पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनको तयारी थालिएको छ।
अबको तीन महिनामै आन्तरिक उडान थालेर आगामी वैशाखदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।
विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नीतिगत निर्णय लिन र आवश्यक समन्वय गर्न आग्रह गरेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।
गौतम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न गठन गरिएको विमानस्थल सञ्चालन तथा स्थानान्तरण समितिका संयोजक समेत हुन्।
विमानस्थल सञ्चालनको प्रक्रियामा सबभन्दा पहिला सुरक्षा हेरिएको भन्दै गौतमले अहिले चलिरहेको पोखरा विमानस्थलबाट भन्दा गुणस्तरीय सेवा दिने गरी तयारी गरिएको बताए।
‘सबभन्दा पहिला एयरपोर्टले सेफ्टी, सेक्युरिटी र फ्यासिलिटी दिनुपर्छ,’ उनले भने, ‘हामीले यो सब हेरिसकेका छौं, १ जनवरी २०२२ मा आन्तरिक उडान भर्ने महत्वाकांक्षी तयारी गरेका छौं।’
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि आन्तरिक उडान थालेर तयारी अघि बढाउन सजिलो हुने गौतमले बताए।
विमानस्थल सञ्चालनको पहिलो दिनदेखि नै कुनै पनि बाधा अवरोध नहुने गरी सञ्चालन हुन सक्ने उनको भनाइ छ।
विमानस्थल सञ्चालन गर्न आवश्यक मानवीय संशाधन र उपकरणका बारेमा अध्ययन गरिसकेको समेत गौतमले बताए।
‘विमानस्थल सञ्चालन गर्न आवश्यक दक्ष मानव संशाधन कस्तो चाहिन्छ भनेर काम गरेका छौं,’ उनले भने, ‘आकाशमा उडान भर्न एरिया तोक्न हाम्रो टिम सक्षम छ, कुनै समस्या छैन।’
तीन महिनाभित्र आन्तरिक उडान भर्न सम्भव भएको भन्दै उनले यसका लागि नागरिक उड्ययन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबीच समझदारी र समन्वय हुनुपर्ने बताए।
विमानस्थल सञ्चालन गर्न आवश्यक संशाधन प्राधिकरणले दिनुपर्ने र ठेकेदार कम्पनीले पनि आवश्यक संरचना हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ।
पोखरा विमानस्थलबाट सञ्चालित उडान भिजुअल उडान हो। पाइलटले हेरेर उड्ने नियमबाट उडान भर्ने काम गरिरहेको भन्दै गौतमले अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै संरचना बनिसकेकाले अहिले पोखरा विमानस्थलबाट दिएको सेवा अझ प्रभावकारी बनाउन सकिने बताए।
विमानस्थल सञ्चालन गर्न आफू संयोजक रहेको समितिले प्राधिकरणलाई सिफारिसको तयारी गरेको छ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न विभिन्न ४ वटा देशका विमानस्थलसँग सहकार्य गर्न पनि विमानस्थल स्थानान्तरण तथा अपरेसन समितिले सिफारिस गरेको छ।
समितिका संयोजक गौतमले पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क हुनुपर्ने बताए।
धेरै नेपाली पुगेका ठाउँ र नेपालसँग बढी सम्पर्क भएका ठाउँबाट अन्तर्राष्ट्रिय उडान भर्न पहिलो चरणमा यी चार ठाउँ रोजेको गौतमले बताए।
‘दिल्लीबाट धेरै पर्यटक आउन सक्छन्, नेपालीको आवतजावत पनि राम्रो छ, यस्तै दोहामा र खाडी मुलुक गएका नेपालीका लागि दोहा विमानस्थलबाट सेवा दिनुपर्छ,’ उनले भने, ‘हङकङ र बैंकक पनि नेपालीको धेरै आवतजावत छ, त्यहाँबाट सेवा सञ्चालन गर्दा अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्छ।’
पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई राहत दिने गौतमको दाबी छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी एयरक्राफ्ट अवतरण र उडान भर्न सक्छ। विमानस्थल सञ्चालन गर्न स्थानीयबासी र व्यवसायीको पनि उत्तिकै साथ चाहिने भन्दै गौतमले अब ढिलाइ गर्न नहुने बताए।
अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि बृहत्तर पोखराको अवधारणामा जानुपर्ने भन्दै उनले त्यसका लागि आसपासका जिल्लालाई समेटेर पर्यटन विकासका योजना लागु गर्नुपर्ने बताए।
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक एयर रुटका बारेमा भने अहिलेसम्म सरकारले तयारी गरेको छैन।
भारतबाट गोरखपुर हुँदै भैरहवा निस्केर पोखरा आउँदा उडान समय छोटिने र यसले हवाई शुल्क सस्तो बनाउन सक्ने गौतमले बताए।
उनका अनुसार अहिलेसम्म विमान नेपाल छिर्न भारतीय सिमानाबाट सिमरा र वीरगंज गरी २ वटा नाका छन् भने चीनबाट एउटा नाका मात्र रहेको छ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न भैरहवाको हवाई नाका खोल्न सके उडान समय छोटिने र लागत कम लाग्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यस विमानस्थलको काम ८४ प्रतिशत सकिएको छ।
चीन सरकारको २२ अर्ब रूपैयाँ सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण १ वर्ष समय थप गरेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।
चिनियाँ कम्पनी सिएएमसिईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो।
विमानस्थल सञ्चालनका लागि आयोजनाले बुधबार गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूलाई बोलाएर जानकारी दिएका थिए।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले विमानस्थल सञ्चालन गर्न प्रदेश सरकारले आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको बताएका थिए।