श्वेतपत्रमार्फत् सेयर बजारबारे के भने अर्थमन्त्रीले?

फाइल तस्बिर।


अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार संसदमा देशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र प्रस्तुत गरेका छन्।

उनले देशको आर्थिक अवस्था निकै नाजुक अवस्थामा पुगेको जानकारी संसदलाई गराएका हुन्।

विदेशी लगानी अपेक्षाकृत नआएको, स्रोत नै नभएको बजेट जारी भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण अवस्था पुगेको  उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताए।

खतिवडाले श्वेतपत्रमा घट्दो सेयर बजारबारे समेत उल्लेख गरेका छन्।

खतिवडा अर्थमन्त्री भएयता सेयर बजार निरन्तर ओरालो लागेको छ। उनले नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित अवस्थामा रहेको उल्लेख गरे।

‘पूँजी बजार कारोबारको मुल्य दर्शाउने नेप्से सूचकाङ्क अस्थिर छ। संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको छ’, श्वेतपत्रमा भनिएको छ, ‘पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा शेयर लगानीसम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचकाङ्कमा उच्चदरको उतारचढाव आउने गरेको छ।’

अर्थमन्त्री खतिवडाले पूँजी बजारमा उत्पादनका कम्पनीहरू नहुनुलाई समेत समस्या भनेका छन्।

‘पूँजी बजारमा हाल २०८ कम्पनी सूचीकृत रहेता पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरु छन्। पूँजी बजारको कूल कारोबारमा वित्तीय संस्थाहरुकको अंश ८१ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्र रहेको छ। यसले पूँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीहरूको उपस्थिति ज्यादै न्यून रहेको तथ्य उजागर गर्दछ। अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजी बजार सशक्त माध्यम भएतापनि यस्तो बजार हाल धितोपत्रमा मात्र सिमित रहेको छ। पूँजी बजारलाई ऋण बजारको रूपमा विकास गर्न सकिएको छैन। समग्रमा पूँजी बजारमार्फत् ठूलो परिणामको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ।’

खतिवडाले श्वेतपत्रको आगामी कार्यदिशामा समग्र वित्तीय नीति मार्फत मुद्रा तथा पूँजी बजारको स्थायीत्व र समावेशी विकासमा जोड दिने उल्लेख गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.