चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न लगानी सम्मेलनका क्रममा प्रस्तुत गरिएको धनगढी क्षेत्रीय विमानस्थल बनाउने आयोजनामा दुई प्रस्ताव परेका छन्। लगानी बोर्डले पहिलो चरणमा राेखेको बैशाख ७ सम्मको डेटलाइनमा २ वटा प्रस्ताव परेको बोर्डले जानकारी दिएको छ। बाेर्डले १ महिना समय फेरि थप गरेको छ।
लगानी बोर्डले हाल धनगढीमा रहेको विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाएर त्यहाँबाट छिमेकी मुलुका विभिन्न सहरमा उडान गर्न सकिने योजनासहितको आयोजना सम्मेलनका क्रममा प्रस्तुत गरेको थियो।
सार्वजनिक निजी साझेदारी मोडलबाट बनाउने भनिएको उक्त आयोजनाको लागत २५ करोड ८० लाख अमेरिकी डलर अनुमान गरिएको छ। यो लागत अनुमान भने डेस्क सम्भाव्यता अध्ययनमा आधारित हो।
विस्तृत सम्भाव्यता अध्ययन नभएको यो आयोजनामा सरकारले लगानीको सुरक्षा, जग्गा उपलब्ध गराउने छ। लगानी बोर्डका अनुसार यो आयोजना जसले जिम्मा पाउछ उसले छ महिनामा सम्भाव्यता अध्ययन गर्नुपर्ने छ भने डिपिआर वित्तीय व्यवस्था १ वर्षभित्र गरिसक्नुपर्ने छ। ३ वर्षभित्र बनाइसक्ने योजना बनाएको बोर्डले यसको निर्माणकर्ताले ३० वर्षसम्म सञ्चालन गर्ने छ भने त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने छ।
विमानस्थलमा ३ हजार मिटर लामो र ६० मिटर चौडा भएको धावन मार्ग बन्ने छ। त्यस्तै १८ सय मिटर लामो र २३ मिटर चौडाइको ट्याक्सी वे बन्ने विमानस्थलमा सन् २०४८ सम्म ११ लाग अन्तर्राष्ट्रिय यात्रु पुग्ने अनुमान गरिएको छ।