प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीका लागि एकपछि अर्को गर्दै अनुकूल वातावरण निर्माण भइरहेको बताएका छन्।
उनले अब ढुक्क भएर लगानी गर्न सकिने अवस्था बनिसकेको भन्दै विदेशी तथा आन्तरिक लगानीकर्तालाई नेपालको स्थायित्वमा विश्वास गर्न आह्वान गरे।
नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक उत्सवमा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले भने, 'देशको सबैभन्दा पुराना र जिम्मेवार पार्टीहरूसँगै सरकारमा छन्। अब सरकार परिवर्तन भइहाल्छ कि भन्ने अवस्था छैन। यो सरकार कम्तीमा २०८४ सालसम्म जान्छ, त्यसपछि पनि यो क्रम जारी रहन्छ।'
प्रधानमन्त्री ओलीले व्यवसायीसँगको निरन्तर संवाद र मागअनुसारकै आधारमा लगानीसम्बन्धी कानुनहरू ल्याइएको उल्लेख गरे।
'व्यवसायीको कुरा सुनेर नै सरकार अध्यादेशमार्फत कानुन ल्यायो, संसदले छलफल गर्यो र पारित गर्यो। ती सबैको जगमा व्यवसायी हुन्,' उनले भने।
प्रधानमन्त्री ओलीले अनुसार सरकार सकारात्मक ढंगले नीति ल्याउन प्रतिबद्ध रहेको बताए।
अबको आवश्यकता सुशासन र तीव्र विकास भएको उल्लेख गर्दै उनले भष्टाचारको विरुद्धमा व्यवसायीको सहयोग पनि अपेक्षित रहेको बताए।
'भष्टाचार चलिरहेको हुनसक्छ, तर अब त्यसमा कम्परमाइज हुँदैन। करप्सन कम गर्न सरकारलाई व्यवसायीहरूको साथ चाहिएको छ,' प्रधानमन्त्रीले भने।
उनले राजनीतिक स्थायित्वका आधारमा ढुक्क भएर लगानी गर्न सकिने बताए।
'स्थिरता र स्थायित्वको वातावरण बनिसकेको छ। अब ढुक्क भएर लगानी गरे हुन्छ,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्रीले संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मार्फत् विदेशी लगानी भित्र्याउनु आवश्यक रहेको धारणा राखे।
उनले सरकारको प्राथमिकता सुशासनसहितको समृद्धि भएको बताए।