पशुपन्छीजन्य उत्पादन, मासु र घरपालुवा पशुपन्छीमा नेपाल आत्मनिर्भर उन्मुख देखिएको छ।
भन्सार विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आर्थिक सर्वेक्षणको तथ्यांकले नेपाल पशुपन्छी र यसको उत्पादनमा आत्मनिर्भर बन्दै गएको देखिएको हो।
हामीकहाँ मासुको खपत हरेक वर्ष बढ्दै गएको तथ्यांक छ।
आर्थिक वर्ष २०७०/७१ मा वार्षिक ३० करोड ९ लाख किलो मासु खपत भएको थियो। आर्थिक सर्वेक्षण २०७९ अनुसार (पछिल्लो तथ्यांक अध्यावधिक गरिएको आर्थिक वर्ष २०७८/७९) मा देशमा करिब ५१ करोड २९ लाख किलो मासु खपत भएको छ।
आर्थिक सर्वेक्षण २०७९ अनुसार एक नेपालीलाई औसत १४ केजी मासुको आवश्यकता छ। अहिलेको खपत वार्षिक २१ किलो पुगेको छ। यसरी प्रतिव्यक्ति आवश्यकताभन्दा सात किलो बढी मासु खपत भएको छ।
तर भन्सार विभागको तथ्यांकअनुसार खपत भएको मासुमध्ये झन्डै दुई लाख ८ हजार किलो मासु मात्र आयात भएको छ। अर्थात् खपत मासुमा आयातितको हिस्सा जम्मा ०.०४ प्रतिशत हुन आउँछ। यो फ्रोजन गरिएको तथा मानिसहरूले खानयोग्य विभिन्न प्रकारका मासुको तथ्यांक हो।
आर्थिक वर्ष २०७०/७१ मा आयात भएको मासु तथा पशुपन्छीसँग तुलना गर्ने हो भने पनि गत आर्थिक वर्षमा आधा घटेको छ। ०७०/७१ मा चार लाख आठ हजार ५५१ वटा पशुपन्छी र दुई लाख ८३ हजार केजी मासु आयात भएको छ। जबकी गत आर्थिक वर्षमा दुई लाख सात हजार ९५७ वटा मात्रै पशुपन्छी र ४९ हजार २२३ केजी मात्रै मासु आयात भएको छ।
आर्थिक वर्ष २०७७/७८ को तुलनामा त मासुको आयात ७७ प्रतिशतले घटेको छ।
त्यस्तै घरपालुवा पशुपन्छीको संख्या आर्थिक वर्ष ०७०/७१ मा सात करोड ४५ लाख हाराहारी थियो। आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा नौ करोड ७४ लाख ४५ हजार पुगेको छ।
यसरी आयात भएको मासु र पशुपन्छीको हिस्सा नगन्य भएकाले नेपालमै यसको उत्पादन बढेको देखिन्छ। भन्सार विभाग र कृषि मन्त्रालयको तथ्यांकले पशुपन्छी र यसको उत्पादनमा नेपाल करिब आत्मनिर्भर देखिएको छ।
नेपाल चौपाया संघ भने सरकारी तथ्यांकमा सहमत छैन। संघका अध्यक्ष जीवनराज खतिवडाले नेपालमा खपत घटेको कारण आयातमा कमी आएको दाबी गरे।
'हाम्रो उत्पादन खास बढेको अवस्था छैन। मागमा आएको कमीले आयात घटेको हुनसक्छ,' उनले भने, 'आयातमा आएको कमीकै कारण मासुको मूल्य पनि बढेको छ। उपभोक्ता महँगोमा परेका छन्।'