काठमाडौंमा अचेल चीन, जापान, कोरिया लगायत एसियाली देशका परिकार पाइने रेस्टुरेन्ट बढेका छन्। त्यस्ता रेस्टुरेन्ट प्राय: स्टाइलिस र महँगा हुन्छन्।
तर के तपाईंले काठमाडौंको लोकल स्टाइलमा खोलिएको अरूभन्दा सस्तो चाइनिज रेस्टुरेन्ट देख्नुभएको छ?
पाटनढोकाको 'फरेभर फुड' झट्ट हेर्दा लोकल रेस्टुरेन्टजस्तै देखिन्छ। तर चिनियाँ अक्षर र चिनियाँ परिकारका फोटाले यो कस्तो खालको रेस्टुरेन्ट हो भन्ने खुल्दुली जगाउँछ।
म यही खुल्दुली मेट्न पहिलोपटक त्यहाँ छिरेकी थिएँ।
दुई वर्षअघि खुलेको यो रेस्टुरेन्टका सञ्चालक केवल बस्नेत हुन्। उनी पहिले एउटा होटलमा काम गर्थे। त्यहाँ आउने चिनियाँहरूको संगतबाट उनले चिनियाँ परिकार बनाउन सिके। यसमा उनको रूचि यति बढ्यो, उनले डेढ महिनाको तालिम नै लिए।
उनलाई यो तालिम त्यति बेला काम लाग्यो, जब उनी काम गर्ने होटल बन्द भयो।
होटल बन्द भएपछि उनले अर्को ठाउँमा जागिर खोजेनन्, बरू चिनियाँ परिकार बनाउने सीप प्रयोग गरेर आफ्नै रेस्टुरेन्ट खोल्ने निधो गरे।

'काठमाडौंमा चाइनिज रेस्टुरेन्ट त खुब खुलेका थिए, तर ती सबै महँगा थिए। म भने कम मूल्यमा नेपालीहरूलाई चाइनिज खानाको स्वाद चखाउन चाहन्थेँ,' ४० वर्षीय केवलले भने, 'करिब डेढ वर्ष त ठाउँ खोज्नै लाग्यो। पेप्सीकोला, बानेश्वर लगायत धेरै ठाउँ चहारेँ।'
आखिरमा पाटनढोका उनलाई सबभन्दा उपयुक्त लाग्यो। नेपालीसहित पर्यटक पनि धेरै आउने हुँदा यहाँ चाइनिज रेस्टुरेन्ट राम्रो चल्छ भन्ने उनले सोचे।
यो रेस्टुरेन्टमा २० लाख रूपैयाँभन्दा बढी लगानी गरेको उनी बताउँछन्। आधा रकम बैंकबाट ऋण लिएका थिए भने आधा आफ्नै बचत उपयोग गरेका थिए।
'सुरूमै २० लाख लगानी गरेको होइन। दुई–चारवटा कुर्सी–टेबल राखेर सामान्य ढंगमा सुरू गरेको थिएँ। ग्राहक बढ्दै गएपछि लगानी थप्दै लगेँ,' उनले भने।
उनको रेस्टुरेन्ट अहिले पनि सामान्य नै छ। खासै सजावट छैन। काठमाडौंको ठमेल वा ललितपुरको झम्सिखेलतिर देखिने महँगा चिनियाँ रेस्टुरेन्टको दाँजोमा अति सामान्य छ यो ठाउँ। केही फुड भ्लगरले भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि ग्राहकहरू आउने क्रम बढेको उनी बताउँछन्।
वरपर अफिस र कलेज भएकाले पनि कम समयमै रेस्टुरेन्टले चर्चा पाएको केवलको भनाइ छ। कहिलेकाहीँ यहाँ बस्ने ठाउँ नपाएर त्यत्तिकै फर्किनुपर्छ।
यहाँ चाइनिज भातसँगै तोफु, चिकेन र बफ करीहरू पाइन्छन्। चाइचिज सलाद, चाइनिज मःम, मिनी हटपट पनि लोकप्रिय छन्। सबभन्दा चर्चित चाहिँ 'ओयल नुडल्स' हो। यसका लागि चामलको पिठो बनाएर त्यसलाई ठुल्ठूलो चाउचाउको आकारमा काटिन्छ। त्यसपछि चाइनिज स्वादको तेलमा चाइनिज मसलाहरू राखेर झान्ने गरिन्छ।
'हामीकहाँ पाइने ओयल नुडल्स ग्राहकले एकदमै मन पराएका छन्,' उनले भने, 'धेरैजसो ग्राहक यही खान आउँछन्।'
चाइनिज रेस्टुरेन्ट भए पनि यहाँ अन्य परिकार पनि पाइन्छन्। बिहानको नास्तामा पाउरोटी, उसिनेको अन्डा, अम्लेट, पकौडा, स्यान्डविच पाइन्छन्। त्यस्तै, चाउमिन, मःम, किमा नुडल्स, कट्टी रोल लगायत चिकेन आइटम, बफ आइटम, भुटेको भात, लाफिङ र अन्य खाजा पनि पाइन्छन्।
यहाँको मूल्य पनि अन्य रेस्टुरेन्टको दाँजोमा सस्तो छ। कालो चियाको २० रूपैयाँ र दूध चियाको ३० रूपैयाँ पर्छ। खानेकुरा ३० बाट सुरू भएर ६०० रूपैयाँसम्मका छन्।
यहाँ केवलबाहेक तीन जना कर्मचारी काम गर्छन्। उनले सबै कर्मचारीलाई चाइनिज खाना बनाउने तालिम दिएका छन्। एक वर्षदेखि उनकी श्रीमतीले पनि यहीँ काम गर्न थालेकी छन्।
'हामी नेपालीहरूको आफ्नै टेस्ट (स्वाद) हुन्छ। हामीलाई चाइनिज खाना त मन पर्छ, तर त्यो पनि आफ्नै लोकल स्वादमा खान चाहन्छौं,' उनले भने, 'त्यही भएर म यहाँ लोकल स्टाइलमा चाइनिज परिकार बनाउँछु। यसमा चाइनिज र नेपाली स्वादको मिश्रण हुन्छ।'

यो रेस्टुरेन्ट बिहान ७ देखि राति ९ बजेसम्म खुल्छ। बिहानको नास्तादेखि रातिको खाना खाने ग्राहकसमेत आउँछन्। त्यसको निम्ति केवल र उनका कर्मचारी बिहान ६ बजेदेखि नै काममा व्यस्त हुन्छन्। बढी भिड लाग्ने दिउँसो र राति हो।
'हाम्रा मुख्य ग्राहक कलेजका विद्यार्थी, अफिसका कर्मचारी र वरपरका स्थानीय हुन्,' उनले भने, 'शनिबार वा विदाको दिनभन्दा अरू दिन बढी भिड लाग्छ।'
उनले अगाडि भने, 'प्राय: मकहाँ नियमित ग्राहक बढी आउँछन्। एकचोटि आउनेहरू बारम्बार आइरहन्छन्।'
पर्यटन केन्द्र भएकाले उनीकहाँ विदेशीहरू पनि खान आउँछन्। चिनियाँ पर्यटक पनि धेरैचोटि आएका छन्। उनीहरूको मुखबाट स्वादको तारिफ सुन्दा केवल दंग पर्छन्।
पछिल्ला दुई वर्षमा रेस्टुरेन्ट व्यापार राम्रो हुँदै गएकाले अर्को ठाउँमा पनि विस्तार गर्ने सोच उनले बनाएका छन्।
'मैले रेस्टुरेन्टलाई नै व्यावसायिक रूपमा अपनाउने निधो गरेर हात हालेको हुँ, त्यसैले यसको नाम नै फरेभर फुड राखेँ,' उनले भने।
***

