नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व यसपालि २१औं पटक परिवर्तन हुँदैछ। महासंघको वर्तमान विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष बन्दैछन्। वरिष्ठ उपाध्यक्षसहितका अन्य सबै पदमा निर्वाचन हुनेछ।
यसपालि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूले त्रिपक्षीय प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्।
महासंघका पहिलो अध्यक्ष लोकनाथ जोशीको कार्यकाल २०२४ सालदेखि २०२८ सालसम्म थियो। त्यो बेला चारवर्षे कार्यकाल हुनेमा बीचमा दुईवर्षे भयो। त्यसपछि फेरि तीनवर्षे भएको हो।
५५ वर्षको इतिहास बोकेको महासंघमा अहिलेसम्म लगातार कसैको पनि नेतृत्व दोहोरिएको छैन। महासंघको तेस्रो अध्यक्ष भएका पशुपति गिरी छैठौं चुनावमा फेरि निर्वाचित भएका थिए। नेतृत्वमा दोहोरिने उनी मात्र एक हुन् र यसलाई महासंघको चुनावमा अपवाद नै मानिन्छ।
यस्तै अपवाद महासंघको चुनावमा यसपालि पनि देखिने भएको छ, त्यो हो त्रिपक्षीय प्रतिस्पर्धा।
अहिलेसम्म महासंघको चुनावमा कि सहमतिमा नेतृत्व छानिएको छ, कि दुई पक्षीय समूहको प्रतिस्पर्धा भइरहेको छ। यसपालि भने वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ भिडेका छन्।
पूर्वअध्यक्ष पशुपति मुरारका अहिलेसम्म यस्तो अवस्था नदेखेको बताउँछन्।
'अहिलेसम्म त्रिपक्षीय प्रतिस्पर्धा भएको छैन। कि सहमतिमा भयो कि दुई पक्षीय प्रतिस्पर्धा भइरहेको थियो,' पूर्वअध्यक्ष मुरारकाले भने।
निवर्तमान अध्यक्ष भवानी राणा र वर्तमान अध्यक्ष शेखर गोल्छा पनि यही बताउँछन्।
प्यानल बन्ने कुनै एक निश्चित आधार त छैन। तैपनि सामान्यतया प्यानल चार कुरामा अडिएर बन्ने गरेको महासंघको राजनीति नियालेका एक व्यवसायी बताउँछन्।
पहिलो, ठूला घराना भर्सेस साना व्यवसायी तथा जिल्लामा प्रभुत्व जनाउने समूह।
दोस्रो, नेवार समुदाय भर्सेस अन्य समुदाय।
तेस्रो, मारवाडी समुदाय भर्सेस अन्य समुदाय।
र अर्को, कहिलेकाहीँ निवर्तमान अध्यक्षको सहयोग भर्सेस कतिपय पूर्वअध्यक्षको चाहना।
प्रायः प्यानल बन्दा यी कुरा हाबी हुने भए पनि यसपालि चुनावमा तेस्रो प्यानल खडा हुनुमा यी कुनै आधार स्पस्ट देखिँदैन।
'अहिले त मारवाडी समुदाय भर्सेस नेवार समुदाय, उपत्यका भर्सेस अन्य क्षेत्र जस्तो भयो,' आइतबार उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित एक व्यवसायीले भने। संघाई मारवाडी समुदायका हुन् भने अन्जन र उमेश नेवार समुदायका। त्यस्तै उमेश काठमाडौं उपत्यकाका हुन् भने अन्जन र संघाई बाहिरका।
यसपालि चुनावी प्यानल घोषणा हुनुअघि नै वरिष्ठ उपाध्यक्षको आकांक्षीमा चार जनाको नाम चर्चामा थियो। त्यो बेला अहिले उम्मेदवारी दिएका तीन जनाबाहेक हालका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ पनि मैदानमा देखिएका थिए। तर उनी पछि हटेर उमेशलाल श्रेष्ठकै टिममा बसे।
'हामीलाई त अन्जनजी र दिनेश दाइको प्यानल बन्ला जस्तो लागेको थियो। आआफ्नो क्षेत्रमा दुई जनाको पकड बलियो भएकाले त्यो स्वाभाविक पनि हुने थियो। तर त्यसो भएन,' वर्तमान कार्यसमितिका एक सदस्यले भने।
वरिष्ठ उपाध्यक्षका सबै उम्मेदवार आफ्नो उम्मेदवारी स्वाभाविक भएको बताउँछन्।
'मेरो उम्मेदवारी स्वाभाविक हो। मैले पहिलेदेखि नै तयारी गर्दै आएको छु। महासंघ कस्तो बनाउने, के गर्ने भन्ने भिजन मसँग छ,' अन्जनले भने, 'योग्यता पुग्ने सबैले प्रतिस्पर्धा गर्न पाउँछ। तर म किन र केका लागि त्यहाँ पुग्दै छु भन्ने योजना बोकेको व्यक्ति उम्मेदवार भए महासंघलाई बलियो बनाउँछ।'
उमेशलालले पनि आफ्नो उम्मेदवारी स्वाभाविक भएको बताउँदै आएका छन्। अघिल्लो निर्वाचनमा चन्द्र ढकाल समूहलाई उमेशलालले सहयोग गरेका थिए। उमेशका अनुसार त्यो बेला चन्द्रले उनलाई पछिको चुनावमा सघाउने प्रतिबद्धता गरेका थिए। चन्द्रले भने कसलाई सघाउने भनेर प्रस्ट भनेका छैनन्। उनले सहमतिमै अगाडि बढ्ने बताएका छन्।
यसपालि उमेशलाई पूर्वअध्यक्ष चन्डीराज ढकालले बलियो साथ दिएका छन्। यसपछि उमेशले प्यानल नै बनाएका हुन्।
लामो समयदेखि महासंघको विभिन्न भूमिकामा बसेर काम गरेका उनी पशुपति मुरारकाको कार्यकालमा उद्योग समिति सभापति, भवानी राणाको कार्यकालमा वस्तुगत उपाध्यक्ष थिए। शेखर गोल्छाको कार्यकालमा वस्तुगत उपाध्यक्षमा उनी अन्जन श्रेष्ठसँगै पराजित भएका थिए।
उमेशलाल कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा हुन्। राजनीतिक परिवारभित्र हुर्केर पनि दलगत राजनीतिभन्दा बाहिर रहेका उनी औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्स कम्पनी चलाउँछन्।
अर्का उम्मेदवार रामचन्द्र संघाई वर्तमान उपाध्यक्ष हुन्। वर्तमान उपाध्यक्षको यसपछिको फट्को वरिष्ठ उपाध्यक्ष नै हो। तर रामचन्द्र अहिले नै हुने आकलन धेरैको थिएन। उनी आफ्नो पारिवारिक विरासत जोगाउन र ठूलो घरानाको प्रतिनिधित्व गरेर नेतृत्वमा पुग्न चाहन्छन्।
महासंघमा ठूला औद्योगिक घरानाहरूले नेतृत्व गरेको सन्दर्भमा उनी आफ्नो घरानाको प्रतिनिधित्व गर्न चाहन्छन्। उनी त्रिवेणी ग्रुपका सदस्य हुन्। पारिवारिक व्यवसायमा उनी दोस्रो पुस्ताका व्यवसायी हुन्। यो ग्रुप उनका बुवा पुरुषोत्तमलाल संघाईको नेतृत्वमा छ। करिब पाँच दर्जन उद्योग व्यवसायमा यो ग्रुपको सक्रियता छ। सिमेन्ट, ग्यास, जडीबुटी प्रशोधन, चिया, खाने तेल, साबुन उत्पादनदेखि बैंक/बीमा, ऊर्जा, शिक्षा, कृषि, अटोमोबाइल्सको कारोबार यसले गर्दै आएको छ।
अन्जन श्रेष्ठ पनि ठूला घरानाको प्रतिनिधित्व गर्छन्। ४९ वर्षअघि तीन सय रूपैयाँ लगानीको मिठाइ व्यापारबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार छ। लक्ष्मी ग्रुपले डेढ अर्ब रूपैयाँ लगानीमा नवलपरासीमा खाद्यान्न उद्योग र साढे दुई अर्ब रूपैयाँभन्दा धेरै लगानीमा बिलेट (डन्डी बनाउने कच्चा पदार्थ) उद्योग सञ्चालन गर्ने भनेर उद्योग विभागमा दर्ता पनि गराएको छ। अन्जन लक्ष्मी ग्रुपलाई प्रतिनिधित्व गर्दै महासंघको नेतृत्वमा पुग्न चाहन्छन्।
यसरी महासंघको चुनावी इतिहासै यसपालि पहिलोपटक तीन वटा प्यानल बनेको छ। महासंघका अध्यक्ष शेखर गोल्छा धेरै जनाबीचको प्रतिस्पर्धाले नेताहरूलाई सबै व्यवसायीसँग अन्तर्क्रिया गर्न र समस्या पहिचान गर्न सहयोग पुग्ने बताउँछन्।
'आकांक्षीहरू सबै मतदाताकहाँ पुग्नुपर्यो। यसले नेतृत्वमा पुग्न चाहने र अन्य व्यवसायीबीच सम्बन्ध बलियो बनाउन मद्दत गर्ला,' गोल्छाले भने, 'तर जितेपछि अरूका कुरा नसुन्ने र हारेपछि इगो राख्ने परिपाटी भयो भने समस्या सिर्जना गर्छ।'
पूर्वअध्यक्ष मुरारकालाई भने अध्यक्षबाहेकको प्रतिस्पर्धा गराउने व्यवस्था गरेपछि प्यानल बन्दैन भन्ने लागेको थियो।
'विधानले वरिष्ठ उपाध्यक्षको भूमिकालाई त्यति ठूलो महत्व दिएको छैन। अध्यक्ष नहुँदा अध्यक्षता गर्ने हो,' मुरारकाले भने, 'यसो हुँदा प्यानलमा निर्वाचन हुँदैन, निर्वाचित व्यक्ति अध्यक्षप्रति जवाफदेही हुन्छ, त्यसैले प्यानल बन्दैन होला भन्ने लागेको थियो। अहिले त तीन प्यानल नै बने।'
वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने विधान संशोधनपछि चन्द्र ढकाल तेस्रो अध्यक्ष बन्दै छन्। मुरारका अध्यक्ष बनेको समयमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो।
वरिष्ठ उपाध्यक्षसँगै ६६ सदस्यीय कार्यसमितिका लागि पनि थुप्रैको उम्मेदवारी परेको छ।
जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशमा जम्शेर मिया निर्विरोध भएका छन्। उनी चन्द्रौटा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्छन्। त्यस्तै द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट नेपाल-भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध भएका छन्।
सबै प्रदेशबाट एक/एक जना सदस्यको कोटा रहेकामा कोशी र कर्णाली प्रदेशमा ३/३ जनाले र मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ जनाले उम्मेदवारी दिएका छन्।
वस्तुगत संघको तर्फबाट १४ जना सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका छन्। उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्। एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।