नेपाल आयल निगमले शनिबारदेखि पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको छ।
पछिल्लो समय निगमले लगातार पेट्रोलियम पदार्थको भाउ घटाइरहेको छ।
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार तेलको भाउ तोक्छ। खुद पेट्रोलियम आयात गर्ने भारतले आफै भने अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार तेलको भाउ समायोजन गर्छ। जसको असर केही समयपछि नेपालमा पनि पर्छ।
कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ माग र आपूर्तिका आधारमा बजारले निर्धारण गर्छ। तर पनि साउदी अरेबिया सहितको तेल निर्यातकको संगठन ओपेकले उत्पादनमा थपघट गरेर भाउ प्रभावित गर्न खोज्छ। ओपेक र रूससहित केही अन्य राष्ट्र (ओपेक प्लस) ले छलफल गरेर आफूले चाहेको हाराहारीमा भाउ ल्याएर स्थिर राख्न उत्पादनको कोटा निर्धारण गर्छन्। र, त्यसै अनुसार उत्पादन गर्छन्।
सबभन्दा धेरै मात्रा र कम लागतमा तेल उत्पादन गर्न सक्ने भएकाले ओपेक प्लसमा साउदी अरेबियाको वर्चस्व चल्छ। अरू उत्पादकभन्दा धेरै अतिरिक्त क्षमता र कम लागतका कारण सस्तो भाउमा बेच्दा पनि फाइदा हुने भएकाले साउदी अरेबियाले चाहिएका बेलामा तुरून्तै उत्पादन ह्वात्तै बढाउन सक्छ।
साउदी अरेबियाको चाहनामा मात्र होइन, बजार भाउ, मागको अवस्था र सदस्य राष्ट्रहरूको सामूहिक स्वार्थ अनुसार ओपेक प्लस सदस्यहरूले सहमति गरेर उत्पादनको कोटा निर्धारण गर्छन्। त्यस्तै माग बढी र थोरै भए अनुसार मात्र होइन, आफूले चाहेको भाउका लागि पनि निर्धारण गर्छन्।
बजार भाउ अलि कम छ भन्ने लाग्यो भने भाउ बढाउन उत्पादन कटौती गर्छन्। भाउ अलि धेरै नै भयो र त्यसले माग घटाउन सक्छ भन्ने लाग्यो वा आफूलाई तेलबाट अलि धेरै आम्दानी चाहिएको छ भने उत्पादन बढाउँछन्।
अहिलेको अवस्थामा उनीहरू कच्चा तेलको भाउ प्रतिब्यारेल ९० डलर हाराहारीमा राख्न खोजिरहेको देखिन्छ। तर पछिल्ला केही साता यो ८५ डलरको हाराहारीमा रह्यो। मे महिनामा त ८२ डलर आसपास रह्यो। यो समाचार तयार पार्दै गर्दा ८० डलर छ।
तेलको भाउ बढाउन मार्चमा ओपेक प्लसले प्रतिदिन झन्डै २२ लाख ब्यारेल उत्पादन अझ घटाउने निर्णय गरेको थियो। त्यसअघि नै उनीहरूले सन् २०२३ को तुलनामा २०२४ मा, प्रतिदिन ३७ लाख ब्यारेल उत्पादन घटाउने निर्णय गरिसकेका थिए।
तर उनीहरूले चाहेजस्तो भाउ बढेको छैन। यसको मुख्य कारण उनीहरूले उत्पादन घटाउने निर्णय गरे पनि भने नघटाउनु हो।
अहिले पनि उत्पादन सन् २०२३ को अन्त्यकै हाराहारीमा छ। द इकोनोमिस्टका अनुसार पछिल्ला दुई वर्षमा ओपेक प्लस सदस्यले निर्धारण गरेको कोटाभन्दा केही कम उत्पादन गर्ने गरेकामा २०२४ को सुरूबाट भने कोटाभन्दा बढी उत्पादन गरिरहेका छन्।
इराक र कजाखस्तानले सदाझैं कोटाभन्दा बढी उत्पादन गरिरहेका छन्। युक्रेनसँग युद्ध गर्न पैसाको खोला बगाइरहेको रूसले पनि बढाएको छ। अझ ओपेक प्लसको नेता साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले समेत अहिले कोटाभन्दा बढी उत्पादन गरिरहेको मानिन्छ।
इरान-इसराइलबीच तत्काल युद्ध नहुने भएकाले पनि तेलको भाउ घटेको हो। त्यस्तै चीनमा माग कम भएकाले र ओपेक प्लस बाहेकका देशले उत्पादन नघटाएकाले पनि भाउ कम भएको हो।
ओपेक प्लस बाहेकका देशले तेल उत्पादनको आधा जसो हिस्सा ओगट्छन्। अमेरिका, क्यानडा लगायत ओपेक प्लस बाहेकका देशले ओपेकको जस्तो सामूहिक रूपमा नभएर आआफ्नै स्वार्थ र अनुकूलता अनुसार उत्पादन गर्छन्।
अमेरिकाले पछिल्ला दशकमा तेलको घरेलु माग आफै पूरा गरेर केही निर्यात समेत गरिरहेको थियो। अमेरिका तेलको ठूलो बजार हो। तर त्यहाँ समेत केही समययता मागमा ह्रास आएको छ। भाउ नबढ्नुको कारण यो पनि हो।
यो समाचार तयार पार्दासम्म उत्पादनको नयाँ कोटा निर्धारण गर्न ओपेक प्लसको बैठक साउदी अरेबियाको राजधानी रियाधमा बसिरहेको छ। यो बैठकले उत्पादन अझै घटाउने निर्णय गर्ने अपेक्षा गरिएको छ।
ओपेक प्लसले निर्धारण गरे अनुसार उत्पादन घटाउँछन् कि घटाउँदैनन्, ओपेक प्लस बाहेकका देशले कति उत्पादन गर्छन्, अनि चीन, अमेरिका लगायत धेरै खपत हुने देशमा माग घट्छ कि बढ्छ भन्ने कुराले आगामी दिनमा तेलको भाउ निर्धारण गर्ने छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)