नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन विद्युतीय माध्यम (डिजिटल प्रणाली)बाट हुने भएको छ।
फारम भर्ने, मूल्याङ्कन गर्ने र सुरक्षित तथा गोप्य रहने गरी डिजिटल प्रणालीमार्फत अभिलेख राख्ने व्यवस्था विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम २९ मा गरिएको हो।
विद्युत प्राधिकरणका निर्देशक शिव अधिकारीका अनुसार प्राधिकरणले विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया आज (साउन १ गते)देखि लागू गरेको हो।
‘सम्भवतः नेपालको निजामती सेवा तथा सार्वजनिक संस्थानमा प्राधिकरणले पहिलो पटक विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको हो,’ उनले भने।
यसबाट कार्यसम्पादन मूल्यांकन नियमित, निष्पक्ष, सरल, मितब्ययी, गोप्य, सुरक्षित र विश्वसनीय हुने प्राधिकरणले जनाएको छ।
यसबारे प्राधिकरणले सम्बन्धित सबैलाई सूसुचित गरेको जनाएको छ।