'मैले ८५० रूपैयाँमा एउटा फाइनान्स कम्पनी (नाम हटाइएको) को सेयर किनेको थिएँ, अहिले फेरि घट्यो, के गरौं दाइ?'
'किन्नुस् किन्नुस्।'
दुई जना सेयर लगानीकर्ताबीच केही दिनअघि सामाजिक सञ्जालको 'क्लब हाउस' मा भएको कुराकानीको अंश हो यो। उक्त कुराकानीको अडिओ-भिडिओ युट्युबमा सार्वजनिक भएको थियो।
क्लब हाउसकै अर्को भिडिओमा सेयर लगानीकर्ताहरू कुनै खास क्षेत्रका कम्पनीको बजार मूल्य घट्न नदिने बताइरहेका थिए।
एक जना भन्दै थिए, 'हामी यहीँबाट हरेस खाएर, लुते कुरा गरेर भाग्यौं भने नेपाली नै होइनौं। दाइ (ठूला लगानीकर्ता) पनि पछि हट्नुभएन।'
त्यसपछि अर्कोले भने, 'प्रत्येक दिन एक प्रतिशत बढाएर लैजाऔं न! हामीलाई १० प्रतिशत चाहिँदैन, एक-एक दिन एक-एक प्रतिशत बढाएर लैजाऔं।'
क्लब हाउसमा सुनिएको यस्तो कुराकानीले सेयर बजारको सम्भावित चलखेल संकेत गर्छ।
उदाहरणका लागि, सेयर बजारमा सूचीकृत २० वटा फाइनान्स कम्पनीको अवस्था हेरौं।
ती कम्पनीमध्ये पाँचवटाको कारोबार रोक्का छ। बाँकी १५ वटा फाइनान्स कम्पनीमा कुनैको पनि सेयर मूल्य ६०० रूपैयाँभन्दा कम छैन। ती कम्पनीको मूल्य ६०९ देखि २,२५० रूपैयाँसम्म छ।
यी १५ वटै कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। त्यसअनुसार पाँचवटा कम्पनीको नाफा ऋणात्मक छ। चारवटाले मात्र लाभांश दिन सक्ने देखाएको छ। एउटाको भने अवस्था खुल्दैन। लाभांश दिने कम्पनीको पनि अधिकतम क्षमता ७.९६ प्रतिशत मात्र छ।
सबभन्दा धेरै बजार मूल्य (२,२५० रूपैयाँसम्म) हुने फाइनान्स कम्पनी सामान्य नाफामा त छ, तर उसको लाभांश क्षमता शून्य देखिन्छ। कम्पनीमा रहेको केही प्रिमियम रकमबाट ७ प्रतिशत पनि लाभांश दिनसक्ने अवस्था छैन। तैपनि यसको मूल्य निकै बढेको छ, किनभने कम्पनीको चुक्ता पुँजी मात्रै ७२ करोड रूपैयाँ छ। त्यसमध्ये सर्वसाधारणमा जम्मा ३३ करोडको सेयर छ। त्यसैले पनि यस्ता कम्पनीमा चलखेल भइरहेको आशंका गरिएको छ।
अब प्रश्न उठ्छ — क्लब हाउस लगायत माध्यममा धेरै जना लगानीकर्ता एकैपटक जोडिएर कुनै क्षेत्र वा कम्पनी विशेषको सेयर मूल्य प्रायोजित रूपमा घटबढ गर्न सकिन्छ त?
'संसारभर नै कम पुँजी भएका कम्पनीमा सेयर थुपार्ने प्रवृत्ति (कर्नरिङ) को जोखिम हुन्छ,' नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले भने, 'त्यसैले लगानी व्यवस्थापक कम्पनीहरूले लगानीकर्तालाई परामर्श दिँदा कम पुँजी भएका कम्पनीसमेत किनेर राख्न सुझाउँछन्।'
केही वर्षअघि धितोपत्र बोर्डले नै सामाजिक सञ्जालमार्फत् सेयर मूल्यमा प्रभाव पार्ने गतिविधि नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। त्यतिखेर ठूला भनिने लगानीकर्ताहरू नै चलखेलमा लागेको आशंका गरिएको थियो।
अहिले फेरि बजार बढ्दै जाँदा क्लब हाउस लगायतका सामाजिक सञ्जाल प्रयोग गरेर चलखेलका घटना भइरहेका छन्।
अस्वाभाविक रूपमा मूल्य उचाल्ने प्रवृत्ति रोक्न स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले कम्पनीहरूको दैनिक कारोबार सुपरिवेक्षण गरिरहेको हुन्छ। दैनिक सुपरिवेक्षण गर्दा नै सूचीकृत कम्पनी र ब्रोकरलाई के-कसो भएको हो भनेर सोध्ने गरेको नेप्से प्रवक्ता पराजुली बताउँछन्।
उनका अनुसार कम्पनीले महत्त्वपूर्ण सूचना लुकाएको पाइए वा ब्रोकरमार्फत् मिलेमतो गरेको पत्ता लागे सम्बन्धित पक्षलाई कारबाही हुन्छ। तर सामाजिक सञ्जालमा गुट बनाएर चलखेल भइरहेको विषयमा कारबाही गर्न कानुन छैन।
'यस्तो गतिविधि भइरहेको थाहा भए पनि त्यसलाई रोक्न वा कारबाही गर्न हामीसँग कानुन अभाव छ,' उनले भने, 'सामाजिक सञ्जाल प्रयोग गरेर हुने अवाञ्छित गतिविधिमा अनुसन्धान गर्न पनि कुनै किसिमको कानुन बन्नुपर्छ।'
धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी पनि अस्वाभाविक मूल्य उतारचढाव भएको पाइए वा गुनासो आए कारबाही गरिने बताउँछन्।
यस्तो अस्वाभाविक गतिविधि भएको शंका लागे बोर्डले अनुसन्धान गर्न सक्ने उनको भनाइ छ।
'तर अहिलेसम्म औपचारिक गुनासो आएको छैन,' उनले भने।
धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी भने बोर्डलाई यस्ता कुरा थाहा भए पनि स्पष्ट कानुन नहुँदा के-कसरी कारबाही गर्ने भन्ने अन्यौल रहेको बताउँछन्।
हामीले यो समस्याको हल के त भनेर नेप्से प्रवक्ता पराजुलीलाई सोधेका थियौं।
जबाफमा उनले भने, 'नियामक निकायले नै सेयर परामर्शदाताका रूपमा काम गर्न अनुमति दिने र लगानीकर्ता वा कम्पनीको रोस्टर तयार पार्ने हो भने यो समस्या केही हदसम्म घट्न सक्छ।'
'वैधानिक रूपमै सेयर किनबेचको सुझाव दिने संस्था वा व्यक्ति भए लगानीकर्ताले जोसुकैको कुरा विश्वास गर्दैनन्,' पराजुलीले अगाडि भने, 'त्यसरी तोकिएका परामर्शदातालाई आफूले सुझाएका कम्पनीको सेयर आफैले किन्न दिनु हुँदैन। यसले सन्तुलन कायम गर्छ।'
यस्ता परामर्शदाताले सुनियोजित रूपमा चलखेल गरेको प्रमाणित गर्न पनि समस्या नहुने उनी बताउँछन्।
धितोपत्र ऐन २०६३ ले सम्भावित चलखेलबारे उल्लेख गरेको छ।
ऐनले भन्छ — कुनै व्यक्तिले भित्री सूचनाका आधारमा सेयर कारोबार गरे, अरूलाई कारोबार गर्न लगाए वा आफूलाई थाहा भएको सूचना अरूलाई दिए त्यस्तो व्यक्तिले सेयरको भित्री कारोबार गरेको मानिनेछ।
कसैलाई किनबेच गर्न उत्साहित गराउने वा किनबेच नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीको सेयर मूल्य बढाउन नपाइने, कसैलाई झुक्याउन नपाइने लगायत व्यवस्था पनि ऐनले गरेको छ।
यसरी कारोबार भएको प्रमाणित भए बिगो बराबर रकम धरौटी राख्नुका साथै एकदेखि दुई वर्ष कैद र तीन लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था छ।