भदौ २४ गते राजेन्द्र बजगाईं दिनभर बालुवाटारस्थित आफ्नो होटल 'वर्णवास' मै थिए।
निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्दै र जलाउँदै प्रदर्शनकारीहरू विभिन्न होटल प्रवेश गर्न थालेका थिए। नजिकै 'हिल्टन' होटलमा आगो लागिसकेको थियो।
उनको मनमा पनि त्रास बढिरहेको थियो — कतै प्रदर्शनकारी यहाँ पनि आइपुग्ने हुन् कि!
यही सोच्दासोच्दै उनी अपराह्न ४ बजेतिर होटलबाट निस्किए।
निस्किएको आधा घन्टा भएको थियो होला, प्रदर्शनकारी होटल प्रवेश गरे र तोडफोड गर्न थाले। होटलको रेस्टुरेन्टमा रहेको मदिरा तथा अन्य खानेकुरा खाँदै वरपरका सोफा र टेबल लडाउन थाले।
होटलभित्र २५ जना कर्मचारी थिए। होटलमा बसेका केही पर्यटक अघिल्लै दिन बाहिरिइसकेका थिए।
'भदौ २३ को घटनापछि कर्फ्यु जारी भएकाले धेरै पर्यटक गइसकेका थिए,' राजेन्द्रले भने, 'भदौ २४ का दिन पनि चार जना पर्यटक थिए। उनीहरूलाई होटलका साथीहरूले बाहिर लगे।'
राजेन्द्रका अनुसार ती पर्यटकलाई पनि उनले बिहानै बाहिर पठाउन खोजेका थिए। नमिलेपछि त्यहीँ राखे। आन्दोलनकारी आएपछि होटल पछाडिबाट सुटकेस फाल्दै पर्यटकलाई बाहिर निकालेको उनले बताए।
त्यसपछि वर्णवासमा प्रदर्शनकारीले आगजनी गरिहाले। साढे चार बजेदेखि आगो बलिरह्यो। अन्ततः आफ्ना भाइ र छिमेकीको अग्रसरतामा राती ११ बजे बल्ल आगो निभाउन सकेको उनले बताए।
'रातभर आगो बलिरहेकै भए सबै सखाप हुन्थ्यो,' उनले भने, 'आगो निभाएकाले केही त जोगाउन सकियो।'
आगोले वर्णवासको पहिलो तलामा रहेको जिम, साउना, स्पा, क्याफे, किचन सबै क्षति भएको छ। धेरै कोठा जलेका छन्।
होटलको सबभन्दा माथि (छत) मा भएको बार, किचन, रेस्टुरेन्ट र स्विमिङ पुल भने सुरक्षित छ। पाँचौं, छैटौं र सातौं तला रंगरोगन गरेर सञ्चालनमा ल्याउन सकिन्छ। बाँकी भने सबै पूनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए।
'सबै बनाउन अब ८० करोड रूपैयाँभन्दा बढी लाग्ने अनुमान छ,' उनले भने, 'अफवाह फैलाएर जलाइदिए। एक भ्रष्ट मन्त्रीको होटल भन्दै मेरो होटल जलाएको भिडिओ टिकटकमा पनि देखेँ।'

अहिले उनी जलेको होटल सरसफाइ गरिरहेका छन्। मर्मत कहिलेदेखि सुरू गर्ने र वर्णवास कहिलेदेखि सञ्चालनमा ल्याउने भन्नेमा उनी आफै अन्योल छन्। तर सबै काम सकेर पूर्ण सञ्चालनमा ल्याउन एक वर्षभन्दा बढी समय लाग्ने उनको अनुमान छ।
संग्रहालयसहितको लक्जरियस बुटिक होटल वर्णवास २०८० माघबाट सञ्चालनमा आएको हो।
राजेन्द्र तीन दशकभन्दा बढी समयदेखि पर्यटन व्यवसायमा छन्। सानै उमेरमा जन्मथलो छाडेर हिँडेका उनी पर्यटन क्षेत्रमा रहेर धेरै अनुभव बटुलेको बताउँछन्।
उनी २०५१ सालमा काठमाडौं, ठमेलको एक गेस्ट हाउसमा कामदारका रूपमा प्रवेश गरेर पर्यटन क्षेत्रमा आएका हुन्। होटल व्यवसाय उनका लागि नौलो थियो। नयाँ कुरा सिक्ने दौडमा उनले गेस्ट हाउसमा करिब चार वर्ष काम गरे।
यसपछि आफ्नै लगानीमा पर्वतीय पर्यटनतिर लागे। व्यवसायको सिलसिलामा सन् २०११ मा विदेशी लगानी भित्र्याएर भैरहवामा 'टाइगर प्यालेस' होटलका साझेदार भए। तर विभिन्न कारणले टाइगर प्यालेसबाट बाहिरिए। यसपछि उनी एकल लगानीमा स्तरीय होटल चलाउने निर्णयमा पुगे।
उनले भने, 'त्यति ठूलो होटल टाइगर प्यालेसबाट निस्किनुपर्यो। यसपछि सानै होस् तर राम्रो होटल बनाएरै छोड्छु भन्ने सोच बनाएँ।'
वर्णवास होटलको सोच दस वर्षअघि फुरेको थियो। उनी शाह वंशीय परिवारका एक सदस्यसँग चिया गफमा थिए। गफमा चार जात छत्तीस वर्णको कुरा निस्कियो। होटल खोल्ने तयारीमा रहेका उनको दिमागले 'वर्ण' समात्यो। 'जात र वर्ण' को होटल कस्तो बन्ला भन्ने कुरामा उनको दिमाग चल्न थाल्यो।
उनको दिमागमा नाम जुर्यो — वर्णवास — अनेक जातजातिका मानिसहरू बस्ने थलो।

दुई रोपनी जमिनमा फैलिएको यो होटल २०७६ सालदेखि बनाउन थालिएको थियो। तीन वर्षमा सक्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण समय लम्बियो।
कुल ४८ कोठाको यो होटल राजेन्द्रले एक अर्ब ६५ करोड रूपैयाँ लगानीमा बनाएका थिए। यहाँ विभिन्न समुदायका संस्कृति झल्किने कला र संग्रहालयसहित नेपाल चिनाउने सामग्री राखिएको थियो।
साढे नौ तलाको होटल तीन तहमा विभाजित थियो। ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँथ्यो। तीनै तहमा मूल आदिवासी समुदायका वेशभूषा, रहनसहन र संस्कृति झल्काउने सामग्री सजाइएका थिए।
'वर्णवासको मुख्य विशेषता र थिम सबै नस्ट भएको छ। तर हामी हारेका छैनौं। ढिलै भए पनि पुरानै थिममा वर्णवास उठ्नेछ,' राजेन्द्रले भने।
सञ्चालनमा आएको छोटो समयमै वर्णवास पर्यटकको रोजाइमा परेको उनले बताए।
'यस कारण होटलमा प्रायः शत प्रतिशत नै पाहुना भरिभराउ हुन्थे,' उनले भने।
यो सिजनका लागि होटल लगभग बुकिङ भइसकेको थियो। अहिले ती बुकिङ रद्द भएको जानकारी दिनुपरेको छ।
'यसरी होटल जल्दा हस्पिटालिटीसँगै पर्यटकीय क्षेत्रमा ठूलो असर परेको छ। नेपाल सुरक्षित छैन भन्ने सन्देश गएको छ,' राजेन्द्रले भने, 'अब नेपाल सुरक्षित छ, घुम्न जानुपर्छ भन्ने सन्देश पुर्याउन पनि समय लाग्छ।'
.jpg)