पछिल्लो आन्दोलन क्रममा तोडफोड, आगजनी र लुटपाटबाट प्रभावित भाटभटेनी सुपर स्टोरका १६ वटा शाखा शनिबारबाट पुनः सञ्चालनमा आएका छन्।
यसअघि देशभरका धेरैजसो स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो।
भाटभटेनी व्यवस्थापनका अनुसार काठमाडौं उपत्यकाभित्र ९ र उपत्यकाबाहिर ७ गरी कुल १६ वटा स्टोर शनिबारबाट सञ्चालनमा आएका हुन्। यी १६ मध्ये सातवटामा क्षति भएको थिएन।
भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, वर्ल्ड ट्रेड सेन्टर, पुल्चोक, कलंकी, रातोपुल र बालाजु शाखाबाट सेवा पुन: सुरू भएको छ।
त्यस्तै, उपत्यका बाहिरका स्टोरमध्ये नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा सेवा सुरू भएको छ।
मुख्य कार्यालयसहित भाटभटेनीका २८ स्टोरमध्ये १२ वटामा आगजनी र ९ वटामा तोडफोड भएको थियो। सात वटामा भने क्षति भएको थिएन।
आगजनीबाट पूर्ण रूपमा प्रभावित स्टोरहरु भने तत्कालका लागि बन्द नै रहने छन्।
भाटभटेनीले आफ्ना ग्राहकलाई धैर्य र निरन्तर सहयोगका लागि धन्यवाद दिँदै 'हामी फेरि उठ्नेछौं' भन्ने सन्देश दिएको छ।