नेपालको अग्रणी एआई कम्पनी टिङटिङले आफ्नो नयाँ उत्पादन 'टिङटिङ कनेक्ट' आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
यो नेपालकै पहिलो एआई-नेटिभ कल सेन्टर सोलुसन हो, जसले संस्थागत सञ्चारको पुरानो शैलीलाई विस्थापित गर्दै शून्य लागतमा (जिरो कस्ट) ग्राहक संवाद व्यवस्थापन गर्ने नयाँ युगको सुरुवात गरेको छ।
दशकौँदेखि कल सेन्टर उद्योग सिट संख्या, लाइसेन्स र थप सुविधाहरूमा (एड-अन्स) सीमित थियो।
पुराना प्लेटफर्महरूले पुराना प्रणालीमा एआईका ड्यासबोर्डहरू थप्ने काम गरिरहेका बेला, 'टिङटिङ कनेक्ट' नेपालमै पहिलो पटक एआईलाई आधार मानेर निर्माण गरिएको हो। यस प्रणालीमा एआई कुनै 'प्लग-इन' मात्र नभई यसको मेरुदण्ड (इन्फ्रास्ट्रक्चर) हो, जहाँ इन्टेलिजेन्स नै पूर्वाधारको जग हो।
यस प्रविधिले हरेक संवादलाई स्वचालित रूपमा रेकर्ड गर्ने, वास्तविक समयमा ट्रान्सक्राइब गर्ने र तत्कालै भावना (सेन्टिमेन्ट) विश्लेषण गर्ने क्षमता राख्छ।
परम्परागत प्रणालीमा केवल २ प्रतिशत कलहरूको मात्र म्यानुअल गुणस्तर जाँच हुने गरेकोमा, टिङटिङ कनेक्टले १०० प्रतिशत कुराकानीको विश्लेषण गरी कार्यसम्पादनमा पूर्ण स्पष्टता प्रदान गर्दछ।
यस सार्वजनिक कार्यक्रमको मुख्य आकर्षण 'द बक्स' रहेको छ।
यो टिङटिङ कनेक्टका लागि विशेष रूपमा निर्माण गरिएको हार्डवेयर युनिट हो। यसको प्रयोगले कम्पनीको सम्पूर्ण संवाद र डाटाहरू आफ्नै नेटवर्कभित्र सुरक्षित रहन्छन्।
कुनै बाह्य निर्भरता बिना नै एआई प्रशोधन हुने भएकाले बैंक तथा सरकारी निकायहरूका लागि यो अत्यन्तै सुरक्षित र भरपर्दो मानिएको छ। यसले नेपालको वित्तीय र सरकारी क्षेत्रका लागि 'सभरेन एआई' को दिशामा एक क्रान्तिकारी कदम चालेको छ।
परम्परागत प्लेटफर्महरूले प्रति कर्मचारी (सिट काउन्ट) शुल्क लिने गर्दछन्, तर टिङटिङ कनेक्टले 'अनलिमिटेड एक्सटेन्सन' (अनलिमिटेड एक्सटेन्सन) को सुविधा ल्याएको छ।
अब व्यवसायहरूले लाइसेन्सको महँगो शुल्क तिर्नु पर्दैन, बरु आफ्नो पूर्वाधारको आवश्यकता अनुसार व्यवसाय विस्तार गर्न सक्नेछन्।
'यो केवल एउटा अवधारणा मात्र होइन, यो सञ्चालनमा आइसकेको प्रविधि हो,' कम्पनीले सार्वजनिक कार्यक्रममा जानकारी दियो।