिकामा स्मार्ट फोन ७८.३ प्रतिशत, साधारण मोबाइल फोन ७०.५ प्रतिशत, विद्युतीय पंखा ६२.० प्रतिशत, टेलिभिजन ५६.३ प्रतिशत र इन्टरनेट सुविधा ४५.७ प्रतिशत परिवारले प्रयोग गरेका छन्।
गाउँपालिकामा साधारण मोबाइल फोन ७८.९ प्रतिशत, स्मार्ट मोबाइल फोन ६२.२ प्रतिशत रेडियो सुविधा ३६.८ प्रतिशत, टेलिभिजन ३५.३ प्रतिशत र विद्युतीय पङ्खा ३४.९ प्रतिशत परिवारले प्रयोग गर्ने गरेका छन्।