पूर्वी युरोपका विभिन्न मुलुकहरूमा आउटडोर कामका लागि आप्रवासी श्रमिकहरूको अत्यधिक माग रहेको एक अध्ययनले देखाएको छ।
भवन तथा काष्ठकर्मीहरूको हितका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय भवन तथा काष्ठकर्मी महासंघ(बिडब्लुआई) ले गरेको एक अध्ययनले पूर्वी युरोपेली मुलुकहरूमा निर्माण, यातायात, कृषि लगायत क्षेत्रमा श्रमिकहरूको माग अत्यधिक रहेको देखाएको हो।
पूर्वी युरोपका युवाशक्ति रोजगारीका लागि पश्चिम युरोप तिर जाने गरेको र त्यहाँ केटाकेटी तथा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेकाले आउटडोर तथा सेवा क्षेत्रको कामका लागि आप्रवासीको खाँचो बढ्दै गइरहेको अनुसन्धानकर्ता एवं अधिवक्ता निलाम्बर बडालले बताए।
त्यहाँ वृद्धवृद्धा स्याहार सुसार तथा केयरगिभर काममा पनि श्रमिकहरूको माग बढिरहेको अध्ययनले देखाएको छ।
रोमानिया लगायत मुलुकमा आउटडोरको काम गर्दा चिसो भने अत्यधिक हुने उनले बताए।
युरोपमा काम गरिरहेका नेपाली युवाहरूसँग कुराकानीमा आधारित उक्त अध्ययन अनुसार युरोपमा श्रमिकहरूका लागि खान, बस्न पनि राम्रो व्यवस्था छ। तर अधिकांशले नियमित काम पाउन भने गाह्रो रहेको बताएका छन्।
काम गरेको समयको आधारमा पैसा पाइने र कुनै दिन नसकेर काम गरिएन भने त्यसको पैसा नपाउने श्रमिकहरूले बताएका छन्।
'धेरैजसो काम सिजनमा मात्रै पाइने खालका हुने रहेछन्। सिजन सकिएपछि फेरि अर्को काम खोज्नुपर्ने रहेछ,' बडालले भने। अध्ययनले युवाहरूले युरोप जान पाँच देखि ४० लाखसम्म खर्च गरेको देखाएको छ।
युरोप रोजगारीबारे स्पष्ट मापदण्ड नहुँदा बिचौलियालाई चर्को रकम बुझाएर युवाहरू जान बाध्य छन्।
'युरोपमा देशैपिच्छे छुट्टाछुट्टै व्यवस्था रहेछ। अधिकांश मुलुक जाँदा रोजगारदाताले नै श्रमिकको सबै सेवाशुल्क तिर्नुपर्ने व्यवस्था छ। तर पनि बिचौलियामार्फत श्रमिकहरू ठगिइरहेका छन्,' बडालले भने।
युरोपका धेरैजसो मुलुकमा कुटनीतिक नियोग छैनन्। जसले गर्दा त्यहाँको मागपत्र प्रमाणीकरण नहुँदा अवसर सदुपयोग हुन सकेको छैन।
सरकारले पछिल्लो समय युरोपको अवसर सदुपयोग गर्न भन्दै दूतावास नभएका मुलुकको मागपत्र वैदेशिक रोजगार विभागबाटै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन लागिरहेको छ।
यसमा परराष्ट्र मन्त्रालयले सहमति दिइसकेको भने छैन।