युरोपका विभिन्न मुलुकहरूमा म्यानपावरले श्रमिक पठाउन नसक्दा कन्सल्टेन्सी तथा बिचौलियाले श्रमिक पठाइरहेको गुनासो व्यवसायीहरूले गरेका छन्।
युरोपका विभिन्न देशहरूबाट कामदारको मागपत्र प्राप्त भएको तर मागपत्र प्रमाणीकरण गरी दिने देशमा नेपाली दूतावास नभएको कारण संस्थागत कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।
'दूतावास भएका देशहरू जर्मनी र अष्ट्रियाले समेत १८ महिनादेखि मागपत्र प्रमाणीकरण गर्न बन्द गरिदिएको छ। संस्थागत कामदार पठाउन नपाउँदा बिचौलिया तथा कन्सल्टेन्सीहरूले भिजिट भिसा बनाइ युएई लगायत विभिन्न देशमा पुर्याएर युरोप लगायत अन्य देशमा पठाउने गरेका छन्,' उनले भने।
'उनीहरूलाई प्रलोभनमा पारेर अस्वभाविक रकम लिई पठाइरहेका छन्,' उनले थपे।
गैर कानुनी तवरबाट जाँदा कामदारहरू असुरक्षित र ठगीमा परिरहेको उनको भनाइ छ।
त्यस्तै छिटो छरितो रूपमा युरोप पठाउन नसक्दा युरोपियन मुलुकबाट प्राप्त ५० औं हजारको रोजगारी गुमिरहेको व्यवसायीको गुनासो छ।
रेमिटेन्समा पनि प्रभाव परिरहेको उनीहरूको भनाइ छ।
वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन खाडी मुलुकबाट युरोपियन मुलुकमा स्थानान्तरण गरी दक्ष कामदार पठाउने मानव अधिकारका हिसाबले सुरक्षित र आकर्षक तलब सुविधा पाउने काममा पठाई धेरै विप्रेषण भित्र्याउने नीतिलाई कार्यान्वयनमा ल्याउन व्यवसायीहरूले आग्रह गरेका छन्।
युरोप लगायत दूतावास नभएका देशहरूबाट प्राप्त भएका मागपत्रहरू काठमाडौंबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गर्न पनि व्यवसायीले आग्रह गरेका छन्।