एक दशकअघिसम्म रूपाकोट धेरैका लागि नौलो थियो। पोखरा घुमेर आउनेले पनि यो गाउँ कहाँ पर्छ भन्न सक्थेनन्।
पोखरा लेकसाइडबाट २४ किलोमिटर उकालै उकालो डाँडोमा रहेको रूपाकोटमा पहिले रूखैरूख मात्र देखिन्थे। बस्ती सुनसान थियो। मोटरबाटो थिएन। बिजुलीको उज्यालो देख्न हम्मे पर्थ्यो। पानी अभावले गाउँ काकाकुल थियो।
अहिले रूपाकोट रमणीय छ। एकपटक त्यहाँ पुग्ने रहर पाल्नेहरू थुप्रै छन्।
रूपाकोट गाउँपालिकामा पर्ने यो गाउँ पोखरा लेकसाइडबाट ४५ मिनेट गाडी यात्रामा सजिलै पुगिन्छ। त्यही गाडी चढेर आधुनिक सहरका अधिकांश सुविधा यहाँ पुगिसके। गाउँको राग भने कम भएको छैन।
यो सबै सम्भव भयो रूपाकोट रिसोर्टले।
सात वर्षअघि खुलेको यो रिसोर्टले त्यो बेलाको विकट रूपाकोटलाई आधुनिक कलेवरमा मात्र ढालेन, यसलाई देश-विदेशमा समेत चिनायो।
दुई सय रोपनीमा फैलिएको रिसोर्ट आफैंमा एउटा गाउँजस्तो छ। साना-साना घरैघरले भरिएको। पोखराको सुन्दरता मिस नगरी, घन्चमन्चभन्दा अलि पर बस्ने थलो खोज्दै हुनुहुन्छ भने रूपाकोट उपयुक्त गन्तव्य हो।
रूपाकोट रिसोर्टलाई रूपाकोटकै पहिचान बनाउने व्यक्ति हुन् पुष्पराज अधिकारी।
उनले आफू बेल्जियम बस्दै रूपाकोटको रूप फेर्ने सपना देखेका थिए। बेल्जियममा उनी रेस्टुरेन्ट चलाउँथे। तीनवटा रेस्टुरेन्टबाट राम्रै सम्पत्ति जोडे। परिवार सँगै थियो। तै पनि उनी नेपाल फर्के। रूपाकोट पुगे। रिसोर्ट खोले।
विदेशमै व्यवसाय गरेर जमेका पुष्पराजलाई विकट गाउँमा करोडौं लगानी गरेर महँगो रिसोर्ट खोल्ने लहड कसरी चल्यो?
यो यात्रा उनको जन्मबाटै सुरू हुन्छ।
'रूपाकोट मेरो जन्मथलो हो। म १४ वर्षको उमेरसम्म त्यहीँ हुर्केँ,' पुष्पराज रूपाकोट सम्झेरै नोस्टाल्जिक हुन्छन्।
उनी खेती-किसानी गर्ने परिवारका हुन्। बुबा जमिनदार थिए। पुष्पराज सात सन्तानमध्ये जेठा। उनीमुनि दुई भाइ र चार बहिनी छन्। अधिकारी परिवारलाई जीवन गुजार्न मुश्किल थिएन। पछि यो परिवार चितवन बसाइ सर्यो। त्यो बेला पुष्पराज १४ वर्षका थिए।
उनको किशोरवय चितवनमै बित्यो। एसएलसी दिएपछि काठमाडौं आए। पिपल्स क्याम्पसमा अंग्रेजी विषय लिएर पढ्न थाले। स्नातक पढ्न त्रिचन्द्र कलेज पुगे।
त्यही बेला उनको जीवनमा आएको एउटा मोडले उनलाई व्यवसायी बनायो।
करिब ३६ वर्षअघिको कुरा हो। उनी काठमाडौंमा केही गर्न खोज्दै थिए। त्यही क्रममा सोल्टी होटलले प्रशिक्षार्थी माग्यो। होटलले भारतबाट अनुभवी सहजकर्ता बोलाएर वर्ष-वर्षमा ५०-६० जना युवालाई काम सिकाउँथ्यो। होटल व्यवस्थापनमा छ महिनादेखि एक वर्ष तालिम दिएपछि रोजगारी पनि दिन्थ्यो।
पुष्पराजले आवदेन दिए। विदेशीहरूले अन्तर्वार्ता लिए। अंग्रेजी पढेका उनलाई सजिलै भयो।
'मलाई सधैं नयाँ काम गर्न मनपर्ने। सुरूमै पाँचतारे होटलमा काम गर्न पाउनु मेरा लागि राम्रो अवसर भयो,' पुष्पराज सम्झिन्छन्, 'त्यो मेरो जीवनकै टर्निङ प्वाइन्ट बन्यो। सोल्टीले मलाई सामान्य गाउँले ठिटोबाट महत्वाकांक्षी व्यवसायी बनायो। त्यही अनुभवले रूपाकोट रिसोर्ट बनाउन सक्षम भएको हुँ।'
सोल्टीको अनुभवलाई उनी विश्वविद्यालय गएसरह मान्छन्। होटल व्यवस्थापनको कामले उनलाई यो व्यवसायबारे सिक्ने र निखारिने मौका दियो।
उनी भन्छन्, 'मैले कलेजमा भन्दा धेरै त्यहाँ काम गरेर सिकेँ।'
सोल्टीमा उनले करिब साढे तीन वर्ष काम गरे। पश्चिमा संस्कृति र व्यवहारसँग परिचित हुँदै गए। विदेशीहरूसँग काम गर्ने तरिका बुझ्न थाले। अनुभव बटुले, सीप तिखारे। यसले उनलाई आफ्नो क्षेत्रमा जम्न मद्दत गर्यो।
उनको पढाइ पनि सँगसँगै अगाडि बढ्दै थियो। उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर भर्ना भए। कामको अनुभवले आत्मविश्वास बढ्दै गएपछि उनलाई आफैं केही गर्ने हुटहुटी चढ्यो।
त्यो बेला नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै थियो। उनले त्यही मौकामा ट्राभल एजेन्सी खोले। आफ्नो काममा दक्ष हुन जर्मन र फिनिस भाषा सिके। अंग्रेजी सुधार्दै लगे।
एजेन्सीले उनलाई राम्रै फल दिन थाल्यो। फिनल्यान्ड, हङकङ, रूस, बेलायत लगायत देशहरू जाने र घुम्ने अवसर जुर्यो। विदेशी संस्कृति नियाल्दै उनले केही न केही सिकिरहे।
तर उनको यो रफ्तार एकनासे रहेन।
केही समयपछि ट्राभल व्यवसाय खस्किन थाल्यो। २०४८ सालमा तीन महिनाभित्र नेपालमा थाई एयर र पाकिस्तान एयरलाइन्सका दुइटा विमान दुर्घटना भए। अर्कातिर भारतमा प्लेग रोग फैलियो। भारतबाट नेपालमा जहाज आउन प्रतिबन्ध लाग्यो। अनि विश्वका केही देश जहाँबाट पर्यटक नेपाल आउँथे, ती देशमा राजनीतिक अस्थिरता सुरू भयो।
यी सबैको असर उनको ट्राभल व्यवसायमा पर्यो।
यतिञ्जेल पुष्पराजले विदेश गएर काम गर्ने र उतै बस्नेबारे सोचेका थिएनन्। जब व्यवसाय असफल भयो, उनले सोचे- म युद्धमा हारेको सिपाही हुँ। फेरि हतियार बोकेर मैदानमा ओर्लन्छु।
उनले आफ्नो आर्थिक पक्ष सुधार्न बिदेसिने निधो गरे। केही समयमै बेल्जियममा होटलसम्बन्धी काम पाए। आफूले जानेको कला देखाउने मौका थियो उनलाई त्यो।
उनले आफ्नो कला देखाए पनि र त्यसैको बलमा तीन वर्षपछि आफ्नै रेस्टुरेन्ट खोले।
'मैले सामान्य रेस्टुरेन्टबाट सुरू गरेको थिएँ,' पुष्पराजले भने, 'पछि तीनवटा मध्यमस्तरका रेस्टुरेन्ट भए। मैले पैसा कमाएकै बेल्जियममा काम गरेर हो।'
बेल्जियममा उनी करिब बीस वर्ष बसे। यो अवधिमा हरेक वर्षजसो नेपाल आउँथे। बेलाबखत आफ्नो जन्मथलो रूपाकोट पुग्थे। बेल्जियम गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापकमध्ये एक उनले नेपाल फर्केरै काम गर्ने योजना बुनेका थिए। धेरै वर्ष यो खयाल बुनेर उनी आउँदै-जाँदै गरिरहे। देशको राजनीतिक अस्थिरता, द्वन्द्व र यसले बजारमा पारेको प्रभावले उनलाई बेल्जियममै बाँधिरह्यो।
नेपाल आउँदा पुष्पराजले आफ्नो गाउँमा बिस्तारै बिस्तारै जग्गा किनेका थिए। त्यही जग्गामा आफ्नो भविष्य खोस्रुँला भन्ने योजना थियो। एक त जन्म र बालापनको सम्झनाले उनलाई रूपाकोटमा तानेको थियो, अर्को उनी चुनौती मनपराउने व्यक्ति हुन्। कसैले व्यावसायिक सफलताको सम्भावना नदेखेको त्यो गाउँमा उभिएर उनी आफूलाई सावित गर्न चाहन्थे।
यही ध्याउन्नमा २०५८ सालतिर उनले परिवारसहित नेपाल फर्किने तयारी गरे। त्यही बेला दाङमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको खबर सुने। देशमा चर्केको द्वन्द्वका कारण पछि हट्नुपरेको उनी बताउँछन्।
'त्यो बेलै छोराछोरीलाई भारतमा पढ्न राख्ने र नेपाल फर्केर व्यवसाय गर्ने सोचेका थियौं,' तीन सन्तानका बाबु पुष्पराजले भने, 'माओवादी द्वन्द्वताका देशको अवस्था एकदमै अस्थिर र आकलन गर्न नसकिने भएकाले फर्किएनौं।'
माओवादी र सरकारबीच २०६३ सालमा शान्ति सम्झौता भए पनि स्थिरता आइसकेको थिएन। पुष्पराजलाई त्यो जोखिममा फर्किन मुनासिब लागेन। उनलाई विश्वास भने थियो, द्वन्द्वपछि पनि नेपालले सपना देख्नेछ। युद्धपछि संकटग्रस्त भएका विश्वका अरू मुलुकजस्तो नेपाल होइन। यहाँ सम्भावनाका बाटा छन्। समान अवसर र आर्थिक पाटो सुधारिएसँगै आन्तरिक संघर्ष कम हुँदै जानेछ।
यो विश्वासमा अडिएर उनले देश फर्किन खुट्टा उचालिरहे। २०६७ सालमा आएर बल्ल उनको सपनाले पखेटा हाल्यो। उनी बेल्जियमको काम, सुखसयल माया मारेर नेपाल फर्के।
'विदेशी भूमिमा मैले सबैजसो भौतिक सुविधा पाएँ। केही कमी भएन। अरू विकसित देश जाने र उतै बस्ने सुविधा पनि थियो। तर मलाई मेरै देशमा केही गर्नुपर्छ भन्ने थियो। आफ्नै देशमा बूढो हुन मन थियो,' उनले भने।
पुष्पराजले रूपाकोटमा जग्गा किन्न थाल्दादेखि नै दिमागमा होटलको खाका बुन्न सुरू गरेका थिए। त्यसैले आएकै वर्षदेखि काममा लागिहाले। अर्को वर्षदेखि त रिसोर्ट बनाउनै थाले।
'मैले विदेशमा धेरै राम्रा होटल र रिसोर्ट देखेँ। रूपाकोटमा त्यही स्तरका होटल-रेस्टुरेन्ट खोल्ने मन थियो।'
दुई सय रोपनी जग्गा ओगटेको डाँडो। चारैतिर हरियाली जंगलले घेरेको। डाँडाको फेदैमा पोखराका रूपा र बेगनास तालको शान्त रूप। अन्नपूर्ण र अरू हिमालको लश्कर आँखैअगाडि। मनै हरहराउने खेत, कल्यान र फाँटहरू। एकै ठाउँमा उभिएर देखिने उदाएको र अस्ताएको घाम।
यही डाँडोमा उभिएर पुष्पराजले एउटा सुन्दर र स्तरीय रिसोर्टको परिकल्पना गरे।
पोखरा आफैंमा पर्यटकीय नगरी। आरामदायी रिसोर्ट चल्ने सम्भावना छँदै थियो। त्यसमाथि धेरै खर्च गर्न रूचाउने पर्यटकलाई रूपाकोटसम्मै तान्न सकिन्थ्यो। तर पुष्पराजलाई यो सपना पूरा गर्न सहज थिएन। त्यो गाउँमा कसरी आरामदायी रिसोर्ट बनाउने? न बाटो, न पानी, न पर्याप्त बत्ती।
आफूसँग भएको केही करोड रूपैयाँ र मनभरि हुटहुटी बोकेर उनी लागिरहे।
उनलाई कतिले उडाए पनि- यो पाखोमा पैसा खन्याएर के गर्न लागेको?
पोखरामै असफल भएको फूलबारी रिसोर्टको उदाहरण दिँदै कतिले भने- यसले अर्को फूलबारी बनाउँदैछ!
उनीहरूले यसो भन्दा पुष्पराजको जवाफ हुन्थ्यो- म होटलमै काम गर्ने मान्छे हुँ, सफल हुन्छु।
पुष्पराजले ऋणभन्दा धेरै आफ्नै पैसा लगानी गरेका थिए। त्यसैले डर थिएन। तै पनि रिसोर्ट बनाउने बेला थुप्रै समस्याले घेरे। कहिले प्रशासनिक उल्झन्, कहिले पैसाको अड्चन।
'तीन पटक त त्यहीँ बसेर आँशु झारेरै रोएँ। तर म हार्ने मान्छे होइन। म आफ्नो विश्वासमा अडिरहेँ। जसरी फूल फुलेपछि मौरी र भमरा भुनभुनाउँदै आउँछन्, मेरो रिसोर्टमा पनि पर्यटक आउँछन् र चल्छ भन्ने आश मारिनँ,' उनले भने।
त्यो बेला पहिलो चरणको काममा मात्र उनले आफूसँग भएको र ऋण लिएको गरी करिब ३० करोड रूपैयाँ लगानी गरेका थिए। अहिले रूपाकोट रिसोर्टको लगानी एक अर्ब रूपैयाँभन्दा बढी भइसक्यो।
रूपाकोट रिसोर्टसम्म पुग्ने बाटो बनाउन पुष्पराजले नै पहल गरे। सामुदायिक समितिको अध्यक्ष बनेर उनले त्यसमार्फत कालोपत्रे सडक बनाए। बोरिङ गरेर पानी निकाले। चाहिने बिजुली पुर्याए।
डाँडो खनेर स-साना घर बनाए। फलफूलका बोट रोपे। रंगीबिरंगी फूलले बगैंचा ढकमक्क सजाए। हात्तीको पाइला आकारमा स्विमिङ पुल बनाए। स्तरीय रिसोर्टमा चाहिने सबै पूर्वाधार जोडे।
यसरी दुई वर्षसम्म पुष्पराजले आँखा बिछ्याएर आफ्नो सपना पूरा हुँदै गरेको नियाले। हेर्दाहेर्दै पाखोडाँडो सुन्दर सानो गाउँजस्तै देखियो। अनि तयार भयो ४२ कोठाको रूपाकोट रिसोर्ट।
र, योसँगै गुलजार भयो, सुनसान कुनामा लुकेको रूपाकोट गाउँ।
कुनै गाउँमा रिसोर्ट बनिसकेपछि पहिलो प्रश्न आउँछ- त्यसले त्यहाँको उत्पादन कति खपत गर्यो? कतिलाई रोजगारी दियो? पुष्पराजलाई धेरैले यही सोध्छन्।
उनी भने यस्ता आँकडाभन्दा स्थानीयको सोचमा आएको परिवर्तन र बढेको आत्मविश्वासलाई महत्वपूर्ण मान्छन्।
उनले उदाहरण दिँदै भने, 'कुनै बेला सराङकोटमा दुई रोपनी जग्गा हुनेहरू गर्व गरेर हिँड्दा रूपाकोटका गाउँले बीस रोपनी भएकामा पनि खुसी हुन सक्थेनन्। गाउँको घरजमिन बेचेर पोखरा बजारमा डेरा बस्न जान्थे। म त्यही बेला उनीहरूलाई तिमीहरूको पनि दिन आउँछ है भन्थेँ। अहिले त्यो दिन देखिरहेको छु। धेरैले अचेल यहाँको जग्गा बेच्न छाडेका छन्।'
उनको रिसोर्टमा अहिले सय जना हाराहारी कर्मचारी छन्। आधाभन्दा बढी स्थानीय बासिन्दा हुन्। तीमध्ये ३० जना स्थानीय महिला भएको उनले बताए।
हिजो चुह्लोचौका र मेलापात सम्हालिरहेका ती महिलाले आज आफ्नो रिसोर्ट सम्हालेको देख्दा उनको छाती गर्वले फुल्छ। उनीहरूको आफ्नै कमाइ छ। बैंक खाता छ, एटिएमबाट पैसा निकाल्छन्। घरखर्च धान्छन्। जीवनस्तर उकासिएको छ। प्रविधि चलाउन जानेका छन्। तारे स्तरको होटल व्यवस्थापनको सीप सिकिसके।
'भलै थोरै हुन्, गाउँका महिलाको जीवनमा परिवर्तन ल्याउनु र आत्मविश्वास बढाउन सक्नु मेरो ठूलो उपलब्धि हो,' उनले भने।
अबको तीन-चार महिनापछि सायद थप महिलाले यहाँ रोजगारी पाउनेछन्। रूपाकोट रिसोर्ट विस्तार हुँदैछ। दुइटा नयाँ भवन बनिसके। यिनमा २५ वटा नयाँ आरामदायी कोठा छन्। संरचना बनाउने काम सकिए पनि भित्री साजसज्जा बाँकी रहेको उनले बताए।
पुष्पराजको यो सफलतालाई अहिले उनका सन्तानले अगाडि बढाइरहेका छन्। जेठा छोरा सुशील रिसोर्टका प्रबन्ध निर्देशक हुन्। कान्छा मनीष कार्यकारी निर्देशक। भतिज दीपेशले वित्तीय पाटो सम्हाल्छन्। छोरी निकिता बेल्जियम छाडेर फर्किँदै छिन्, पारिवारिक व्यवसायमा सहयोग गर्छिन्। यो नयाँ पुस्ताले होटलसम्बन्धी नयाँ परियोजना विकासमा काम गरिरहेको पुष्पराजले बताए।
विदेशमै हुर्केका, पढेका, राम्रो रोजगार अवसर भएका सन्तानले फर्केर आफूले सुरू गरेकै व्यवसाय सम्हालेपछि पुष्पराज दंग छन्। रिसोर्टको जिम्मेवारी पुस्तान्तरण भएपछि काँध हलुको भएको छ।
५७ वर्षका भए उनी, सपना किशोरवय र जोश युवावय नै छ। सधैं नयाँ चुनौती लिन मनपराउने उनी अब के गर्ने धुनमा छन्?
यसको जवाफ उनले तयार पारिसके- राजनीति। आगामी चुनावमा पोखरा महानगरपालिकाको मेयर उठ्ने।
'म अब पोखरा सहर अव्यवस्थित भएको हेरिरहन सक्दिनँ। यसमा हस्तक्षेप गर्नसक्ने अवस्थामा पुगिसकेँ। म पोखरालाई नमूना व्यावसायिक सहर बनाउन सक्छु भन्ने विश्वास छ र यो सहरलाई नयाँ उचाइमा पुर्याउने भिजन पनि छ,' उनले भने।
जीवनको अर्को चरणमा आएर यी व्यवसायी किन राजनीतिमा आउँदैछन्? उनलाई नचिन्नेहरूले गर्ने प्रश्न हो यो।
जवाफमा उनी भन्छन्, 'म एक व्यवसायी मात्र होइन, जिम्मेवार नागरिक पनि हुँ। त्यसैले मलाई पोखराको मेयर उम्मेदवारका रूपमा देख्दा अचम्म मान्नु पर्दैन।'
चिन्नेहरूलाई त थाहै छ- पुष्पराज ३० वर्षदेखि प्रत्यक्ष रूपमा राजनीतिसँग जोडिएका छन्।
होटल व्यवसायमा जोडिएको जति समय भयो, राजनीतिमा करिब त्यत्तिकै समय बिताएका छन् उनले। नेकपा एमालेनिकट पुष्पराजले भने, 'म तीस वर्षदेखि एमाले पार्टीको कार्यकर्ता हुँ। कार्यक्रम र गतिविधिहरूमा सक्रिय छु। पार्टीमा लागेदेखि लेभी तिरिरहेको छु। राजनीतिसँग एकदमै नजिक छु, बाहिर नदेखिएको मात्र हुँ।'
अब उनी जनतासामु व्यवसायी मात्र नभएर जनप्रतिनिधि बनेर अगाडि आउन चाहन्छन्। जसरी डाँडो सिँगारेर रिसोर्ट बनाए, त्यही अनुभव समेट्दै पोखरा सहर सिँगार्ने योजना बुनेको उनी बताउँछन्।
योजनाको केन्द्रमा पोखराको व्यवसाय नै छ।
उनले रूपा र बेगनास ताल एकीकृत गरेर बृहत पर्यटन क्षेत्र विकास गर्ने गुरुयोजना बनाइसके। अस्तित्व हराउन लागेका मैदी र दिपाङ तालको क्षेत्रफल र गहिराइ बढाएर यो क्षेत्रलाई कसरी पुनर्जीवन दिने भन्ने रेखाचित्र कोरेका छन्।
बेगनासको पानी सुन्दरडाँडाबाट रूपा तालमा झारेर झरना बनाउने, बेगनासबाट रूपाकोटसम्म ताल माथिमाथि केबलकार चलाउने, चीनको ग्रेटवाल शैलीको पर्खालमा पदयात्रा, आवासीय र महँगा अपार्टमेन्ट निर्माणको योजना पनि उनीसँग छ।यी सबै काम राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताबाट सम्भव हुने विश्वास छ उनको।
समग्रमा उनी पोखरालाई ब्रान्डिङ गर्न चाहन्छन्। यसको 'भ्यालु' बढाउन चाहन्छन्। धेरै पैसा खर्चिने क्षमता भएका पर्यटकलाई पैसा खन्याऊँ, खन्याऊँ लाग्ने बनाउन चाहन्छन्।
'यी सबै सपना म व्यवसायी मात्र भएर पूरा हुँदैन, सहरको मेयरै हुनुपर्छ,' पुष्पराजले भने, 'पोखराको व्यावसायिक विकास व्यावसायिक क्षेत्रकै मान्छेले राम्ररी गर्न सक्छ। मैले राजनीतिमार्फत् लिनु केही छैन, यो सहरलाई दिने मात्र हो। जनताले पनि फरक क्षेत्रबाट, नयाँ राम्रो मान्छे आइदिए हुन्थ्यो भन्ने आश गर्न थालेका छन्। म त्यस्तै उम्मेदवार हुन सक्छु।'