नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पनि रोकिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि एमसिसीले भने निरन्तरता पाउने जनाइएको थियो। तर एमसिसीले गत फागुन २ गते इ-मेलमार्फत् उक्त परियोजना रोकिएको जनाएको अर्थ मन्त्रालयले बताएको छ।
‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो।
उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख गरिएको छ।
एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।
एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।
सम्बन्धित समाचार:
रद्द गर्न थालियो नेपालमा युएसएआइडी अन्तर्गतका कार्यक्रम