दायाँबायाँ फुटपाथ र हरियाली बगैंचासहितको सर्भिस लेन। फराकिलो मुख्य सडक पार गर्न ठाउँ ठाउँमा बनाइएका अपांगतामैत्री आकासेपुल। सडक बीचमा जडान गरिएका झिलिमिली बत्ती।
भारतीय सीमानाका बेलहियादेखि बुटवलसम्मको ६ लेन सडक हेर्दै आकर्षक देखिन्छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बेलहिया नाकादेखि बुटवलसम्मको साढे २७ किलोमिटर सडक ६ लेनमा बिस्तार गरिएपछि बुटवल र भैरहवा आपसमा जोडिएका छन्, भारतसँगको दुरी छोट्टिएको छ। स्थलमार्ग हुँदै सबभन्दा धेरै पर्यटक भित्रिने र मालसामान भित्रिने देशकै दोस्रो ठूलो व्यापारिक नाका बनेको छ बेलहिया।
देशका मुख्य भन्सार नाकाहरूमा सवारी आवागमन सहज बनाउँदै व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनामार्फत सडक विस्तार सुरु गरिएको थियो। पहिले मुस्किलले दुइटा गाडी आरपार हुने साँघुरो सडक फराकिलो भएपछि बेलहिया नाका हुँदै भित्रिने भारतीय पर्यटक बढ्न थालेका छन्। यहाँबाट भित्रिएका पर्यटक देशका विभिन्न ठाउँ पुग्छन्।
बेलहियादेखि पश्चिमतर्फ २५ किलोमिटर पर गौतमबुद्ध जन्मस्थल लुम्बिनी र त्यति नै दुरीमा बुटवल पुग्न सकिन्छ। सिद्धार्थ राजमार्ग हुँदै ७० किलोमिटर दुरीमा पाल्पा र १८२ किलोमिटर दुरीमा पोखरा पुग्न सकिन्छ।
बेलहिया भन्सार कार्यालयका अनुसार पछिल्लो समय दैनिक एक हजारदेखि एक हजार पाँच सय भारतीय पर्यटक यो नाका हुँदै नेपाल आउँछन्। यीमध्ये कतिपय क्यासिनोमा रमाउन आउँछन् त कोही उपचारका लागि भैरहवा पुग्छन्।
अधिकांशको उद्देश्य चाहिँ घुमफिर नै हुन्छ। उनीहरू लुम्बिनी, बुटवल, पाल्पा, पोखरा, काठमाडौं, चितवन, मुक्तिनाथ (मुस्ताङ) सम्म पुग्छन्।
यस्तै पर्यटकमध्ये एक हुन् इन्द्रनिल बार्गी। गत मंसिरमा अन्तिममा उनी परिवार सहित भारतको कोलकाताबाट बेलहिया आइपुगेका थिए।
'लुम्बिनी, पोखरा हुँदै काठमाडौंसम्म जाने हो। नेपालको हावापानी राम्रो छ। प्राकृतिक सुन्दरता छ। त्यसकै आनन्द लिन आएका हौं,' उनले भने।
कानपुरका रामु शर्माले छोराछोरीको स्कुल र आफ्नो कार्यालय बिदा भएका बेला नेपाल घुम्न आएको बताए। दस दिनका लागि आएका उनको योजना पनि लुम्बिनी, पाल्पा हुँदै पोखरा जाने र त्यहाँबाट काठमाडौं पुगेर फर्किने थियो।
लुम्बिनीमा ध्यानमग्न हुन, पहाडी भूभागको चिसो हावापानी र प्राकृतिक सुन्दरताको आनन्द लिन, धार्मिक स्थल दर्शन गर्न भारतीय पर्यटकहरूको रोजाइ बनिरहेको छ नेपाल।
तीन साथीको परिवारसहित कानपुरबाट पहिलो पटक नेपाल आएकी मधुले भनिन्, 'हाम्रो (भारतीय) प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएपछि हामीलाई पनि काठमाडौं आउने इच्छा लाग्यो। पशुपतिनाथ दर्शन गर्ने हो।'
यसरी बेहलियाबाट दैनिक सयौं भारतीय पर्यटकको आउजाउ हुन्छ। तर यहाँ भारतीय गाडीलाई अस्थायी पैठारी दिनेबाहेक कति संख्यामा पर्यटक भित्रिए र बाहिरिए भन्ने अभिलेख छैन।
'यो नाका हुँदै अहिले दैनिक तीन सयभन्दा बढी भारतीय नम्बरका साना गाडी आइरहेका छन्,' बेलहिया भन्सार कार्यालयका अधिकृत नारायण प्रसाद भण्डारीले भने।
त्यस्तै भारतीय तीर्थारू र पर्यटक बोकेर दैनिक एक दर्जन बढी ठूला बस भित्रिन्छन्।
भन्सार कार्यालयले उपचार तथा किनमेलका लागि बिहान नेपाल आएर साँझ भारत फर्किने गाडीलाई निःशुल्क भन्सार पास उपलब्ध गराउँछ। एक वा योभन्दा धेरै ३० दिनसम्म घुम्न/बस्न चाहनेले दैनिक ६ सय रुपैयाँ शुल्क लिएर अस्थायी पैठारी सुविधा लिन सक्छन्।
'यो साल कात्तिक र मंसिर दुई महिनामा १९ हजार वटा साना गाडीले दैनिक ६ सय रूपैयाँ अस्थायी पैठारी शुल्क तिरेर नेपाल प्रवेश गरे,' भण्डारीले जानकारी दिए।
तर सीमानाकामा प्रक्रियागत झमेला र हैरानी भएको पर्यटकहरूको गुनासो छ।
उनीहरूका अनुसार बेलहियाको अध्यागमन कार्यालयमा नेपाल प्रवेशका लागि प्रवेशाज्ञा लिन सहज छैन। ठाउँ ठाउँमा हुने जाँचले दिक्क बनाउँछ। सवारी साधन लिएर घुम्न आउने भारतीय पर्यटक घन्टौंसम्म भन्सार कार्यालयमा लाइन लागेर सेवा लिन बाध्य छन्।
गोरखपुरबाट आएका नीतिन चतुर्वेदीले भन्सार कार्यालयमै तीन-चार ठाउँमा लाइन लाग्नुपर्दा तीन-चार घन्टा बितेको बताए।
‘फोटोकपी गर्नेदेखि भन्सार प्रज्ञापन पत्र लिन, बैंकमा राजस्व बुझाउन र यातायातको पटके पासका लागि अलग अलग लाइन लाग्नुपर्छ,' उनले भने, 'नेपाल सुन्दर छ तर भन्सारमा हुने सास्तीले चाहना नै हराएर जाने रहेछ।'
अहिले भारतबाट नेपाल घुम्न आउनेको संख्या बढेकाले सीमानाकाको व्यवस्थापन सुधार गर्नुपर्ने उनको सुझाव छ। सबै कागजात एकै ठाउँमा बनाउन मिल्ने भए आफूजस्तै अन्य पर्यटकलाई पनि सहज हुने उनले बताए।
बेलहिया नाकाबाटै जाँच सुरू हुन्छ। भन्सार पास र यातायात कार्यालयमा पटके पासका लागि लाइन लाग्नुपर्छ। यसपछि बाइपासमा प्रहरीले जाँच गर्छ। फेरि डन्डा चेकपोस्टमा सशस्त्र प्रहरीको जाँच हुन्छ। त्यसपछि बुटवल, पाल्पा हुँदै पोखरा पुग्दासम्म भारतीयहरूले एक दर्जन बढी स्थानमा कागजपत्र देखाउँदै जानुपर्ने भएकाले हैरान भएको उनको गुनासो छ।
कागजपत्र बनाइदिन्छु भनेर भन्सार वरपर डुल्ने बिचौलियाहरूबाट ठगिने गरेको पनि नीतिनले बताए।
अर्कातिर यहाँ अहिले भौतिक संरचनाको अवस्था पनि अस्तव्यस्त छ। प्रवेशद्वारको निर्माण अपुरो छ, भन्सार कार्यालय भत्किएको छ। बाइपासदेखि बुटवलसम्मको सडक बनिसके पनि बेलहिया नाकातर्फको ७५० मिटर १३ वर्षदेखि अलपत्र छ।
भन्सार कार्यालयको पुरानो भवन भत्किएपछि घण्टौं यात्रा गरेर नेपाल छिरेका पर्यटकका लागि शौचालय समेत अभाव भएको छ। बेलहिया नाकामा खोलिएको पर्यटक सूचना केन्द्र नाम मात्रको रहेको पर्यटन व्यवसायीको भनाइ छ। सूचना केन्द्रमा केहीबेर विश्राम गर्ने, सूचना बोर्ड हेर्ने र नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी दिने कुनै व्यवस्था छैन।
सिद्धार्थ होटल संघ नेपाल (सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ भारतबाट उत्साह बोकेर आउने पर्यटकलाई सीमानाकाको दृश्यले हतोत्साहित र निराश बनाउने बताउँछन्।
‘भोकै, प्यासै घण्टौं सीमानाकामा लाइन बसेर आउने पर्यटकले नेपालको कस्तो सन्देश लिएर जाला,’ उनले भने।
पुरानो भवन भत्किएपछि केही अस्तव्यस्त देखिए पनि कार्यालयबाट हुने सेवा भने छिटोछरितो बनाउने प्रयास गरिएको बेलहिया भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।