नेपालका लागि मलेसियाली राजदूत मोहम्मद फिरदस आजमानले नेपालीहरूलाई मलेसिया घुम्न जान आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मलेसिया प्राकृतिक तथा सांस्कृतिक हिसाबले पर्यटकहरूका लागि निकै आकर्षक गन्तव्य मुलुक भएको बताए।
आर्थिक हिसाबले पनि नेपालीहरूका लागि उचित गन्तव्य रहेको उनले बताए।
'मलेसियामा घुम्नै पर्ने प्रशस्त स्थानहरू छन्। कम खर्चमा राम्रो ठाउँ घुमफिर गर्न सकिन्छ,' उनले भने।
मलेसियाले सन् २०२६ लाई भ्रमण वर्ष घोषणा गरेको छ। जतिसक्दो ठूलो संख्यामा पर्यटकहरू भित्र्याउने लक्ष्य अघि सारेको छ।
मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक श्रम गन्तव्य पनि हो। कार्यवाहक राजदूत मोहम्मद फिरदसले नेपाली श्रमिकहरू निकै परिश्रमिक र इमान्दार भएको बताए।
मलेसियामा अहिले वैधानिक हैसियतमा रहेर चार लाख नेपालीहरू काम गरिरहेको पनि उनले बताए।
'मलेसियामा काम गरेर नेपाल फर्किएर धेरै जनाले व्यवसाय सुरू गर्नु भएको छ। आर्थिक हिसाबले उहाँहरूको जीवनस्तरमा धेरै सुधार भएको छ। यो देख्दा मलाई निकै खुसी लाग्छ,' उनले भने।