काठमाडौंका विष्णु पोखरेल पछिल्लो २३ वर्षदेखि दिगो कृषि र प्रांगारिक कृषि सम्बन्धी अभियानमा छन्।
सन् २००१ देखि २००५ सम्म उनले पर्यावरणीय सेवा केन्द्र भन्ने संस्थामा काम गरे। सन् २००६ यता सेकार्ड नेपाल नामक संस्थामा सक्रिय रहे।
यी दुवै संस्थाले प्रांगारिक कृषि र दिगो कृषिका कार्यक्रमका विषयमा कृषकलाई सचेतना फैलाउने काम गर्छन्। कृषि कर्मका लागि उत्प्रेरणा दिन्छन्।
यो अभियान अन्तर्गत काम गर्दै गर्दा उनले पटक पटक सुनेको एउटा प्रश्न हो — कृषि त गर्ने सर, तर हाम्रो उत्पादन कसले किन्छ?
ती किसानलाई कृषि व्यवसायीसँग चिनाइदिने काम त विष्णुले गर्थे। कतिले चित्त बुझाउँथे, कतिले भएन भन्थे। कहीँ पैसा नदिएको गुनासो, कहीँ सामान राम्रो नपठाएको गुनासो। धेरै ठाउँमा ढुवानीकै समस्या।
'अब भने हामीले यस्तै समस्या सुल्झाउने उद्देश्यले काम थालेका छौं,' उनले भने।
विष्णुले त्यस्ता किसानको कृषि सामग्री आफैं खरिद र बिक्री गर्ने कर्म सुरू गरेका हुन्। उनीजस्तै पाँच कृषि अभियन्ता नयाँ अभियानमा जोडिएका छन्। अब उनीहरू अर्गानिक भेन्चर नेपालका सञ्चालक भएका छन्।
अर्गानिक कृषि भेन्चरले सोमबारबाट काठमाडौंको टोखामा अर्गानिक मार्ट सञ्चालनमा ल्याएको छ। विष्णुसँगै चितवनका चन्द्रप्रसाद अधिकारी, चितवनकै कल्पना न्यौपाने, काठमाडौंका दीपक अधिकारी र रमादेवी धिताल यसमा जोडिएका छन्।
चन्द्रप्रसाद अर्गानिक कृषि उत्पादक हुन्। उनले अहिले चितवनमा अर्गानिक कृषि घर सञ्चालन गरिरहेका छन्। कल्पना कृषि सहकारीहरूसँग हातेमालो गर्दै कृषि कर्ममा छिन्।
दीपक भर्खरै सरकारी सेवाबाट निवृत्त भएका हुन्। उनी सेवामा रहँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत लमजुङ, रसुवा र मनाङमा आयोजना प्रमुख भएर काम गरेका थिए।
रमादेवी कौसीखेती सम्बन्धी जानकार हुन्। उनले काठमाडौंमा कौसी खेती पनि गरेकी छन्।
'सबै जना कृषि क्षेत्रसँग सम्बन्धित भए पनि विगतमा हाम्रो छुट्टाछुट्टै पहिचान थियो,' कृषि व्यवसायमा उच्च मनोबल राख्दै विष्णुले भने, 'यति जनाले हासिल गरेको ज्ञानको उपयोग गर्न पनि हामी यो व्यवसायमा लागेका छौं। आशा छ नमूना काम गर्नेछौं।'
उनले कोदोको नम्किन र सख्खरको लड्डु देखाउँदै भने, 'यो गुल्मीको लोकल सख्खरबाट बनाइएको हो।'
कृषि मार्टमा अहिले अर्गानिक प्रमाणीकरण गरिएका, स्थानीय/रैथाने, विषादीरहित, प्राकृतिक र दुग्ध उत्पादन गरी सयभन्दा बढी कृषि वस्तु तथा उत्पादन बिक्रीमा राखिएको उनले जानकारी दिए।
'हाम्रो योजना किसान र उपभोक्ताको दुरी घटाउने र पहिचान बढाउने हो,' विष्णुले भने, 'हामीले बेच्ने सामानको प्याकेजिङमा आफ्नो कम्पनीको सम्बन्धित कृषि उत्पादन, कम्पनी वा सहकारीको पनि पहिचान खुलाएका छौं।'
यसबाट मूल्य वा अन्य विषयमा उपभोक्ताले जान्न चाहेमा सोझै सम्पर्क गर्न सक्नेछन्।
चितवनको वार र सावा चामल, इलामको चिया र घ्यु, मकवानपुरको मासको दाल, नुवाकोटको समुन्द्र फिनी, रसुवाको गत्लाङ आलु, मुस्ताङको आलु, शिवपुरीको इस्कुस, सिन्धुलीको जुनार, कर्णालीको दाल यहाँका मुख्य सामग्री हुन्। अरू धेरै जिल्ला तथा क्षेत्र विशेषका कृषि उत्पादनहरू पनि पाइन्छन्।
सरकारबाट मान्यता प्राप्त निकायबाट प्रमाणीकरण भएका उत्पादनलाई अर्गानिक उत्पादनका रूपमा बेच्ने विष्णुले बताए।
'हामीले अर्गानिक भनेर बेच्यौं तर भोलि अर्गानिक रहेनछ भने हाम्रो पहिचान गुम्छ। त्यसैले यसमा विशेष ध्यान दिएका छौं,' उनले भने, 'पाँच जिल्ला (काठमाडौं, नुवाकोट, मकवानपुर, धादिङ र चितवन) का उत्पादनमा हाम्रो विशेष निगरानी छ।'
वार्षिक तीन खर्ब रूपैयाँ बराबरको खाद्य आयात हुने देशमा कृषिको अपार सम्भावना देख्छन् उनीहरू।
किसानहरूको 'बजार पाएनौं, कहाँ बेच्ने' जस्ता गुनासा र तीन खर्बको खाद्य आयात हुनु आफैंमा तालमेल मिल्न नसकेको विषय भएको विष्णुले बताए।
अहिले सानो लगानीबाट यो कर्ममा जुटे पनि भविष्यमा नेपाली उत्पादन वृद्धिमा उदाहरणीय बन्ने लक्ष्य उनीहरूको छ।
समान सेयर स्वामित्व भएका उनीहरूले अहिले सबैले दस/दस लाख नगद लगानी गरेका छन्। त्यस्तै ४० लाख बराबरको कृषि तथा ढुवानी सामग्रीसहित लगानी ९० लाख रूपैयाँ पुगेको छ।
नेपालको कृषिको अवरोधक मूल्य असमानता भएको उनीहरूको बुझाइ छ। किसानले उत्पादन लागत समेत नपाउने र उपभोक्ताले आयातित सामानभन्दा महँगो तिर्नुपर्ने अवस्था छ। यसबाट देखिएको समस्या हल गर्ने उनीहरूको प्रयास हो।
यसका लागि कुनै पनि सामानको मूल्य कालीमाटी तरकारी बजारको न्यूनतम मूल्यभन्दा दुई प्रतिशत बढी दिने र उपभोक्तासँग त्यो मूल्यमा १० देखि १५ प्रतिशत मूल्य लिने प्रतिबद्धता उनीहरूको छ।
करिब १० देखि १३ प्रतिशतको नाफाभित्र ढुवानीदेखि अन्य सबै लागत समेट्ने प्रयास पनि छ।
त्यस्तै उनीहरूले पारिश्रमिक र अन्य लागत बाहेक कम्पनीबाट प्रतिफल वितरण नगर्ने नीति लिएका छन्।
'जति प्रतिफल बच्छ, हरेक वर्ष किसानमा लगानी बढाउँछौं। बिउ पुँजी दिएर र बजारको ग्यारेन्टी दिएर किसानलाई प्रोत्साहन गर्छौं,' विष्णुले भने।
अहिले यो मार्ट टोखामा मात्र सञ्चालनमा ल्याइएको छ। काठमाडौंमा निःशुल्क डेलिभरी व्यवस्था छ। हरेक वर्ष कम्तीमा एउटा शाखा बढाउने उनीहरूको लक्ष्य छ।