प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे बुधबार ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार युवराज खतिवडा, प्रधान सेनापति अशोकराज सिग्देल र उच्चाधिकारीसहित आयोजनाबारे छलफल भएको हो ।
आयोजनाको सुरू विन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रूख कटानमा ढिलाइ भएकोबारे नेपाली सेनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो।
प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरूपमा काम हुने बताए।
यसबीचमा उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जानकारी दियो।
दुई खर्ब ११ अर्ब ९३ करोड लागतको कूल ७० दशमलव ९७ किलोमिटर दूरीको उक्त सडक आयोजना २०७४ सालमा मा सुरू भएको हो।
आयोजनाको म्याद २०८३ चैतसम्म थपिएको छ। त्यही अवधिसम्म आयोजना पूरा गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ।
आयोजनाको हालसम्मको समष्टीगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जंगी अड्डाले बताएको छ।