लमजुङ जिल्लामा २३ अर्ब बढी लगानीमा पाँच जलविद्युत आयोजना निर्माणाधीन छन्। दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत आयोजना धमाधम निर्माण भइरहेका हुन्।
पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माणाधीन छन्।
त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनीको १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन्।
ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।
त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भएकाे बताइएकाे छ।
उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको छ।
यी आयोजना निर्माण सम्पन्नपछि १२५ मेगावाट बिजुली उत्पादन हुनेछ। यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले बतायो।
दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको निर्माण अब एक वर्षभित्र पूरा हुनेछ।
यी आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ।
त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। गत एक वर्षदेखि आयोजनाको निर्माण कार्य शुरु भएको हो।
दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको आयोजनाले जनाएको छ।
दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कुल आठ अर्ब ८० करोड लागत अनुमानमा निर्माण भइरहेको छ। उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको २७ करोड लगानी छ।
दोर्दी खोला जलविद्युत आयोजना तीन अर्ब ८६ करोड लगानीमा निर्माण भइरहेको छ। यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी छ।
त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको कुल चार अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको कम्पनीले बतायो।
दोर्दी खोलामै लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ।
यस आयोजना करिब दुई अर्ब ३९ करोड लागतमा निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ।
दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
कम्पनीकाअनुसार ८० करोडभन्दा बढी लगानीमा उक्त आयोजना निर्माणधीन छ।