ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ हुने तालिका आएको विषय अफवाह भएको बताएका छन्।
उक्त सूचना गल्तीले निस्किएको उनले बताए।
'यो अफवाह हो। के गल्तीले सूचना निस्कियो। लोडसेडिङ होइन। राति रूट चेन्ज गर्नुपर्ने भएर बेलुका तीन घण्टा जति चाहिँ पानी तान्ने पम्प नचलाउने भनिएको हो। त्यसलाई लोडसेडिङ भनेर लेख्दिएर प्रिन्ट मिस्टेक भएर गलत कुरा सम्प्रेसण भएको हो,' उनले भने।
समस्या भएको ठाउँमा मर्मतका लागि तीन दिन मात्रै बिजुली प्रभावित हुने उनले बताए।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तार फेर्नुपर्ने भएकाले तीन दिन र रातको समयमा बिजुली बन्द हुने बताए।
'त्यो सूचना लोडसेडिङ भन्ने हिसाबले जबरजस्ती देखाउन खोजिएको हो। कुनै उद्देश्यले लोडसेडिङ भनेर निकालिएको देखिन्छ। त्यो कसैको हितमा छैन। भोलि र पर्सिमा त्यो वितरण लाइन अर्को सबस्टेसनबाट ट्रान्सफर गरेर बिजुली दिँदैछौं भने त्यसलाई लोडसेडिङ भन्नु अलिकति गलत नियत हो कि,' उनले भने।