जेन-जी आन्दोलन
काठमाडौंको माइतीघरमा जारी जेन–जी प्रदर्शनमा सहभागी हुन आएका सयौं नवयुवामध्ये १७ वर्षकी सन्ध्या बस्नेत एक हुन्।
लिभरपुल कलेजमा कम्प्युटर साइन्स पढिरहेकी सन्ध्या पहिलोपटक यस्तो प्रदर्शनमा सहभागी भइरहेको बताउँछिन्।
हामीले उनलाई प्रदर्शनमा आउनुको कारण सोधेका थियौं।
जबाफमा उनले भनिन्, 'सरकारले सामाजिक सञ्जाल बन्द गरेर आममान्छेहरूबीच सम्पर्क बिच्छेद गर्न खोजेको छ। नेपालमा बसेको परिवारले विदेश गएका आफन्त वा साथीभाइसँग कुराकानी गर्न पाएका छैनन्।'
उनले अगाडि भनिन्, 'यसले हाम्रो अध्ययनमा पनि असर परेको छ। हामी कतिपय कुराहरू युट्युब वा अन्य साइटहरूमा हेरेर सिक्नुपर्ने हुन्छ। सरकारको यो निर्णयले त्यसरी सिक्ने कुरा बन्द भएको छ। म त्यसैविरूद्ध आवाज उठाउन यो प्रदर्शनमा आएकी हुँ।'
उनले भ्रष्टाचारविरूद्ध आवाज उठाउनु पनि आफूहरूको उद्देश्य भएको बताइन्।
'हामीबाटै कर उठाएर नेताहरू देश विकास गर्दैनन्। करको रकम आफ्नै मोजमस्ती र सुखसुविधामा प्रयोग गरिरहेका छन्। यस्तो सरकारबाट हामीले के आस गर्ने?' उनले भनिन्, 'सरकारले राजनीतिक नेताहरू, तिनका सन्तान र सरकारी कर्मचारीहरूको मोजमस्तीका लागि कर तिरेका होइनौं।'
सोमबार बिहान ९ बजे माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ। माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए। सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।