दुई दिनयता निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले सम्पूर्ण निजी क्षेत्र र उपभोक्तालाई सचेत रहन र मर्यादित कारोबार गर्न आग्रह गरेको छ।
महासंघले शनिबार विज्ञप्ति निकाल्दै भनेको छ, 'अविरल बर्षाका कारण राजमार्गहरू अवरूद्ध भएका छन्। आपूर्ति शृंखला प्रभावित भएको छ। यस्तो समयमा उच्च सतर्कताका साथ पेसा, व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन हुन महासंघ सदस्य एवं सम्पूर्ण उद्यमी व्यवसायीहरूमा आग्रह गर्छ।'
महासंघले सामानको आपूर्तिमा जटिलता भए पनि यथाशक्य निरन्तर आपूर्ति गर्न आग्रह गरेको छ।
'बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न, नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्छ,' विज्ञप्तिमा भनिएको छ।
जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान गर्न महासंघले निजी क्षेत्रलाई आग्रह गरेको छ।