राजधानीमा ढुङ्गा गिट्टी अभाव

ग्राभेल गर्न नपाएपछि मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डो पुर्न समेत समस्या


साउन लागेसँगै राजधानीमा ढुङ्गा गिट्टी अभाव भएको छ। यसले गर्दा घर बनाउनेदेखि ठूला परियोजनासमेत प्रभावित भएका छन्।

ढुङ्गा गिट्टीको अभावकै कारण मेलम्ची खानेपानी आयोजनाले बनाएको बनाएका खाल्डा पुर्न समस्या परेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले सेतोपाटीलाई बताए।

‘हामीलाई अहिले मुख्य समस्या ग्राभेल गर्न ढुंगा गिट्टीको अभाव भइरहेको छ’, खत्रीले भने, ‘भने जति ढुंगा गिटी नपाउँदा चावहिल क्षेत्रमा त दुई दिन कामै रोकियो।’

गिट्टी नपाउँदा आयोजना मात्र नभई निमार्ण क्षेत्रसमेत प्रभावित भएको छ। बिगत केही समयदेखि गिट्टीको अभावले आफूहरूको काम समेत प्रभावित भएको आशिष निमार्ण सेवाका लेखा प्रमुख बाबुराम रेगमीले जानकारी दिए।

‘ठूला निर्माण ब्यवसायीलाई सटेज भएर मूल्यमा फरक परेको चाही छैन तर क्रसरवालाहरूको स्टक मालसमेत सकिँदा काममा बाधा भने पुगेको छ,’ रेग्मीले सेतोपाटीसँग भने।

गिट्टीको अभावमा आफूहरुले माग धान्नसमेत नसकेको ललितपुरका निर्माण सामाग्री ब्यवसायी दिपक तिमल्सिना बताउँछन्। ‘सामान्य समयमा सजिलै दैनिक रुपमा गिट्टी ल्याउन सकिन्थ्यो भने अहिले २ दिनमा १ पटक पालो आउछ,’ उनले गुनासो गरे।

अहिले नेपालको अधिकांश क्रसर नचलेको कारणले गिट्टीको अभाव भएको टिकाभैरवस्थित कुमार कंक्रिट उद्योगका म्यानेजर विकास देसारको भनाई छ।

वर्षातको मौसममा क्रसर चलाउन नसकिने र भएको स्टक गिट्टी पनि ढुवानी गर्न मुश्किल परेकाले बजारमा गिट्टीको अभाव भएको हुनसक्ने उनी बताउँछन्। अभावको कारण गिट्टीको मूल्य प्रति टिपर २ हजारदेखि२५ सयसम्म बढेको उनले जानकारी दिए।

नयाँ आर्थिक वर्षसँगै नविकरण लगायतका सरकारी कामलेसमेत उत्पादन प्रभावित भएको देसारले बताए।

‘यो मौसममा वर्षेनी गिट्टी सटेज हुन्छ र भदौ लागेपछि फेरि आफैं सहज हुन्छ’ उनले सेतोपाटीसँग भने।

केहि दिन यता  ढुङ्गा, गिट्टी पाउँदै नपाउने र पाए पनि पहिलेको भन्दा महंगो पर्ने घर बनाईरहेकाको अनुभव छ। अभावको मौका छोपी ब्यापारीहरूले कालो बजारीसेत गर्ने गरेको उनीहरूले आरोप लगाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.