अत्याधिक ट्राफिक जामको समस्या रहेको कोटेश्वर चोकमा पनि अब ‘पिक एण्ड ड्रप’ लागू हुने भएको छ। आगामी आइतबारदेखि पिक एण्ड ड्रप लागू गर्ने निर्णय भएको महानगर ट्राफिक प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए।
ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, काठमाडौं महानगर तथा सडक विभागको उपस्थितिमा ट्राफिक महाशाखामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि खुला मन्चको आसपासमा यो व्यवस्था लागू गरिएको छ। यो व्यवस्थाले ट्राफिक जाम कम हुने पन्तले बताए । यद्यपी बृद्ध तथा अशक्तलाई भने सहज गरिदिन यातायात व्यवसायीहरुलाई आग्रह गरिएको उनले बताए।
‘हामीले पिक एण्ड ड्रप अन्य क्षेत्रमा पनि बढाउँदै लैजाने तयारीमा छौँ’ उनले भने ‘यसले ट्राफिक जाम हटाउन सहज गरेको छ।’ ट्राफिक प्रहरी आगामी दिनमा काठमाडौंको चाबहिल, जोरपाटी, गोगंबु लगायत क्षेत्रमा पनि पिक एण्ड ड्रप लागू गर्ने तयारीमा जुटेको छ।
व्यवसायीहरुले पनि ‘पिक एण्ड ड्रप’प्रति सहमति जनाएका छन्। ‘म आफै पनि गाडीमा हिँड्ने भएकाले जाम हटाउन गरिएको यो व्यवस्थालाई सकारात्मक रुपमा लिएका छौँ’ नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने ‘यद्यपी फूटपाथका पसल तथा पार्किङको व्यवस्थापन गर्नु जरुरी छ।’
सडकजति फूटपाथका पसल र पार्किङले मिचिने गरेकाले शहरी क्षेत्रमा यातायात संचालन चुनौतिपूर्ण बन्दै गएको उनले बताए। फूटपाथ र पेटीमा हुने पार्किङलाई व्यवस्थित गर्न उनले माग गरे।
कतिपय यात्रुहरु भने यस व्यवस्थाप्रति असन्तुष्ट बन्दै आएका छन्। बस चढ्नका लागि धेरै हिँड्नुपर्ने, ओर्लिएपछि गन्तव्यमा पुग्न बढी समय लागेको जस्ता गुनासा यात्रुहरुले गर्दै आएका छन्।