सुर्खेतका व्यवसायी अहमद हुसेन अक्षर र अंक चिन्छन् मात्र, राम्ररी लेखपढ गर्न जान्दैनन्।
उनलाई यही चैत ५ गते बिहान साढे १० बजेतिर एउटा मोबाइल नम्बरबाट फोन आयो।
फोन गर्नेले भने, ‘म राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालय काठमाडौंबाट बोलेको।’
हुसेनको राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा बचत खाता छ।
कर्मचारी बताउने ती व्यक्तिले हुसेनको खाता नम्बर मागे। बैंककै कर्मचारी हुँ भनेपछि उनले खाता नम्बर दिए। ती व्यक्तिले फेरि फोन गरे। अनि हुसेनको मोबाइलमा ‘ओटिपी कोड’ आएको जानकारी दिँदै त्यो पनि पठाउन भने।
‘उसले म राष्ट्रिय वाणिज्य बैंकको हेडक्वार्टरबाट हो, तपाईंको खाता नवीकरण गर्नुपर्ने भएको छ, खाता नम्बर टिपाइदिनुस् भन्यो। हेडक्वार्टरबाट भनेपछि मैले खाता नम्बर टिपाएँ,’ हुसेनले सेतोपाटीसँग भने, ‘त्यसपछि मेरो मोबाइलमा ६ अंकको कोड नम्बर आएको थियो। कोड टिपाउनू भनेर फेरि त्यही नम्बरबाट फोन आयो, त्यो पनि टिपाइदिएँ।’
भोलिपल्ट दिउँसो उनी आफ्नै चेकबाट डेढ लाख रूपैयाँ साट्न राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा पुगे।
काउन्टरमा चेक दिए तर खातामा पैसा छैन भन्ने जवाफ पाए। उनी छक्क परे।
‘खातामा मैले साट्न खोजेको भन्दा धेरै पैसा थियो। खाता रित्तो छ भन्दा त म आत्तिएँ,’ उनले भने, ‘मैले सबै कुरा भनेपछि स्टेटमेन्ट दिए।
ती व्यक्तिले खाता नम्बर र कोड माग्नुअघि उनको खातामा ५ लाख ४७ हजार ९७ रूपैयाँ ९९ पैसा बचत रहेछ। दुई दिनमा सबै पैसा ती मानिसले आफ्नो खातामा पठाएछन्। हुसेनको खाताबाट केही रकम एनआइसी एसिया बैंक र केही एनएमबी बैंकको खातामा ट्रान्सफर भएको बैंकले उनलाई जानकारी दियो।
'ह्याकरले पैसा तानेको रहेछ,' बैंकका कर्मचारीले उनलाई जानकारी दिए।
त्यसपछि उक्त दुबै बैंकमा पुगेर आफ्नो खाताबाट आएको रकम रोकिदिन आग्रह गरे। त्यसरी अर्काको बैंक खाता रोक्का गर्न नमिल्ने रहेछ।
‘कुन बैंकको खातामा गएको छ भन्ने जानकारी पाएपछि म ती बैंकमा पुगेर पैसा रोकिदिनुस् भनेँ,’ हुसेनले भने, ‘उहाँहरूले प्रशासनको चिठी नभएसम्म रोक्न मिल्दैन भन्नुभयो। मैले चिठी ल्याउन नपाउँदै त्यो पैसा त्यहाँबाट पनि गइसकेछ।’
यति बेला सुर्खेतका बैंकहरू अहिले अनलाइनबाटै रकम लुट्ने गिरोहको निसानामा परेका छन्। यस्तो गिरोहले सुरूमा खातावालाको मोबाइल नम्बर पत्ता लगाउँछ। त्यसपछि फोन गरेर कुनै बहानामा खाता नम्बर माग्छ।
खाता नम्बर पाएपछि गिरोहले मोबमाइल बैंकिङ वा एसएमएस अलर्ट सिस्टमको पासवर्ड परिवर्तनको प्रयास गर्छ। पासवर्ड गलत हुँदा प्रणालीले नयाँ पासवर्ड राख्न भन्छ। खाताको सुरक्षाको लागि खातावालाको मोबाइल नम्बरमा भेरिफिकेसन वा ओटिपी कोड आउँछ। त्यो कोड व्यक्तिगत प्रयोजनको हुने भएकाले बैंकले खातावालाको मोबाइल नम्बर र इमेलमा पठाउँछ।
त्यो कोड लिन फेरि गिरोहको व्यक्तिले त्यही खातावालालाई फोन गर्छ र टिपाउन भन्छ। कोड नम्बर पाएपछि खातामा गिरोहको पहुँच पुग्छ र बैंक ट्रान्सफर गरेर आफ्नो खातामा पैसा पठाउँछ। यस्तो गिरोहलाई सुर्खेतका बैंक शाखाहरूले ‘ह्याकर’ भन्ने गरेका छन्।
हुसेन यही तरिकाले बैंक खाता लुट्ने गिरोहको फन्दामा परेका हुन्। उनी जस्ता अशिक्षित खातावालाहरू यस्तो गिरोहको निसानामा हुन्छन्।
राष्ट्रिय वाणिज्य बैंक, सुर्खेत शाखाका प्रबन्धक लीलाराम ढुंगानाका अनुसार सुर्खेतका अधिकांश बैंक अहिले यस्तो गिरोहको निसानामा परेका छन्।
अनलाइनमार्फत रकम लुट्ने गिरोहले विशेष गरी बैंकका कम शिक्षित र प्रविधिबारे कम जानकारहरूलाई निसानामा पार्ने गरेको उनले बताए।
‘स्ट्यान्डर्ड चाटर्ड बैंकको खातावालासँग उनीहरूले यस्तो प्रयास गर्दैनन्। त्यहाँ बैंकिङ चेतना भएका खातावाला हुन्छन्,’ ढुंगाना भन्छन्, ‘कृषि विकास बैंक, वाणिज्य बैंक, नेपाल बैंक जस्तामा लेखपढ गर्न नसक्ने खातावालाहरू पनि छन्। ती खातावालाबाट जानकारी लिन ह्याकरलाई सहज भएको छ।’
उनका अनुसार ह्याकरले मोबाइल बैंकिङ, बैंकिङ अलर्ट जस्ता सुविधा लिएका खातावालहरूबाट यसरी पैसा लुट्ने गरेको पाइएको छ। यस्तो फन्दामा सुरक्षा निकायका तल्लो तहका कर्मचारी पनि परेको उनले बताए।
‘तपाईंको केवाइसी अपडेट गर्नुपर्छ भनेर फोन गरेर कोड माग्ने गरेको पाइएको छ। सुरक्षा निकायका व्यक्ति पनि यसमा फसेका छन्,’ उनले भने, ‘ह्याकरले एउटा खातावालाबाट कोड पाएपछि त्यही रणनीति अन्य खातावालासँग पनि अपनाउने गरेका छन्।’
खातावालाका पिन र पासवर्ड पाएपछि उनीहरूले विभिन्न माध्यमबाट पैसा झिक्ने वा ट्रान्सफर गर्ने गरेका छन्।
ढुंगानाका अनुसार ह्याकरहरू धेरैजसो भारत–नेपाल सीमाक्षेत्रमा बसेर यस्तो काम गर्छन्। नेपालको टेलिफोनले काम गर्ने ठाउँसम्म भारतभित्रै पनि बस्छन्। पक्राउ पर्ने सुइँको पाए भारततिरै भाग्छन्।
‘उनीहरूले खाता ह्याक गरेर कहाँकहाँबाट कारोबार गरेको छ भन्ने थाहा हुन्छ। कहाँबाट पैसा निकाल्छ भन्ने कुरा थाहा भयो भने समात्न सजिलो हुन्छ,’ उनी भन्छन्, ‘गिरोह समातियो भने गायब भएको पैसा आउने सम्भावना हुन्छ।’
यसरी ठगी गर्ने यस्ता गिरोह सुर्खेतमा डेढ महिनायता सक्रिय रहेको एनआइसी एसिया बैंकका सुर्खेत शाखा प्रमुख विश्व भारतीको भनाइ छ। गिरोहले मोबाइल बैंकिङ सेवा प्रयोग गरेका तर डिजिटल सुरक्षाको जानकारी नभएका खातावालालाई लक्षित गरेको उनले बताए।
‘ह्याकरले फकाई फुल्याई गर्छ। यस्तो कुरामा ग्राहक सचेत हुनुपर्छ,’ भारती भन्छन्, ‘कसैले आफ्नो बैंकसम्बन्धी जानकारी माग्यो भने बैंकमै गएर बुझ्नु पर्छ। बैंक खाताको जानकारी कसैलाई पनि दिनु हुँदैन।’
बैंकहरूले आफ्ना ग्राहकहरूलाई डिजिटल सुरक्षा सम्बन्धी साक्षरता कक्षा चलाउनुपर्ने आवश्यता उनले देखेका छन्।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले विभिन्न प्रलोभनमा परेर बैंकबाट पैसा गायब भएको सम्बन्धी मुद्दाहरू आउने गरेको बताए।
प्रहरी कार्यालय तथ्यांकअनुसार २०७९ वैशाखयता बैंकिङ कारोबारमा समस्या परेका यस्ता १५ वटा मुद्दा छन्। त्यसरी आउने मुद्दा साइबर ब्यूरोमा पठाउने गरिएको छ।