नेपालमा अवैध रहेको कमोडिटी कारोबार गरेर सर्वसाधारण ठगी गरेको आरोपमा ४१ जनाविरूद्ध मुद्दा परेको छ।
अवैध कारोबार गरेर सर्वसाधारण ठगी गरेको भन्दै ४ जना पक्राउ समेत परेको अवस्थामा ६८ दिनपछि काठमाडौं जिल्ला अदालतले एक जनलाई ३ लाख धरौटीमा रिहाइ र अन्य ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको छ।
कमोडिटी कारोबारबारे काठमाडौं जिल्ला अदालतमा शुक्रबार भएको थुनछेक बहसपछि ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठकी पत्नी कमला श्रेष्ठलाई ३ लाख रुपैयाँ धरौटीमा रिहाइ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।
कमोडिटी कारोबारको नाममा ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसरले पुस महिनामा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रणसहित ४ जनालाई पक्राउ गरेको थियो।
सोमबारको थुनछेक बहसपछि तीन जनालाई पुर्पक्षको लागि कारागार चलान र एक जनालाई धरौटीमा रिहाइ गरिएको हो।
'एक जनलाई कसुरको भागीदार भएको देखिए पनि बाहिर बसेर तारेखमा आउने गरी धरौटीमा छोडिएको छ ३ जनालाई थुनामा राखिएको छ अन्यलाई भने मुद्दामा भाग लिन वारेन्ट जारी गरिने छ' पीडितको तर्फबाट बहस गरेका अधिवक्ता तुलसीराम तिमिल्सिनाले भने।
उनीहरुले सेयर बजारमा लगानी डुबेका लगानीकर्तालाई उठाउन सहयोग गर्ने भन्दै प्रोत्साहित गरेको गुनासो पीडितको छ।
पीडितको गुनासोपछि प्रहरीले गरेको अनुसन्धानबाट ४७ जना कारोबारी देखिएको र त्यसमध्ये ४१ जनाको ठेगाना खुलेको भन्दै ४१ जनाविरूद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको हो।
उनीहरूमाथि प्रहरीले ठगी संगठित अपराध ऐन-२०७० अन्तर्गत मुद्दा चलाएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइ मुद्दा अघि बढाएको हो।
प्रहरी अनुसन्धानबाट विभिन्न बैंकमार्फत कमोडिटीको काममा ७ अर्ब ३८ करोड रुपैयाँको कारोबार गरेको खुलेको र ३ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेको देखिएको छ ।
नेपालमा कारोबारको अनुमति नरहेको कमोडिटी कारोबार वस्तुको निश्चित मूल्य निर्धारण गरी विनिमय गर्ने प्रक्रिया हो।
विभिन्न भौतिक वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सम्झौतापत्रको कारोबार गर्ने प्रणाली कमोडिटी बजार हो।
यसको कारोबारमा मुख्यतया दुई प्रकारबाट कारोबार राफसाफ गरिन्छ। जसअनुसार कारोबार गरिरहेको वस्तु निश्चित अवधिपछि भौतिक रूपमा प्राप्त गर्ने गरी वा नगदमा मात्रै राफसाफ गर्ने व्यवस्था हुन्छ।
बजार सूचकहरूको पूर्वानुमानको आधारमा पनि यहाँ कारोबार हुने गर्छ। यो एउटा वस्तु विनिमय प्रक्रिया हो।
वस्तु विनिमय बजारमा पनि क्रेता र बिक्रेताहरू हुन्छन्। जसमा क्रेता र बिक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी वस्तुको करार गरिन्छ।
यो प्रक्रियामा अन्तर्राष्ट्रिय रूपमा कमोडिटी कारोबार गरिए पनि नेपालमा भने कुनै पनि कम्पनीले कारोबारको लागि अनुमति नलिएकोमा अवैधानिक रूपमा कारोबार हुने गरेको खुलेको हो।