काठमाडौं, माघ १६ : बूढानीलकण्ठ नगरपालिकाले बेरोजगार युवाहरूलाई देशमै स्वरोजगार बनाउने अभियान सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले आगामी फागुन २ र ३ गते चौथो चौथो संस्करणको वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको हो।
नगरपालिकाले 'शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता' नारासहित युवा लक्षित कार्यक्रम गर्न लागिएको मेयर मिठाराम अधिकारीले जानकारी दिए।
उनले गत वर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक श्रमिक तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने जानकारी दिए।
नगर प्रमुख अधिकारीले देशमा बढ्दै गएको बेरोजगारी समस्या हल गर्दै सवै स्थानीय तहहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताए।
नगर उपप्रमुख उपप्रमुख अनिता लामाले देशमै बसेर यहि स्वरोजगार भई परिवार समाज रूपान्तरणका लागि हातेमालो गर्न सकियो भने नगरको चाहना रहेको बताइन्।
मेलामा विशेष आकर्षणको रुपमा १४० जना कामको खोजीमा रहेका बेरोजगार युवाहरुलाई साइकोमेट्रिक टेष्ट मार्फत वृत्ति पहिचान गरिने र २५० जना युवाहरुलाई वृत्ति पहिचानका लागि डिजिटल प्रविधि (साइकोमेट्रिक सेवा) सम्बन्धी जानकारी प्रदान गरिने कार्यक्रम राखिएको छ।
साथै मेला अवधिमा कम्तिमा ५० जना युवाहरुलाई एकल तथा ४०० जना युवाहरुलाई सामुहिक वृत्ति तथा रोजगार परामर्श प्रदान गरिने कार्यक्रम राखिएको आयोजकले बताएको छ।
मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन्।
कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ।
नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ। इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।