७ वर्ष भारत अनि १३ वर्ष बहराइनमा रोजगारी गरेका मनबहादुर मगर छुट्टीमा घर माडी आएका थिए। छिमेकी तुलबहादुर पुनमगरले उनलाई अमलटारी घुम्न जान आग्रह गरे।
२०७१ सालमा छिमेकीको कुरा काट्न नसकेर घुम्न गएका मनबहादुरको मन त्यसपछि बहराइन कहिल्यै फर्किएको छैन।
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष रहेका तुलबहादुरले उनलाई अमलटारीमा बनेका होमस्टेहरू देखाइदिए।
अमलटारीको होमस्टे देखेपछि र त्यहाँका कुरा सुनेपछि मनबहादुरको मन बदलिएको थियो। भ्रमणबाट फर्कंदा बहराइन नगई होमस्टे खोल्ने निधो गरिसकेका थिए।
करिब ६ वर्ष पछि सम्झँदा मनबहादुरलाई लाग्छ यो भ्रमण उनको जीवनको सबैभन्दा महत्वपूर्ण थियो।
अमलटारीको होमस्टेलाई मनमा राखेर घर फर्किएका मनबहादुरले मगर दाजुभाईलाई जुटाएर होमस्टेको योजना बुन्न थाले। अन्ततः मगरहरू मिलेर खोलेको शिवद्वार होमस्टेले भने अहिले देशभरमै चर्चा बटुल्न थालेको छ।
‘बसमा फर्कंदा सँगै गएका अन्य चार जनासमेतले अब होमस्टे चलाउनै पर्छ भनेर निधो गरेका थियौं। गाउँमा भ्रमणको कुरा सुनाएर मिटिङ राख्यौं। मिटिङमा आएका अरू थप पाँच जनाले पनि होमस्टे चलाउने भने । १० घर तयार भयौं,’ मनबहादुरले भने।
नवलपरासीको अमलटारीमा थारू समुदायले वर्षौं देखि होमस्टे चलाइरहेका छन्।
‘होमस्टेका अध्यक्ष रहेका प्रेमशंकर मर्दनिया थारूले जंगली जनावरका कारण अमलटारीले डलर कमाउन थालेको सुनाउँदा मलाई भविष्य खोज्न विदेश जानुपर्ने रहेनछ भन्ने लागिसकेको थियो,’ उनले सुनाए, ‘प्रेमशंकरले देशमै बसेर डलर कमाउन थालेको कुराले मलाई छायो।’
शिवद्वारजस्तै अमलटारी पनि नारायणी नदीको किनारमा चितवन राष्ट्रिय निकुञ्जको आडमा थियो। निकुञ्जका जनावर, वातावरण हेर्न र थारु समुदायको संस्कृति, नाचगान हेर्न पर्यटकहरू अमलटारी गएर होमस्टेमा बस्थे।
‘हाम्रो गाउँपनि निकुञ्जकै आडमा छ। खोला पनि छ। वन्यजन्तुका साथै पर्यटकलाई देखाउने सांस्कृतिक कार्यक्रम पनि हामीसँग छ। त्यसैले, हामी पनि होमस्टे खोलेर चलाउन सक्छौं भन्ने लाग्यो’, मनबहादुरले भने।
माडी निकुञ्जले घेरिएको ठाउँ भए पनि कुनै पर्यटकीय पूर्वाधार र गतिविधि थिएन। निकुञ्जबाट अतिप्रभावित क्षेत्र अयोध्यापुरीमा अमलटारीकै जस्तो सम्भावना खोज्न मध्यवर्ती वन समितिले स्थानीयलाई भ्रमण लगेको थियो।
अमलटारीमा मध्यवर्ती उपभोक्ता समितिको पहलमै होमस्टे खुलेको हो। अयोध्यापुरीले पनि त्यस्तै प्रयास थाल्यो ।
होमस्टेका लागि सामुदायिक भवन बनाउँदै गर्दा ७२ सालको वैशाख १२ मा भुइँचालो आयो।
तर, पनि उनीहरूले काम रोकेनन्।
‘जेजति पैसा थियो निकाल्यौं । मध्यवर्तीले पनि केही रकम सहयोग गर्ने भयो। लगभग ६ लाखको लागतमा दुई कोठाका घरहरू बने। पलङ, बिस्तारा राखेर होमस्टे तयार गर्यौं,’ उनले सुनाए, ‘पाहुनाहरू कात्तिकबाटै आएर बस्न थाले, ७२ सालको पुस १२ मा तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटालाई ल्याएर उद्घाटन नै गरायौं।’
त्यतिखेर विदेश छाडेर होमस्टे चलाउने निर्णयमा पुग्ने मनबहादुरमात्रै थिएनन्। साउदी अरबमा आठ वर्ष काम गरेपछि राम्रो कमाउन भन्दै बहराइन लागेका थिए ठिलबहादुर पुनमगर।
गाउँमा होमस्टे बन्ने थाहा पाएपछि उनी साढे तीन वर्षको बहराइन बसाईलाई बिट मारेर फर्किए। उनले सांस्कृतिक समूहको संयोजक बनेर पाहुनाका लागि देखाउने नाचको व्यवस्था गरे।
ओमानमा आठ वर्ष बिताएर फर्केका अर्का युवा पाण्डव पुनमगरले होमस्टे नम्बर १० चलाएका छन्।
‘विदेशमा हजार कमाउनु भन्दा यहाँ घरगाउँमै पाँच रूपैयाँ कमाउनु धेरै ठूलो कुरा हुँदोरहेछ। त्यसमाथि, हाम्रो होमस्टे त निकै राम्रो तरिकाले चलेको छ,’ पाण्डवले भने।
अध्यक्ष मनबहादुर पुनमगरका अनुसार १० घरमा सुरूमा होमस्टे बनेपछि थपिएर १३ पुगेका छन्। एक घरमा ६ जना बस्न/सुत्न मिल्छ।
वन्यजन्तुलाई शत्रु ठान्थे, अहिले मित्र मान्छन्
भ्रमणका लागि अमलटारी पुग्नु अघि यहाँका बासिन्दालाई वन, जंगल, जनावर र पर्यावरण तथा जैविक विविधताको महत्वका बारेमा खासै थाहा थिएन। उनीहरू जनावरलाई शत्रु ठान्थे, जंगललाई अभिसाप मान्थे।
‘हामीले जनावरबाट धेरै दुःख भोग्यौं। माडीको विकास नहुनुको कारण नै हामी जंगल र जनावरलाई मान्थ्यौं तर यसैको माध्यमबाट जीवनस्तर उठ्न सक्छ भन्ने कुरा धेरै पछि मात्रै थाहा पायौं,’ मनबहादुरले भने।
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकका अनुसार माडी वन्यजन्तुबाट धेरै प्रभावित चितवन निकुञ्जआसपासको गाउँबस्तीमा पर्दछ।
‘माडीको पनि अयोध्यापुरी वन्यजन्तुबाट अत्यधिक प्रभावित ठाउँ हो। रिउ र निकुञ्जआडको शिवद्वारमा वन्यजन्तुले सताएको मात्रै थियो। निकुञ्जबाट कुनै फाइदा हुन्छ भन्ने अनुभूति नै थिएन,’ अध्यक्ष गायकले भने।
रिउ खोलाको आडको जमिनमा बाढीले धेरै दुःख दिन्थ्यो। आडैमा रहेको चितवन राष्ट्रिय निकुञ्जका गैंडा, जंगली हात्ती, मृग, बँदेल छिरेर खेती नोक्सान गर्दथे।
गाउँलेको काम तिनै जनावरसँग लड्ने हुन्थ्यो। गाउँमा आउने जनावरहरूलाई निर्मम तरिकाले लखेट्ने, बँदेल, चित्तल मारेर खानेसम्म गर्दथे उनीहरू।
ठिलबहादुर पुनलाई त अहिले पनि गाउँलेहरूले भालुसँग लडेर जितेको भन्दै प्रसंसा गर्छन्।
करिब २० वर्षअघि उनले घर देखि केही पर जंगलमा भालुलाई पछारेका थिए। भालुले उनलाई सामान्य घाइते त बनायो तर भालुसँगको लडाई जितेको भनेर उनलाई गाउँलेले मान्ने गर्छन्।
‘जनावरसँग लड्दा–लड्दा हैरान भएर विदेश गएँ, अहिले यहीँ फर्किएर जनावर संरक्षण गरेर पर्र्यटक स्वागत गर्नुपर्छ भनेर लागेको छु,’ उनले भने, ‘त्यतिखेर आफैंले भालुलाई कुटेको सम्झँदा अहिले माया लागेर आउँछ।’
मनबाहादुर विदेश हुँदा जंगली हात्ती आफ्नो गाउँ छिर्यो रे भन्ने खबर धेरै सुन्थे। यो कुराले उनलाई मनमनै असाध्यै रिस उठ्थ्यो। ‘हात्ती गाउँ छिरेर स्कुलमा आएर बास बसेका छौं भनेर परिवारले सुनाउँथे, बेस्सरी रिस उठ्थ्यो,’ मनबहादुरले सुनाए। तर, पछि उनले वन्यजन्तुले समस्यामात्रै पार्दैनन् अवसर पनि दिन्छन् भन्ने थाहा पाए। अहिले त्यसको प्रतिफल पनि लिइरहेका छन्।
अचेल यहाँ जंगली हात्तीको जगजगी कम छ। यहाँ अहिले होमस्टे बनेको मात्रै छैन, निकुञ्जसँगको सीमामा पर्खाल, जाली लगाउने काम पनि भएको छ। यसले वन्यजन्तुलाई झट्टै गाउँ छिर्नबाट रोक्छ।
यहाँ आउने पर्यटकहरू भ्यू टावरमा चढेर जंगल हेर्ने, जंगलको छेउमा पैदल यात्रा गर्ने गर्छन्। त्यसैगरी माडी क्षेत्रमा पर्ने सोमेश्वर महादेवको मन्दिर, वैकुण्ठ ताल, गोद्धक क्षेत्र पनि पर्यटक पुग्ने गर्छ। पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि दावी गरेपछि यस क्षेत्र थप चर्चामा आएको छ।
गर्न सके यहीँ विदेश
शिवद्वार होमस्टे सुरूमै भने त्यति राम्रो चलेन। २०७५ सालपछि त्यसले गति लिन थालेको हो। तत्कालीन अस्ट्रेलियन राजदूत त्यहाँ पुगेपछि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको ताल परियोजनाले विदेशका पर्यटक ल्याउने वातावरण मिलायो। ७५ सालको दसैंमा आँगनभरि विदेशी पर्यटक राखेर शिवद्वारबासीले रमाइलो गरे।
त्यतिखेर उनीहरुले महिनाको ४० हजार रूपैयाँको अनुपातमा कमाउन थालेका थिए। पछि महिनाकै एक लाख रूपैयाँसम्म पनि कमाए।
‘विदेश गएको भए यसको दोब्बरसम्म कमाइन्थ्यो होला । उस्तै परे तेब्बर हुन्थ्यो होला, तर आफ्नै घरमा पर्यटकसँग रमाएर कमाउनुको आनन्द छुट्टै छ,' मनबहादुरले भने, ‘गर्न सके त यहीँ पनि विदेश जस्तै रहेछ।’
तर, पछि लकडाउनको असर यस क्षेत्रमा पर्यो। केही दिनयता यहाँका होमस्टेले पुनः गति लिन थालेका छन्। केही समयमा पुनः पहिलेको अवस्थामा फर्कने आशा स्थानीयमा छ।
माडीमा पर्यटकीय गतिविधि बढे युवाहरु विदेश जान नपर्ने र वन्यजन्तु संरक्षणमा पनि महत्वपूर्ण प्रभाव पर्ने होमस्टे सञ्चालक पाण्डव पुनमगरले देखेका छन्।
‘हामीले गरेको देखेर धेरै युवाहरु आकर्षित भएका छन् तर कोरोनाको कहरले हामीलाई पनि सताएको छ, यस्तो बेलामा सरकारको आडभरोसा मिले थप उर्जा मिल्थ्यो,’ उनले भने।
माडीको शिवद्वार गाउँ चितवनको सदरमुकाम भरतपुरदेखि दक्षिण ४५ किलोमिटर पर पर्छ।