रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको ५० विगाह खेतमा लगाईएको गहुँबाली जलेर नष्ट भएको छ।
देशभर खुशीयाली र उत्साहका साथ नया वर्ष २०७५ मनाईरहँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया गाउंमा भने १९ जना किसानको गहुँबाली जलेर नष्ट भएको हो।
शनिबार बिहान ११ बजे सानो पडरियाको सिमानाबाट लागेको आगो गहुँ लगाईएको खेतभरी फैलिएको थियो।
स्थानीयवाशी नयाँ वर्ष मनाउन तल्लिन भईरहेको र हावाहुरीको कारण पनि समयमा आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय नजीर मियाले बताए।
आगलागीबाट मियाँसँगै मतिउल्लाह मुसलमान, समीम मुसलमान, नसीम मुसलमान, हबिरहमान, गफफार मुसलमान, कलाम खाँ, गुच्चे मुसलमान, अजमत अलि, अजीमुल्लाह मुसलमान, अहमद हुसेन, सलाहुद्दीन, याकूफ नाँउ, नजीर मिया र मोहम्मद मुसलमानको ५० बिगाहामा लगाईएको गहुँबाली नष्ट भएको हो।
लुम्बिनी सांस्कृतिक नगरपालिका तथा सिद्धार्थनगर नगरपालिकाबाट गएका दमकलले तीन घण्टा पछि आगलागी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीले बताए।
यसअघि शुक्रवार पनि ठूलो पडरियाका तीन जना किसानको ९ विगाहा खेतमा पाकेको अवस्थाको गहुँ जलेर नष्ट भएको थियो।
स्थानीय सोनाउल्लाह मुसलमान, हबीबुल्लाह मुसलमान, र गरीबुल मुसलमानको ९ बिगाहा खेतको गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
स्थानीय बहोरन लोधले मेशिनले खेतमा काटेको गहुँको ठूटा जलाउने क्रममा फैलिएको आगो नियन्त्रणमा आउन नसकेपछि ९ विगाहमा लगाईएको गहुँ नष्ट भएको बताईएको छ।
गहुँबाली जलेपछि लोधले तीनजना किसानलाई ५५ हजार गाउँ समाजले क्षतिपूर्ति वापत जरिवानासमेत तिर्न लगाएको स्थानीय समीउल्लाह मुसलमानले जानकारी गराए।