काठमाडौंले नयाँ कुमारी आर्यतारा शाक्य पाएको आज सात दिन भयो। यी सात दिनमा उनी सामान्य बालिकाबाट सबैले पुज्ने 'जीवित देवी' को जीवन बाँच्दै छिन्।
र, यही सात दिनमा पूर्वकुमारी तृष्णा शाक्य सामान्य जीवनमा फर्कँदै छिन्।
करिब आठ वर्षपछि 'जीवित देवी' बाट सामान्य जीवनमा फर्केकी तृष्णाका दिनचर्या कसरी बितिरहेका छन्? उनलाई कुमारी घरभित्रको दैवी जीवनबाट आफ्नो घर, आफ्नो टोल र आफ्नो सहरको सामान्य जीवन कस्तो लाग्दैछ? यो नयाँ जीवनसँग उनी कसरी अभ्यस्त हुँदै छिन्?
यिनै विषयमा हामीले तृष्णाका बुबा विजयरत्न शाक्यसँग कुराकानी गरेका छौं।
२०७४ सालमा कुमारी भएकी तृष्णालाई दसैंको अष्टमीका दिन नयाँ कुमारी आर्यतारा शाक्यले प्रतिस्थापन गरेकी थिइन्। त्यसै दिन तृष्णालाई बाजागाजा सहित डोलीमा चढाएर राजकीय सम्मानका साथ कुमारी घरबाट विदा गरिएको थियो।
खासमा उनी कुमारी घरबाट आफ्नो मूल घर फर्किनुपर्ने हो। तर उनी मूल घर नगई नघ: (नघल) स्थित मामाघर गइन्।
कतिपयले आफ्नो घर नगएर किन मामाघर गएको भन्ने जिज्ञासा पनि राखे।
कुमारी घरबाट विदाइ गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हामीले यही प्रश्न तृष्णाका बुबालाई सोध्दा उनले भने, 'हाम्रो घर डल्लुमा छ। वसन्तपुरको कुमारी घरबाट डल्लु जान खोला तर्नुपर्छ। परम्पराअनुसार कुमारी घरबाट विदाइ भएको चार दिनसम्म उहाँ कुमारी नै रहनुहुन्छ। त्यस अवधिमा उहाँले खोला तर्न हुन्न। त्यही भएर उहाँलाई मामाघर भित्र्याइएको हो।'
बुबा विजयरत्नले भनेझैं विदाइको चार दिनसम्म तृष्णालाई कुमारीकै रूपमा व्यवहार गरियो। त्यसबीच उनको घर फेरिए पनि दिनचर्या कुमारीकै रह्यो।
उनी सामान्य मानिसझैं बाहिर हिँडडुल गरिनन्। भक्तजनले कुमारीकै रूपमा दर्शन गर्न आए। उनले सधैंझैं भक्तजनलाई टीका लगाइदिइन्, आशिर्वाद दिइन्। उनी कुमारीकै वेशभूषामा बसिन्, नित्यकर्म गरिन्। चार दिनसम्म कपाल पनि फुकाइनन्।
चौथो दिनमा तलेजुकी निनी आएर उनको कपाल फुकाइदिइन्। चलनअनुसार ती निनीलाई सगुन र लत्ताकपडा दिइयो।
त्यही बेला तृष्णालाई पनि सगुनका रूपमा सामान्य पहिरन दिइयो।
अनि बल्ल, तृष्णा विधिवत् रूपमा पूर्वकुमारी बनिन्।
उनी सामान्य मानिसझैं बाहिर निस्किन थालिन्, हिँडडुल सुरू गरिन्।
'त्यसपछि उहाँलाई डल्लुको आफ्नो घर लैजानुअघि कुमारी घर ल्यायौं,' विजयरत्नले भने, 'कुमारी घर गएपछि उहाँले ज–जसलाई भेट्न मन लाग्यो भेट्नुभयो। जे गर्न मन लाग्यो गर्नुभयो। जति बेर बस्न मन लाग्यो बस्नुभयो।'
यता डल्लुमा आठ वर्षसम्म घरबाट टाढा रहेकी छोरी भित्र्याउन परिवारजनलाई हतारो थियो। उनीहरूले तृष्णाको कोठा सजाएका थिए। केक काटेर स्वागत गर्न तम्तयार बसेका थिए।
जसै तृष्णाले घरमा पाइला टेकिन्, उनलाई विधिपूर्वक पूजा गरेर घर भित्र्याइयो। नयाँ जीवनको सुरूआतका रूपमा केक पनि काटियो।
'हामीले परिवारभन्दा बाहिरका मानिसलाई बोलाएका थिएनौं। आफ्नो परिवार र केही आफन्तलाई मात्र बोलाएका थियौं,' विजयरत्नले भने।
उनका अनुसार तृष्णाको स्वभाव कुमारी बन्दाको भन्दा निकै फरक छ। सधैं शान्त देखिने उनी परिवारसँग बोल्ने, हाँसखेल गर्ने सबै गर्छिन्। बाहिरका मान्छेसँग भने खासै बोल्दिनन्।
'हामी आफैले पनि बाहिरका मान्छेसँग त्यति नबोल्नू भनेका छौं। मानिसले नानू भनेर बोलाइदिन्छन्। तिमी भनेर सम्बोधन गर्छन्। यस्ता सम्बोधनसँग उहाँ अभ्यस्त हुनुहुन्न। उहाँलाई पनि को मान्छेसँग कसरी बोल्ने त्यति थाहा छैन। उहाँलाई अरू मान्छेसँग अभ्यस्त हुन समय लाग्छ,' उनले भने, 'मान्छेहरू भने कुमारी भेट्न, आर्शिवाद लिन र फोटो खिच्न आइरहनुहुन्छ।'
विजयरत्नका अनुसार तृष्णा एकदमै आत्मनिर्भर स्वभावकी छन्। आफ्नो काम आफै गर्छिन्। आफै लुगा लगाउँछिन्। आफै नुहाउँछिन्।
'उहाँ कुमारी घरमा हुँदादेखि नै यी सबै काम आफै गर्नुहुन्थ्यो,' उनले भने।
यस्ता दैनिक कामहरू नौलो नभए पनि कुमारी घर बाहिरको जीवन भने तृष्णाका लागि नौलो हो। परम्पराअनुसार येँया पुन्ही (इन्द्रजात्रा), घोडेजात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा लगायत गरी वर्षको १३ पटक कुमारीलाई रथयात्राका लागि बाहिर निकालिन्छ। केही नेवारी चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ। त्यसबाहेक उनी कुमारी घरबाट बाहिर निस्कन मिल्दैन।
त्यही भएर उनी वरपरका धेरै दृश्य नौलो मानिरहेकी छन्। पहाड, खोला वा नयाँ चिज देख्यो भने जिज्ञासु हुन्छिन्। बाइक चढ्न, ट्याक्सी चढ्न पनि उनलाई नौलो लागिरहेको विजयरत्नले बताए।
'घर आएपछि सपिङ गर्न भने उहाँ एकदमै उत्साहित र सक्रिय देखिनुहुन्छ। यहाँ आएपछि दैनिकजस्तो केही न केही किन्न गइरहनुभएको छ। आज पनि उहाँ बिहानै ब्याग किन्न जानुभएको थियो,' विजयरत्नले भने।
जसरी तृष्णा नयाँ परिवेशमा घुलमिल हुने प्रयासमा छिन्, त्यसरी नै विजयरत्नको परिवार पनि कुमारीबाट सामान्य जीवनमा फर्किँदै गरेकी तृष्णाको स्वभावसँग अभ्यस्त हुने प्रयासमा छन्। कुमारी घरमा भगवानका रूपमा पुजिएकी छोरीलाई घर फर्किएपछि पनि द्यःमा (भगवान) नै भनेर बोलाउने गरेको उनले बताए।
'कुमारी घर गएपछि हामी कहिलेकाहीँ उहाँलाई भेट्न जान्थ्यौं। सुरू सुरूमा झुक्किएर छोरी, नानू पनि भन्थ्यौं। अहिले हामीलाई द्यःमा भन्ने बानी भइसक्यो। उहाँलाई र हामीलाई पनि सहज हुँदै गयो भने बिस्तारै छोरी पनि भन्न सकौंला,' उनले भने।

विजयरत्नका अनुसार पहिले उनी साताको एक दिन शनिबार छोरी भेट्न जान्थे। कुमारी घरमा कुनै पनि समय छोरी भेट्न जान रोकतोक छैन। तर उनको दैनिकी र पढाइमा असर पर्ला भनेर आफू साताको एकपटक मात्र जाने गरेको उनको भनाइ छ।
त्यति बेला उनका जेठा छोरा कृष्ण शाक्य पनि सँगै हुन्थे। तृष्णा र कृष्ण जुम्ल्याहा दाजुबहिनी हुन्। उनीहरू दुवैको जन्म २०७१ कात्तिक १८ गते भएको हो। दुवैको आनीबानी पनि धेरै हदसम्म मिल्ने विजयरत्न बताउँछन्।
'बोल्ने, हिँड्ने तरिका उस्तै–उस्तै छ। तर द्यःमा जे पनि खानुहुन्छ। छोरालाई खुवाउन गाह्रो छ,' उनले भने, 'हामीले कृष्णलाई कुमारी घर लगिरहने भएकाले उसलाई आफ्नी बहिनी कुमारी हुन् भन्ने थाहा थियो। तर कुमारी भनेको के हो भनेर बुझ्नसक्ने अझै भइसकेको छैन।'
कृष्ण र तृष्णा दुवै छाउनीको मैत्री स्कुलमा कक्षा ६ मा पढ्छन्। दुवैलाई किन्डरगार्टेनदेखि नै त्यही स्कुल भर्ना गरिएको थियो। कुमारी भएपछि तृष्णालाई पढाउन त्यहीँका शिक्षक कुमारी घर जान्थे। त्यसपछि उनको औपचारिक शिक्षा कुमारी घरभित्रै भयो। तिहारपछि भने उनी दाजु कृष्णसँगै स्कुल जान थाल्ने विजयरत्न बताउँछन्।
दसैं विदापछि स्कुलको नियमित कक्षा मंगलबारबाट हुँदैछ। तृष्णालाई तिहारपछि मात्र स्कुल पठाउने तयारी छ। यसबीच उनको इही (नेवाः परम्परा अनुसार गरिने बेल विवाह) गराउने तयारी भइरहेको र तिहारपछि 'गुफा' राख्ने (सूय विवाह) सोचाइ रहेको विजयरत्नले बताए।
'उहाँ अहिले बाहिरका मान्छेसँग त्यति घुलमिल हुनुहुन्न। एकैपटक स्कुल पठाउँदा असजिलो हुनसक्छ। त्यही भएर स्कुल जानुभन्दा अघि उहाँको कक्षाका केही साथीहरूलाई घरमै बोलाएर घुलमिल गराउने वातावरण बनाइदिने प्रयास गर्नेछौं,' उनले भने।
तृष्णाको मन पर्ने विषय अंग्रेजी हो। नेपालीमा भने कमजोर छिन्। घरमा अंग्रेजी, नेपाली, नेपाल भाषा सबैमा कुराकानी गर्छिन्।
उनका बुबा विजयरत्न निर्माण कम्पनीका परियोजना प्रबन्धक हुन् भने आमा सिर्जना शाक्य ब्युटिसियन हुन्।
***