प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन्।
मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कोषले योगदानकर्ता अस्पताल भर्ना भई उपचार गराउँदा अब १० लाख रूपैयाँको ५० प्रतिशतसम्म उपचार खर्च पाउने घोषणा गरेका हुन्।
हाल यस्तो सुविधा सीमा एक लाख रूपैयाँको छ। योगदानकर्ताले अस्पताल भर्ना भएर उपचार गराउँदा एक लाख रूपैयाँको ८० प्रतिशतसम्म उपचार खर्च कोषबाट पाउँदै आएका छन्। २० प्रतिशत योगदानकर्ता आफैँले बेहोर्नुपर्छ।
अर्थात्, कोही योगदानकर्ता अस्पताल भर्ना भएर उपचार गर्दा एक लाख खर्च भयो भने योगदानकर्ताले ८० हजार रूपैयाँ कोषबाट पाउँथे। बाँकी २० हजार मात्रै आफ्नो खल्तीबाट अस्पतालाई तिर्नुपर्थ्यो।
अब ओलीको घोषणा कार्यान्वयन भएपछि कुनै योगदानकर्ताले उपचार गराउँदा कुल एक लाख रूपैयाँ लाग्यो भने ५० हजार मात्रै कोषले बेहोर्नेछ। बाँकी ५० हजार श्रमिक आफैँले खल्तीबाट बेहोर्नुपर्नेछ। उपचार गराउँदा १० लाख लाग्ने भयो भने पाँच लाख कोषले बेहोर्नेछ। बाँकी पाँच लाख श्रमिकले बेहोर्नुपर्नेछ।
ओलीले अब योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने बताए।