नेपाल राष्ट्र बैंकका निर्देशक सुवास घिमिरेले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, स्वस्थ र सक्षम बनाउन आवश्यक रहेको बताएका छन्।
मंगलबार सेतोपाटीले आयोजना गरेको 'फिनटेक कन्क्लेभ' अन्तर्गत ‘प्र्याक्टिकल च्यालेन्जेज इन डिजिटल पेमेन्ट्स’ विषयक छलफलमा बोल्दै उनले यो प्रणालीलाई थप प्रभावकारी बनाउन नियमन, पूर्वाधार तथा साइबर सुरक्षामा ध्यान दिनुपर्ने बताए।
उनका अनुसार नेपाल राष्ट्र बैंक ऐनअनुसार भुक्तानी प्रणालीलाई सुरक्षित बनाउने प्रमुख जिम्मेवारी राष्ट्र बैंककै हो।
उनले भने, 'भुक्तानी प्रणाली सुरक्षित, स्वस्थ र सक्षम बनाउन संस्थाहरूले आफैं पूर्वाधारमा लगानी गर्नुपर्छ। कति अपरेटर आवश्यक छन् भन्ने निर्धारण गर्दै अनावश्यकलाई हटाएर लागत घटाउनु जरुरी छ।'
साइबर सुरक्षाको महत्त्वबारे चर्चा गर्दै उनले नेपालमा थप लगानी आवश्यक रहेको बताए।
घिमिरेले अन्तर्राष्ट्रिय रूपमा भुक्तानी प्रणालीमा झण्डै २० प्रतिशत खर्च साइबर सुरक्षामै हुने उल्लेख गरे। उनले क्लाउड प्रविधि प्रयोगबारे पनि छलफल आवश्यक रहेको बताए।
उनले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन नियामक निकाय, सेवा प्रदायक र उपभोक्ताबीच समन्वय आवश्यक रहेको धारणा राखे।
निर्देशक घिमिरेले केवाइसी प्रणालीलाई क्रमिक रूपमा विस्तार गर्दै जानु आवश्यक रहेको बताएका छन्।
उनले भुक्तानी प्रणालीलाई सुरक्षित बनाउने उपायहरू अपनाइएको उल्लेख गर्दै स्क्याम तथा ठगीबाट बच्न जनचेतना अभिवृद्धिमा पनि काम भइरहेको जानकारी दिए।
उनले कानुनी दायराभित्र रही प्रणालीलाई थप सुरक्षित बनाइँदैछ भने अवैध स्रोतबाट आउने रकमलाई भुक्तानी प्रणालीमा छिराउन कठिन बनाउँदै लगिएको बताए।
'सेट्रलाइज्ड फ्रड कम्युनिकेसन' प्रणालीमार्फत फ्रड कम गर्ने उपाय खोजिन थालेको उनको भनाइ छ।