भैरहवा भन्सार कार्यालय, रूपन्देहीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वार्षिक लक्ष्यको जम्मा ५५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।
साउनदेखि फागुनसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रूपैयाँ संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।
चालु वर्षका लागि कार्यालयले एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रूपैयाँ असुल गर्ने लक्ष्य लिएको छ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार संकलित रकम वार्षिक लक्ष्यको जम्मा ५५.२६ प्रतिशत हो। तर गत आर्थिक वर्षको यही अवधिको तुलनामा करिब १७ प्रतिशतले बढी हो। गत वर्ष साउनदेखि फागुनसम्म ५२ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो।
अघिल्ला आर्थिक वर्षमा कार्यालयले लक्ष्यभन्दा धेरै कम राजस्व असुल गरेको थियो। त्यसैले यसपालि गत वर्षभन्दा १० अर्ब घटाएर लक्ष्य निर्धारण गरिएको हो।
'तोकिएको भन्दा आधा मात्रै लक्ष्य पूरा हुन थालेपछि चालु वर्षमा घटाएर लक्ष्य तोकिएको हो,' प्रमुख भन्सार अधिकृत रेग्मीले भने।
चालु वर्षमा कार्यालयले पाएको मासिक लक्ष्य पनि गत असोज महिनामा बाहेक पूरा गर्न सकेको छैन। असोजमा आठ अर्ब ७८ करोड १६ लाख ८६ हजार रूपैयाँ संकलनको लक्ष्य थियो। कार्यालयले योभन्दा बढी, ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार रूपैयाँ संकलन गर्यो। भदौमा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन भएको थियो।
बेलहिया नाकाबाट मोटरसाइकल, जिप, कार, भ्यान, बिजुली गाडी (इभी), पेट्रोल, मोबाइल, बिलेट, टायल, डिजेल, मार्बल स्ल्याब, एलपी ग्यास, चकलेट लगायत वस्तुबाट सबभन्दा धेरै राजस्व संकलन हुने प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।
मुख्य दस प्रकारका वस्तुबाट मात्रै ८ महिनामा २८ अर्ब ४४ करोड १० लाख रूपैयाँ राजस्व संकलन भएको छ।
- मोटरसाइकलबाट १० अर्ब ९३ करोड ९७ लाख ५९ हजार रूपैयाँ (९० हजार २३५ वटा)।
- इन्धनबाट चल्ने कार, जिप, कार र भ्यानबाट ६ अर्ब ३९ करोड ५८ लाख ४३ हजार रूपैयाँ (२ हजार एक सय वटा)।
- पेट्रोलबाट दुई अर्ब ५१ करोड ९ लाख ३७ हजार रूपैयाँ।
- विद्युतीय कार, जिप र भ्यानबाट एक अर्ब ६७ करोड रूपैयाँ (एक हजार ६ सय ५६ वटा)
- शुद्ध फलामबाट एक अर्ब ४२ करोड ८२ लाख रूपैयाँ।
- इन्धनबाट चल्ने डबल पिकअप गाडीबाट एक अर्ब ३४ करोड ७३ लाख रूपैयाँ।
- मोबाइलबाट एक अर्ब १७ करोड रूपैयाँ (दुई लाख ८५ हजार ६५० वटा)।
- चकलेटबाट एक अर्ब १५ करोड २५ लाख ९९ हजार रूपैयाँ।
- बिलेट (एमएस) बाट ९३ करोड ४६ लाख रूपैयाँ।
- टायलबाट ८९ करोड २ लाख रूपैयाँ।
भन्सार प्रमुख रेग्मीका अनुसार चालु वर्षमा बेलहिया नाका हुँदै एक खर्ब ६७ अर्ब ९ करोडको वस्तु तथा सामान आयात भएको छ। गत वर्ष यही अवधिमा एक खर्ब ५७ अर्ब १४ करोडको भएको थियो।
लक्ष्य अनुसार राजस्व संकलन नभए पनि पछिल्लो समय बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकमा निकासी हुने वस्तु बढेको पाइएको छ।
मुख्य गरी भटमास र सूर्यमुखीको तेल, सिन्थेटिक यार्न (धागो), सिमेन्ट, पिना, कत्था, फलाम तथा स्टिलका भाँडा, चाउचाउ, खोटो रोजीन, प्लाइउड लगायतका वस्तु निकासी हुने गरेका छन्।
यो वर्ष साउनदेखि फागुनसम्म ११ अर्ब ९३ करोड रूपैयाँका विभिन्न वस्तु भारत निर्यात भएका छन्। गत वर्ष यही अवधिमा ९ अर्ब २ करोड रूपैयाँको निर्यात भएको थियो।
कार्यालयका अनुसार गत वर्ष प्रशोधित तेल भारत निकासी भएको थिएन। यस वर्ष आठ महिनामा दुई अर्ब ९७ करोड ३९ लाख बराबरको भटमासको प्रशोधित तेल तथा ३७ करोड ३६ लाख बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ।
भटमासको प्रशोधित तेल सबभन्दा बढी निर्यात हुने सूचीको एक नम्बरमा छ। चालु वर्षको आठ महिनामा एक करोड ४८ लाख ८० हजार ८ सय २९ लिटर भटमासको तेल र २० लाख ६८ हजार ८६० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।
'गत वर्ष भारत सरकारले रोक लगाएपछि त्यहाँ तेलको निर्यात शून्य भएको थियो। यस वर्ष निर्यात सहज बनेपछि वैदेशिक व्यापार समेत बढेको छ,' प्रमुख भन्सार अधिकृत रेग्मीले भने।
गत वर्षसम्म सबभन्दा बढी निर्यात भएको सिन्थेटिक यार्नलाई यस वर्ष भटमासको तेलले उछिनेको छ। आठ महिनामा दुई अर्ब २० करोड ७७ लाख ९१ हजार रूपैयाँको सिन्थेटिक यार्न निर्यात भएको छ। त्यस्तै ५९ करोड ५५ लाख ३१ हजार रूपैयाँको पिना, अदुवा, सुठो लगायत जडिबुटी र ५८ करोड ९० लाख ८२ हजार रूपैयाँको कत्था निर्यात भएको छ।
यो नाका हुँदै तयारी चाउचाउ र पास्ता ४४ करोड १२ लाख १२ हजार रूपैयाँको निकासी भएको छ। त्यस्तै ३५ करोड ८४ लाख ९८ हजार रूपैयाँको रोजिन तथा ३३ करोड ३१ लाख ८७ हजार रूपैयाँको प्लाइउड भारत निकासी भएको छ।
सिमेन्ट निकासी भने घटेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए। भारतमा सिमेन्ट निर्यातका लागि बिआइए (ब्युरो अफ इन्डियन स्ट्यान्डर्स) बाट गुणस्तर प्रमाणपत्र अनिवार्य गरिएको छ। भारतको सम्बन्धित निकायले नेपालका सिमेन्ट उद्योगहरूको बिआईए नवीकरण समयमै नगर्दा निर्यात रोकिएको थियो।
सोही कारण चालु वर्ष आठ महिनामा जम्मा ८८ करोड ४८ लाख ३० हजार रूपैयाँको मात्र सिमेन्ट निकासी भएको छ। गत वर्ष यही अवधिमा एक अर्ब ९ करोड १४ लाख ७३ हजार रूपैयाँको सिमेन्ट र ८३ करोड २ लाख ४५ हजार रूपैयाँको क्लिंकर निर्यात भएको थियो।