‘आइफोन ८’ मा हालसम्मकै ठूलो डिस्प्ले


एप्पलले यसवर्ष ‘आइफोन ८’ लिएर आउँदैछ। आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा ल्याइने आइफोन निकै अलग भएर आउने अनुमान सबैले गरेका छन्।

बाहिर सार्वजनिक भएका केही फिचर, अनुमान र विश्लेषणका आधारमा आइफोन ८ बारे निकै कुरा थाहा भइसकेका छन्।

हालै यसको स्क्रिन आकारबारे पनि जानकारी बाहिरिएको छ। फोर्ब्सले जनाएअनुसार आइफोन ८ को डिस्प्ले हालसम्मका सबै आइफोनको भन्दा बढी हुनेछ। यसमा ५.८ इन्चको कर्भ्ड डिस्प्ले हुनेछ। यसको जानकारी एप्पलकै आधिकारीक स्रोतबाट बाहिरिएको फोर्ब्सले जनाएको छ।

यो डिस्प्ले हामीले देख्दै आएको सामसुङ सेभेन एस एजको झैं यसको छेउ मोडिएको हुनेछ। यसअघिका सबैभन्दा ठूलो स्क्रिन आइफोन ७ प्लसमा थियो जुन ५.५ इन्च छ।

विगतका वर्षमा झैं यसवर्ष पनि आइफोन सेप्टेम्बरमै सार्वजनिक हुने पक्कापक्की छ। आइफोन ८ कस्तो हुनेछ भन्नेबारे प्रविधि सम्बन्धी समाचार प्रकाशन गर्ने समाचारमाध्यमले बारम्बार उल्लेख गर्दै आएका छन्।

नयाँ आइफोनमा होम बटन नहुने, वायरलेस चार्जिङ सुविधा, दुई क्यामरा, १२८ र १२६ जीबी मेमोरी, टच आइडी सेन्सर र फेस स्क्यानिङ प्रविधि, धुलो र पानीले असर नगर्ने (डस्ट एण्ड वाटर प्रुफ) जस्ता फिचर हुनेछन्।

करिब एक लाख १० हजार रुपैयाँभन्दा बढी पर्ने यो हालसम्मकै महँगो आइफोन हुने बताइएको छ। आइफोन ८  मा हुने चिपसेटका कारण महँगो हुने बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.