सेतोपाटीको आयोजनामा नेपाल फिनटेक कन्क्लेभ सुरू भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रम उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले डिजिटल पूर्वाधार विकास गर्नुपर्ने बताए। ‘यसले भुक्तानी प्रक्रिया सरल हुनुका साथै समग्र अर्थतन्त्रको डिजिटाइजेसनमा सहयोग गर्छ,' उनले भने।
फिनटेक उद्योगका सरोकारवालाहरू, नीतिनिर्माता, सरकारी अधिकारीहरू, राष्ट्र बैंकका अधिकारीहरू, उद्यमी, विज्ञ लगायत सम्बन्धित निकायलाई एकै ठाउँमा ल्याउने र फिनटेकको बढ्दो बजारसँगै यसका चुनौतीहरूबारे छलफल गर्न कार्यक्रम गरिएको हो।
कन्क्लेभका विशेष वक्ताका रूपमा फोनपे, इन्टरनेसनल पेमेन्ट्सका सिइओ रितेश पाई छन्। उनले भारतमा फिनटेकको बढ्दो प्रयोग र फोनपेको यात्रा तथा विकासबारे प्रकाश पार्नेछन्।
पहिलो सत्र 'प्र्याक्टिकल च्यालेन्जेज इन डिजिटल पेमेन्ट्स' शीर्षकमा छलफल हुनेछ।
यो सत्रमा खल्तीका सहसंस्थापक अमित अग्रवाल, इसेवाका चिफ स्ट्राटेजी अफिसर रवि शाक्य र नेपाल राष्ट्र बैंकका निर्देशक सुभासचन्द्र घिमिरेले छलफल गर्नेछन्।
रेन लोकल कम्पनीका कन्ट्री हेड चन्दन गुप्ताले सहजीकरण गर्नेछन्।
त्यस्तै दोस्रो सत्र 'डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर्स' विषयमा हुनेछ।
यो सत्रमा फोनपे नेपालका सिइओ दिवस कुमार, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का सिइओ निलेशमान प्रधान र राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले आफ्ना भनाइहरू राख्नेछन्।
कार्यक्रम सानीमा बैंकका पूर्वसिइओ भुवन दाहालले सहजीकरण गर्नेछन्। अन्तिम सत्र 'सुरक्षा चुनौतीहरू' मा भैरव टेक कम्पनीका सिइओ विजय लिम्बू प्रमुख वक्ता रहनेछन्।
त्यस्तै यो सत्रमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का होविन्द्र बोगटी, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजू र ग्लोबल आइएमई बैंकका इन्फरमेसन सेक्युरिटी अफिर (आइएसओ) शिखर सुवेदीले आफ्ना अनुभव र भनाइहरू राख्नेछन्।
नेपाल फिनटेक कन्क्लेभको प्रमुख साझेदार ग्लोबल आइएमई बैंक हो भने मुख्य साझेरदारहरू इसेवा र फोनपे हुन्।
लाइभ: