पाँच वर्षको अविधमा नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति करिब ५९ लाख रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति सार्वजनिक गरेको हो। उनको गभर्नर पद शुक्रबार सकिएको थियो।
उनको डलरमा रहेको निक्षेप रकम नै २६ हजार डलरले बढेको हो। गभर्नर हुनुअघि उनीसँग डलर खातामा २ हजार ३ सय २ डलर रहेकोमा यस्तो रकम बढेर २८ हजार ६ सय ८ डलर पुगेको हो।
सार्वजनिक सम्पत्ति विवरणअनुसार विगत पाँच वर्षमा अन्य सम्पत्ति भने २३ लाख २४ हजारले बढेको हो। नगद, सुन चाँदी, बैंक मौज्दात र सामूहिक लगानी कोष जस्ता सम्पत्तिमा बढोत्तरी भएको हो।
अधिकारीसँग डलरसहित करिब ४ करोड ८ लाख कुल सम्पत्ति छ।
उनको सम्पत्तिमा २८ लाख बैंक मौज्दात, ९ लाख ८८ हजार रुपैयाँ सुन, चाँदी तथा नगद, १ करोड ८९ लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड तथा सुरक्षणपत्रमा लगानी रहेको छ।
त्यस्तै, १ करोड ८ लाख रुपैयाँ लागतको जग्गा र ३२ लाख रुपैयाँ लागतको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
