इन्टरनेसनल पेमेन्ट फोनपेका सिइओ रितेश पाइले डिजिटल वित्तीय साक्षरता चुनौतीको रूपमा रहेको बताएका छन्।
मंगलबार सेतापाटीले आयोजना गरेको फिनटेक कन्क्लेभमा उनले केही दशकमा नेपालले डिजिटलाइजेसनमा राम्रो उपलब्धि हासिल गरे पनि सुरक्षा चुनौती भने रहेको उनले बताएका हुन्।
'मोबाइल प्रयोगकर्ता बढ्दै गर्दा डिजिटल वित्तीय साक्षरता चुनौतीकै रूपमा रहेको देखिन्छ,' उनले भने।
अहिले पनि नेपालमा भुक्तानीको लागि नगदको प्रयोग उच्च भइरहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानीका लागि चाहिने आधारभूत क्षमता नभएको बताए।
'डिजिटलाइजेसन सम्बन्धी तीव्र रूपमा चेतना अभिवृद्धि गर्न नसक्दा ग्रामीण क्षेत्रका मानिसहरूलाई यो प्रविधिमा विश्वास गर्न समय लाग्छ,' उनले भने।
नेपालले पूर्वाधारको सीमितता, डिजिटल फ्रड लगायतका चुनौती सम्बोधन गर्न बाँकी नै रहेको उनले बताए।
उनका अनुसार विभिन्न चुनौती हुँदाहुँदै पनि नेपाल सकारात्मक दिशामा अगाडि बढेको छ।
मोबाइल बैंकिङ सेवाको सुरूवात हुनु, डिजिटल पेमेन्ट गेटवेको स्थापना हुनुले अहिले नै वित्तीय क्षेत्रमा परिवर्तन देखा पर्न थालिसकेको उनले बताए।
'राष्ट्र बैंकले पनि मोबाइल बैंकिङ मार्फत् वित्तीय पहुँच वृद्धिको लागि गरेको काम र नियामकिय संरचना सूधारमा भइरहेको काम सह्रानीय छ,' उनले भने।
एक दशकमा भारतमा यो क्षेत्रमा भएको परिवर्तनबाट समेत नेपाललाई सिकाइ हुनसक्ने उनले बताए।
'सृजनशीलता, नियमन र पूर्वाधारको सही संयोजनबाट नै भारतले सफलता हात पारेको हो। एक दशकअघिसम्म भारतको बैंकिङ प्रणाली परम्परागत बैंकहरूबाट नै निर्देशित थिए। यसले गर्दा ठूलो संख्यामा मानिसहरू वित्तीय पहुँचबाट बाहिर थिए,' उनले भने।
सरकारको प्रधानमन्त्री जनधन योजना, इनोभेटिभ इण्डिया जस्ता कार्यक्रमले पनि डिजिटल बैंकिङलाई अगाडि बढाउन सहयोग पुगेको उनले बताए।
'प्रधानमन्त्री जनधन योजना अन्तर्गत धेरै मानिसहरूको बैंक खाता खोलिए। आधार कार्यक्रमले धेरैभन्दा धेरैको पहिचान कायम राख्न सक्ने व्यवस्था भयो, जसले पनि ग्राहक पहिचानमा सहयोग पुग्यो,' उनले भने।
उनका अनुसार भारतमा सन् २०१६ मा युनिभाइड पेमेन्ट इन्टरफेस आएसँगै भारतमा साधारण मानिसहरूले मोबाइलबाटै बैंक खातामा पैसा जम्मा गर्न सक्ने अवस्था बन्यो। परम्परागत बैंकिङ प्रणाली प्रयोग गरेरै रकम पठाउनुपर्ने बाध्यता यसले हटायो।
सरकारको नीतिले मात्र होइन डिजिटल पेमेन्ट प्रोभाइडरहरूको कारण पनि भारतमा डिजिटल भुक्तानीमा उच्च दरमा वृद्धि हुन मद्दत पुगेको उनको भनाइ छ।