नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही क्षेत्रमा ट्रिपिङ (ओभरलोड तथा उपकरण समस्याले बत्ती जाने) को कारण झ्याप्प–झ्याप्प बत्ती जाने समस्या बढेको स्वीकारेका छन्।
शनिबार पत्रकाहरूसँगको छलफल समग्रमा विगतको जस्तै ट्रिपिङको समस्या रहे पनि सानेपा, बबरमहल लगायतका क्षेत्रमा बढेको बताएका हुन्।
'ट्रिपिङको समस्या हिजो पनि थियो। अहिले पनि छ। तर विगत बिर्सिएको कारण पनि अहिले आलोचना बढेको हुन सक्छ, हामीले यो समस्या छिटो कम गर्नुपर्छ,' शाक्यले भने 'तर सानेपा, बबरमहल लागयतका क्षेत्रमा वैशाख जेठमा धेरै ट्रिपिङ देखियो, अहिले करिब सुधार गरिसकेका छौँ।'
गुणस्तरीय विद्युत सुनिश्चित गर्न प्राधिकरणले फिडरमा लगानी, नियमित सुधार र अनुगमनलाई प्राथमिकता दिएको बताए।
'गत वर्षको तुलनामा यस वर्ष ट्रिपिङको तथ्यांक उस्तै छ, तर गुनासो बढेको छ। नयाँ नेतृत्वप्रति संवेदनशीलता बढेको कारण हुन सक्छ,' उनले भने।
गुणस्तरीय विद्युतका लागि प्राधिकरणले फिडरमा लगानीलगायतका योजना बनाइएको उनले बताए।
'हामी लोडसेडिङ हटाउनेभन्दा गुणस्तरीय विद्युतमा केन्द्रित छौं,' शाक्यले भने, 'भदौदेखि हरेक महिना सुधारको अपडेट दिने गरी काम गरिरहेका छौं।'
उनले उद्योगमा लोडसेडिङ हटिसकेको र अन्य क्षेत्रमा पनि पहिलेदेखि लोडसेडिङ नरहेको उल्लेख गरे।
प्राधिकरणले ऊर्जा सुरक्षाका लागि ब्याट्री, पम्प स्टोरेज र जलाशययुक्त आयोजनामा जोड दिएको उनको भनाइ छ।
शाक्यका अनुसार कुलेखानी–सिस्नेरी (१०० मेगावाट) र ४९० मेगावाटको अर्को पम्प स्टोरेज आयोजनाको लाइसेन्स प्राप्ति प्रक्रियामा छ।
यस्ता आयोजनाले विद्युत निर्यात र आयातको सन्तुलन कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
वित्त व्यवस्थापनका लागि प्रसारण र वितरण लाइनमा वार्षिक ५०/६० अर्ब लगानी आवश्यक रहेको शाक्यले बताए।
सरकारको लगानी घट्दो क्रममा रहेकाले वैकल्पिक उपाय खोजिएको छ।
प्राधिकरणको कागजी नाफा ४६ अर्ब देखिए पनि ४४ अर्ब बक्यौता उठ्न बाँकी छ। यस वर्ष तामाकोशी आयोजना र बंगलादेशसँगको २४सैं घण्टा विद्युत बिक्रीले नाफा बढ्ने अपेक्षा प्राधिकरणको छ।
निजी क्षेत्रसँग सहकार्य गरेर प्रसारण लाइन विस्तार गर्ने योजना रहेको उनले बताए।
डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले निवेदन दिएको जानकारी दिँदै उनले अब यो समस्या समाधान हुने बताएका छन्।