खानी तथा खनिज उद्योगहरूको वार्षिक औषत कार्य सञ्चालन दिन २५८ दिन देखिएको छ।
खानी तथा भूगर्भ विभागको एक प्रतिवेदनले खानी तथा खनीज उद्योगहरूमध्ये न्यूनतम १८० देखि अधिकतम ३३० दिनसम्म यस्ता उद्योग सञ्चालन भएको देखाएको छ।
धेरै दिन सञ्चालन हुने उद्योगमा चुनढुंगासँग सम्बन्धित उद्योगहरू छन्। गत वर्ष सञ्चालित ४५ वटा चुन ढुंगा निकाल्ने उद्योगहरूमा अधिकांशको कार्यदिन ३०० भन्दा बढी देखिएको छ।
रत्न केन्द्रित उद्योगहरूको भने कार्यदिन सबभन्दा कम देखिएको छ। रत्न केन्द्रित उद्योगहरूमध्ये दुई वटाले जम्मा १८० दिन काम गरेका छन्।
गत वर्ष जम्मा ६९ वटा खानी उद्योग सञ्चालनमा रहेका थिए। यी उद्योगमध्ये अन्नपूर्ण क्यारिज उद्योगमा ३३० दिन काम भएको छ। यो बागमती प्रदेशको धादिङ जिल्लामा छ। यो उद्योगले दैनिक ९८० टन मात्रै चुनढुंगा उत्खनन गइरहेको छ। यो उद्योगले गत वर्ष ८५ लाख नौ हजार रोयल्टी बुझाएको छ।
त्यस्तै, १२ वटा खानी उद्योग ३०० दिन सञ्चालनमा छन्। यी सबै चुनढुंगासँग सम्बन्धित खानी उद्योग हुन्। २७ वटा उद्योगमा २७० दिन काम भएको छ। २१० दिनदेखि २६५ दिनसम्म कार्यदिन भएका उद्योगको संख्या २५ रहेको छ।
२०० दिनभन्दा कम कार्य दिन भएको उद्योगको संख्या तीन वटा छ। औसतमा यी उद्योग २५८ दिन चलेको देखिन्छ।
खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार पछिल्लो महिनामा उद्योगहरूले काम बढाएका थिए।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षका तीन वटा त्रैमासमा खानी तथा खनिज क्षेत्रको वृद्धिदर ऋणात्मक थियो। जसमा साउनदेखि असोजसम्म ऋणात्मक १.९ प्रतिशत, कात्तिकदेखि पुससम्म ऋणात्मक ५.६ र माघदेखि चैतसम्म ऋणात्मक ०.१ प्रतिशत वृद्धिदर देखिएको थियो। अन्तिम त्रैमास वैशाखदेखि असारसम्म भने ११.५ प्रतिशतको धनात्मक वृद्धिदर देखिएको छ। चालु वर्षको साउनदेखि असोजसम्ममा १५.८ प्रतिशतको वृद्धिदर देखिएको छ।
खानी उद्योगहरूले गत वर्ष ५० करोड ३५ लाख रूपैयाँको रोयल्टी मात्रै बुझाएका छन्। यस्तो रोयल्टीमा चुनढुंगा बाहेकका खानी उद्योगको योगदान नगन्य छ।
यो वर्ष चुनढुंगा केन्द्रित उद्योगहरूले मात्रै ४९ करोड ७८ लाख ८१ हजार २९४ रूपैयाँ रोयल्टी बुझाएका छन्।
सबभन्दा धेरै रोयल्टी बुझाउनेमा सिमेन्ट उद्योग स्वयमले सञ्चालन गरेका उद्योगहरू छन्। ह्वोङ्सी शिवम सिमेन्टले मात्रै सात करोड २४ लाख रूपैयाँ रोयल्टी बुझाएको छ। त्यस्तै सौर्य, मारुती, हुवासीन र पाल्पा सिमेन्ट धेरै रोयल्टी बुझाउनेको सूचीमा छन्।
यी सिमेन्टले चुनढुंगाको रोयल्टी बापत क्रमशः पाँच करोड १६ लाख, चार करोड ३२ लाख, २ करोड ७८ लाख र दुई करोड ३२ लाख रूपैयाँ रोयल्टी बुझाएका छन्। चुन उत्खनन गर्ने उद्योगहरूमध्ये १५ वटा उद्योगले वार्षिक एक करोडभन्दा बढीको रोयल्टी बुझाएको देखिएको छ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीमध्ये संघीय सरकारलाई ५० प्रतिशत र प्रदेश तथा स्थानीय तहलाई समान २५–२५ प्रतिशत बाँडफाँट हुन्छ।हरेक आर्थिक वर्षमा संकलन हुने रोयल्टी अर्को आर्थिक वर्षका लागि बाँडफाँट हुने गरेको छ।
विभागका महानिर्देशक घिमिरे खनिज उद्योगहरूको सम्भावना धेरै भएर पनि एकल उत्पादनमा केन्द्रित भएको कारण उत्पादन मूल्य कम देखिएको छ।
‘हामीले चुनढुंगा सिमेन्टको कच्चा पदार्थको लागि मात्रै प्रयोग गरेका छौं। यसबाट कुखुराको दाना बनाउन, औषधिमा प्रयोग गर्न पनि सकिन्छ। तर हामी बहुउपयोगी नभएको कारण उत्पादन मूल्य न्यून छ, उपयोग बढाउनु पर्छ,’ घिमिरेले भने।
विश्व बैंकको एक प्रतिवेदनअनुसार सम्भावना भएर पनि राष्ट्रिय अर्थतन्त्रमा खानी क्षेत्रको योगदान निकै कम देखाइएको छ।
छिमेकी देश भारतको अर्थतन्त्रमा खानीको योगदान ४.४ प्रतिशत छ। त्यस्तै, चीनमा ७.२, अफगानिस्तानमा १.३,अस्ट्रेलियामा ५.४ र अमेरिकामा २.३ प्रतिशत योगदान छ।
नेपालको कुल अर्थतन्त्रमा खानी क्षेत्रको योगदान ०.५ प्रतिशत मात्रै छ।