ग्लोबल आइएमइ बैंकका आइएसओ शिखर सुवेदीले बैंकहरु डिजिटल साक्षरताको लागि कार्यक्रम गरिरहेको बताएका छन्।
सेतोपाटीले आयोजना गरेको फिन टेक कन्क्लेभको तेस्रो सत्र 'सुरक्षा चुनौतीहरू' मा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपालमा साइबर फ्रड उच्चले बढेको र त्यसमा पनि अहिले १९ देखि ३० वर्षका युवाहरुको यस्तो साइबर फ्रडमा संलग्नता देखिएको उनले बताए।
यसका लागि साक्षरता बढाउन आवश्यक रहेको उनले बताए।
'विद्यालय तहबाटै यसमा सचेतना बढाउन पर्ने देखिन्छ। हाम्रो बैंकले निरन्तर हरेक शाखाबाट डिजिटल साक्षरता कार्यक्रम गरिरहेका छौं, ' उनले भने।
उनले प्रहरीको अपराध अनुसन्धान ब्युरोसँग मिलेर पनि ग्लोबल आइएमई बैंकले काम गरिरहेको जानकारी गराए।
'हामीले भुक्तानी प्रदायकहरूसँग बैंक आफैले अग्रसरता लिएर रिस्क अडिट पनि गरिरहेका छौं। हामीले हाम्रो प्रणालीको नियमित रिस्क अडिट पनि गरिरहेका छौं,' उनले भने।
डिजिटल साक्षरता विस्तार सबै निकायले काम गर्नुपर्ने उनले बताए। साक्षरता अभावमा बढी साइबर अपराधका घटना हुने गरेको उनले बताए।